बिल गेट्स र वारेन बफेट रेस्टुराँका ‘वेटर’ बनेपछि... - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बिल गेट्स र वारेन बफेट रेस्टुराँका ‘वेटर’ बनेपछि…



एजेन्सी -विश्वका दुई ठूला धनी मानिसले कुनै रेस्टुराँमा वेटर भएर काम गरेको सुन्दा विश्वास गर्न गा¥हो हुन्छ, तर अमेरिकामा यस्तै भएको छ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र बर्कशायर हाथवेका अध्यक्ष वारेन बफेटले आइसक्रिम तथा फास्ट फुड रेस्टुराँ डेरी क्विनमा कर्मचारीका रूपमा काम गरेका छन् । गेट्सले मंगलबार आफुले गरेको यो कामको भिडियो सार्वजनिक गरेका हुन् ।

गेट्स र बफेटले कर्मचारीको जस्तै एप्रोन तथा नेमप्लेट लगाएर मिल्कसेक बनाएका छन् । उनीहरूले आइसक्रिम सर्भ गरे र क्यास काउन्टर पनि सम्हालेका छन् । सर्भिसको समयमा उनीहरू ग्राहकसँग ठट्टा गरेको पनि देखिएको छ । आफुले बफेटको तुलनामा मिल्कसेक बनाउन चाँडो सिकेको गेट्सले बताए ।

गत महिना ओमाहामा बर्कसायरका सेयरधनीको वार्षिक बैठकमा समय निकालेर बफेट तथा गेट्सले केही फरक काम गर्ने इच्छा व्यक्त गरेका थिए । दुवैले डेरी क्विन रेस्टुराँमा पुगेर लन्च लिए र त्यहाँ कामको तालिम पनि लिएका थिए । बफेट डेरी क्विन रेस्टुराँ चेनका मालिक पनि हुन् । उनको कम्पनी बर्कशायर हाथवेले १९९८ मा उक्त रेस्टुराँ खरिद गरेको थियो ।

बिल गेट्स विश्वकै दोस्रा धनी व्यक्ति हुन् । उनी डलर खर्बपति हुन् । उनको सम्पत्ति १ सय २ अर्ब डलर रहेको छ । बफेट विश्वकै चौथो धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ८३.४ अर्ब डलर छ । दुवै ठूला दानवीर पनि हुन् । बफेट, बिल गेट्स तथा मेलिन्दा गेट्सले २०१० मा गिभिङ प्लेजको काम सुरु गरेका थिए । यसको माध्यमबाट उनीहरुले विश्वका अन्य धनीहरूलाई पनि परोपकारी कामका लागि प्रेरित गर्दै आएका छन् ।