ओलीको नयाँ चुनाबी विकल्प विप्लवलाई पनी सहभागी गराउने नयाँ रणनिती - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीको नयाँ चुनाबी विकल्प विप्लवलाई पनी सहभागी गराउने नयाँ रणनिती



काठमाडौं : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव सर्ने चर्चा व्यापक बनेको छ। सत्ता गठबन्धनका नेताहरुबाटै चुनाव सर्ने अभिव्यक्ति आइरहेका छन्।

बाध्यता र परिस्थिति देखाएर गठबन्धनका केही नेताहरु चुनाव सार्ने पक्षमा छन्। बाध्यता दुइटा देखिन्छ। एउटा गठबन्धनबीच चुनावी तालमेलमा सकस र अर्को विप्लव नेतृत्वको नेकपालाई चुनावमा सहभागी गराउने। गठबन्धनका नेताहरुले विप्लवलाई चुनावमा सहभागी गराउन चुनाव सार्नुपर्ने कारण देखाइरहेका छन्। तर, भित्रि कुरा भने गठबन्धनका दलहरुबीच चुनावी तालमेल नहुने स्थितिले चुनावमा पराजित हुने भयले चुनाव सार्न चाहिरहेका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले सार्वजनिक कार्यक्रममा विप्लव समूहका लागि निर्वाचन सार्न सकिने अभिव्यक्ति दिइरहेका छन्। गठबन्धनका अन्य नेता पनि यो कुरामा मौन समर्थनमा छन्।

तर, प्रचण्डले भने चुनाव नसर्ने दाबी गरेका छन्। यद्यपि विप्लवलाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन गठबन्धनका दलहरुबीच छलफल भइरहेको बताएका छन्। प्रचण्डले चुनाव नसर्ने दाबी गरे पनि गठबन्धनमा चुनाव सर्ने माहोल बनिरहेको छ। यही थाह पाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनमा खबरदारी बढाएका छन्। आफ्ना सम्बोधनमा उनले निर्वाचन सारे क्षम्य नहुने चेतावनी दिइरहेका छन्।

सोमबार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभामा पनि ओलीले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विलप्वलाई देखाएर चुनाव सार्ने षड्यन्त्र नगर्न खबरदारी गरे।

बरु यसमा उनले विकल्प दिए। चुनाव पनि सार्न नपर्ने र विप्लव समूहको नेकपा पनि निर्वाचनमा भाग लिन पाउनेगरी ओलीले विकल्प दिएका हुन्।

यो विकल्पमा उनले विप्लवलाई आफ्नो सूर्य चुनाव चिन्ह दिन तयार रहेको बताए। निर्वाचन आयोगमा दल दर्ता गर्न तथा चुनाव चिन्ह पाउन अहिले सम्भव नभएको र यसका लागि चुनावै सार्नुपर्ने भएकाले ओलीले चुनाव पनि सार्न नपर्ने र विप्लवले पनि भाग लिन पाउनेगरी एमालेको सूर्य चिन्ह दिने प्रस्ताव गरे। यसका लागि उनले विप्लव नेतृत्वको नेकपालाई सूर्य चिन्हबाट चुनाव लड्न आग्रह गरे।

आफू पराजय हुने निश्चित भएपछि विप्लवलाई अघि सारेर चुनाव सार्न खोजेको आरोप लगाउँदै ओलीले सत्ता गठबन्धनलाई विकल्प दिएरै खबरदारी गरेका छन्।

यसअघि सोमबारै पत्रकार सम्मेलन गरेका प्रचण्डले पृष्ठभूमि र विरासतका कारण विप्लव माओवादीभन्दा बाहिर जान नसक्ने टिप्पणी गरेका थिए। प्रचण्डले पनि विप्लव माओवादीको चुनाव चिन्ह लिएर जानसक्ने संकेत गरेका थिए।

प्रचण्डले भनेका थिए, ‘विप्लव निर्वाचनमा आउन चाहनुभएको छ। उहाँहरुलाई निर्वाचनमा आउने सकारात्मक वातावरण बनाउँछौं। उहाँहरु आइसकेपछि कता सहयोग गर्नुहुन्छ भन्ने त उहाँहरुको स्वतन्त्रताको कुरा हो। पृष्ठभूमि र विरासतका कारण उहाँहरु माओवादीभन्दा बाहिर जान सक्नुहुन्न।