विमल घर्ती मगरको दुई गोल, थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विमल घर्ती मगरको दुई गोल, थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि



काठमाडौ । ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले विराट गोल्डकप फुटबलको उपाधि जितेको छ । सोमबार राति भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो ।

विराटनगरस्थित सहिद रंगशालामा भएको फाइनलमा थ्री स्टारलाई उपाधि दिलाउन विमल घर्ती मगरले दुई गोल गरे । यस्तै अनन्त तामाङले थप एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल गर्दै थ्री स्टारले उपाधि जितेको हो ।

विराट गोल्डकप जितेसँगै थ्री स्टारले बर्षको पाँचौ उपाधि जित्न सफल भयो । उपाधिसँगै थ्री स्टारले १२ लाख ७१ हजार प्राप्त गरेको छ । थ्री स्टारसंगको हारसँगै आर्मी बर्षको आठौं उपाधि जित्नबाट बन्चित भयो । उपविजेता बनेको आर्मीले ५ लाख ५१ हजारमा चित्त बुझाएको छ ।

प्रतियोगितामा थ्री स्टारका डिफेन्डर अनन्त तामाङ उत्कृष्ट खेलाडी घोषित भए । उनले एक थान मोटरसाइल प्राप्त गरे । यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, डिफेन्स आर्मीकै  बिमल पाण्डे, मिडफिल्डर थ्री स्टारको सुनिल वल, गोलरक्षक थ्री स्टारका एलेन न्यौपाने र उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसी चुनिए । त्यस्तै थ्री स्टारका विमल घर्तीमगर सर्वाधिक गोलकर्ता घोषित भए । व्यक्तिगत विधामा उत्कृष्ट र सर्वाधिक गोलकर्ताले जनही २५ – २५ हजार प्राप्त गरे ।

भारतका दुई र भुटानका एक टोलीसहित कुल १० टोली रहेको प्रतियोगिताको सेमिफाइनलमा थ्री स्टारले संकटा क्लबलाई ४ – ० ले हराउदै फाइनलमा आर्मीसंगको भेट पक्का गरेको थियो । त्यसअघि पहिलो सेमिफाइनलमा आर्मीले झापा ११ लाई १ – ० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।