कोरोनाका कारण ३२ वर्षीय नेपाली युवतीको बेलायतमा निधन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कोरोनाका कारण ३२ वर्षीय नेपाली युवतीको बेलायतमा निधन



खोटाङ- कोरोना भाइरसको संक्रमणबाट बेलायतमा खोटाङकी एक युवतीको मृत्यु भएको छ ।

ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल पुख्र्यौली घर भई हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीय बिमा नाछिरिङ राईको बेलायतमा मृत्यु भएको हो ।

मिर्गौलासम्बन्धी समस्याबाट पीडित बिमालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि बेलायतस्थित जर्ज इलियट अस्पतालमा भर्ना गरेर उपचार गर्ने क्रममा मृत्यु भएको समाजसेवी एवं ब्रिटिस गोर्खा भेट्रान एशोसिएसनका महासचिव भीम सारुले बताए । अहिलेसम्म अविवाहित रहेकी बिमाको मङ्गलबार मृत्यु भएको हो ।

उनी पूर्व गोरखा सैनिक बाबुसँगै बस्न गत वर्ष बेलायत पुगेकी थिइन् । बुबा, आमा र बहिनीका साथमा बेलायतस्थित नटिङ्घम बस्दै आएकी बिमाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युको विषयमा किराँत रदु नाछिरिङ साखाम केन्द्र केन्द्रीय समिति नेपालले आफ्नो फेसबुक पेजमार्फत दुःख व्यक्त गरेको छ ।

यसैबीच बेलायतमा बस्दै आएका १२ खोटाङ्गेलाई कोरोना सङ्क्रमण भएको खोटाङ सेवा समाज युकेले जनाएको छ । समाजले अप्रिल २१ मा जारी गरेको अपिलमा फल्कस्टोनमा एक, बेजिङस्टकमा छ, आशफोर्डमा तीन तथा क्याट्रिक र ओकिङमा एक–एक जना खोटाङ्गे सङ्क्रमित भएको उल्लेख छ ।

उनीहरुको अहिले बेलायतस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बेलायतमा उपचाररत सङ्क्रमित सबैको अवस्था अहिलेसम्म सामान्य रहेको खोटाङ सेवा समाज युकेले जनाएको छ ।