विमला वलीले भनिन्: मैले राजीनामा दिएकी छैन र दिन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विमला वलीले भनिन्: मैले राजीनामा दिएकी छैन र दिन्न



लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा भने दिइनसकेको बताएकी छन्। अरूको घरभित्र प्रवेश अर्की महिला र उनी नाबालिका छोरीलाई कुटपिट गर्ने ‘अमर्यादित’ काम गरेको आरोपमा राज्यमन्त्री विमलालाई पदबाट राजीनामा दिनुपर्ने दबाब रहँदै आएको छ।

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसकेँ,’ बुधबार बिमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए। तर विमलाले भने राजीनामा बुझाउन नमानेको र उनलाई मन्त्री पदबाट हटाउने पक्का छ। स्रोतका अनुसार विमलाले आफूले राजीनामा नदिने र सरकार आफैंले कारबाही गरेर पदमुक्त गर्न भनेकी छिन्। ‘म राजीनामा दिन्नँ, तपाईंहरूले नै कारबाही गरेर पदबाट हटाउनुस् भन्नुभयो,’ स्रोतले भन्यो ‘उहाँले आफै राजीनामा नदिने भएपछि अब उहाँलाई पदमुक्त गर्ने पक्का भएको छ।’

विमलाले आफूले मन्त्री पदबाट राजीनामा दिनुपरे सांसद र पार्टीबाट समेत राजीनामा दिने धम्कीसमेत दिएकी थिइन्। उनले आफूले पनि मन्त्री पदबाट मात्रै नभई सांसद र पार्टीबाट पनि राजीनामा दिने बताइन्। ‘मलाई मन्त्री पदबाट राजीनामा दिनुपर्‍यो राजीनामा लेख्नुस् भन्न आउनु भएको थियो,’ उनले भनिन्, ‘तर मैले मन्त्रीबाट मात्रै हैन, सांसद र पार्टीबाट पनि एकैपटक राजीनामा दिन्छु भने पछि उहाँहरू जानु भएको हो।’ तर उनले आफूले राजीनामापत्रमा हस्ताक्षर गरेर कसैलाई पनि नबुझाएको तर राजीनामा दिएको भनेर कसरी भनियो? भन्दै प्रश्न समेत गरिन्।

‘मैले राजीनामा पत्रमा कतै हस्ताक्षर गरेको छैन, तर राजनामा दिएको भनेर उहाँहरूले कसरी भन्नु भयो मलाई थाहा छैन,’ उनले भनिन् ‘तर राजीनामा दिनै परे मैले मन्त्रीबाट मात्रै दिन्नँ।’ अब मुख्यमन्त्रीले पदमुक्त गरेको खण्डमा पनि सांसद र पार्टीबाट राजीनामा दिने तयारीमा विमला छिन्। तपाईलाई राजीनामा दिनका लागि दबाब दिईएको हो? यो प्रश्नमा विमलाले भनिन्, ‘राजनीति फाईदाको खेल हो भन्ने तपाईंलाई थाहै छ, यही फाइदाको खेलमा अनेकन घटना हुन्छन्, योभन्दा बढी म अहिले केही बोल्दैन।’

प्रदेश सांसद श्रीमान् उत्तर कुमार ओलीको निधनपछि विमला राजनीतिमा आएकी थिइन्। कहिले माओवादीमा प्रवेश गरेको, पुनः एमालेमा फर्किएको र फेरी माओवादीमै कायम रहेको भनेर फरक फरक सूचना प्रवाह गरेकी उनको राजनीतिक ओज पनि घट्दै गएका बेला मन्त्री ओहदालाई भुलेर तुलसीपुरका एकराज बस्नेतको घरमा प्रवेश गरी बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी ६ वर्षीया छोरीमाथि गरेको अभद्र/अमर्यादित व्यवहार गरेको उनीमाथि आरोप भएको नागरिकले लेखेको छ।