स्थानिय निर्वाचनमा म्यादी प्रहरीलाई विना बर्दिमा खटाईदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्थानिय निर्वाचनमा म्यादी प्रहरीलाई विना बर्दिमा खटाईदै



दिनेश ठाकुर\ बैशाख २७ नेपालगन्ज

 

स्थानिय निर्वाचनका लागि नेपाल सरकार भर्ना गरेको म्यादी प्रहरीलाई विना ड्रेसमा खटाएकोे छ । निर्वाचनलाई सुरक्षित तरिकाले सफल पार्नका लागि सरकारले केही महिनाका लागि खटाईएको म्यादी प्रहरीलाई विना बर्दि (ड्रेस) ड्युटीमा खटाउने गरेको पाईएको छ ।

नेपालगन्जको हरेक चोक चोकमा १ प्रहरी जवानका साथमा २ जना म्यादी प्रहरी विना बर्दिमा खटाईएको छ । राज्यले नै म्यादी प्रहरीका लागि ड्रेस बापत रकम छुट्याउँदा पनि बाँकेमा भने विना ड्रेसका म्यादी प्रहरीलाई चोकचोकमा ड्युटिमा परिचालित गरिएको छ । चोकमा साइकल, रिक्सा चालकलाई समेत एक मिनेट रोकिन नदिने म्यादी प्रहरीको ज्यादतिले सर्वसाधरणलाई समस्या दिने काम मात्रै भएको सर्वसाधरणहरुले बताउँछन् ।

चोक चोकमा लठ्ठी समातेर उभिएका म्यादी प्रहरी विना बर्दि यता उता दौडिने र सर्वसाधरणलाई सताउने वाहेक केही काम नभएको सर्बसाधारणको भनाई छ ।

सरकारले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले ड्रेस भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँने व्यवस्था गरेपनि उनिहरुलाई समयमै ड्रेस नदिएरै ड्युटिमा खटाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सरोज पौडेलले भने पहिलो चरणको निर्वाचनका लागि म्यादी प्रहरीका लागिसिलाईएको ड्रेस निर्वाचन क्षेत्रमा पठाईएको र दोश्रो चरणको निर्वाचनको लागि भने केही ड्रेस सिलाई भैरहेको र केही ड्रेस मंगलवारनै बाँकेमा आइपुग्ने टेलिफोन कुराकानीमा उनले बताए ।

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ ।