विमला वलीलाई मुख्यमन्त्रीको संरक्षण: प्रहरीबाट छुटाएर मुख्यमन्त्री निवासमै राखियो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विमला वलीलाई मुख्यमन्त्रीको संरक्षण: प्रहरीबाट छुटाएर मुख्यमन्त्री निवासमै राखियो



बुटवल – प्रेमीको घरमा छिरेर श्रीमती र नावालिकालाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् ।

प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका छन् । मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई संरक्षण दिएपछि मुख्यमन्त्रीको आलोचना हुन थालेको छ । प्रहरी हिरासतमा रहेकी वलीलाई गएराति दाङबाट बुटवल ल्याइएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी सुरक्षाका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री केसीको निवासमा ल्याइएको हो ।

अहिले विमला वली मुख्यमन्त्री निवासमै छन् । आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । कुटपिटमा परेकी पीडित मिना भण्डारी बस्नेतले मन्त्री वलीविरुद्ध मंगलबार दाङमै किटानी जाहेरी दिएकी थिइन् ।

किटानी जाहेरी परेपछि मुख्यमन्त्री केसीले दाङका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई बारम्बार फोन गरी हिरासतबाट छुटाएर बुटवल ल्याउन दवाव दिएका थिए । मुख्यमन्त्रीको दवाबपछि वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याइ मुख्यमन्त्री निवासमा राखिएको हो ।

मंगलबार बिहान करिब ८ बजे अंगरक्षकसहित झण्डावाला गाडी लिएर दाङ तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी उनकी पत्नी मिना र नावालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।

राज्यमन्त्री वलीले आफ्नो फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तथा पैंसासमेत नदिएकोले आवेगमा आएर बस्नेतको घर पुगेको प्रहरीसमक्ष बताएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

पीडित मिनाले वलीविरुद्ध उजुरी दिए पनि दर्ता भएको छैन । बाहालवाला मन्त्रीलाई पक्राउ गर्न र थुन्न पाउने कानुन नभएकाले दर्ता नभएको प्रहरीको दावी छ ।

प्रशासन र सभामुखबाट पत्राचार वा समन्वयमा मात्रै उजुरी दर्तालगायतका प्रक्रिया अगाडि बढ्ने प्रहरीले बताएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले वलीलाई मन्त्री र सांसद पदबाट बर्खास्त गर्न र कानुनी कारवाही गर्न माग गरेको छ ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आपराधिक कार्य गरेकाले वली नैतिकरुपमा पदमा बस्न नमिल्ने भन्दै बर्खास्त गर्नुपर्ने माग गरे ।