कांग्रेस र माओवादीकै सांसद बिरोध सभामा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कांग्रेस र माओवादीकै सांसद बिरोध सभामा



काठमाण्डौ,

प्रदेश नम्बर ५ संशोधन प्रस्तावको विरोधमा भइरहेको आन्दोलनमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीकै सांसद सहभागी भएका छन् ।

सरकारको नेतृत्वकर्ता दल माओवादी सांसद टोपबहादुर रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारी बुटवल पुगिसकेका छन् । प्रदेशको सीमांकन हेरफेरको विरोधमा आयोजित भेला र सभामा दुबै नेता सहभागी हुने कार्यक्रम छ ।

सर्वदलीय भेलामा सहभागी हुन प्रदेश नम्बर ५ अन्तर्गतका जिल्लाबाट निर्वाचित सांसदहरु विहानै भैरहवा पुगेका छन् । ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला झिकिएको बिरोधमा आन्दोलन भइरहेका बेला थप रणनीति बनाउन त्यस क्षेत्रका जनप्रतिनिधि र पार्टीका नेताहरुको संयुक्त भेला हुन लागेको हो ।

भेलामा मधेश केन्द्रित दलका सांसदहरुलाई पनि बोलाइएको छ । यद्यपि उनीहरु सहभागी हुने-नहुने टुंगो लागेको छैन ।

भेलाको संयोजन एमालेका उपमहासचिव तथा प्रदेश नम्बर ५ का संयोजक बिष्णु पौडेलले गरेको स्रोतले जनाएको छ । भेलामा सबै पार्टीका ५ नम्बर प्रदेशभित्रका केन्द्रीय सदस्य तथा जिल्लाका प्रमुखहरु सहभागी हुने एमाले केन्द्रीय सदस्य तथा नवलपरासीका सांसद बैजनाथ चौधरीले बताए ।

भेला अपरान्ह बुटवलस्थित आम्रपाली पार्टी प्यालेसमा हुने राष्ट्रिय जनमुक्ति लोकतान्त्रिक पार्टीकी सांसद सिमाकुमारी विकले बताइन् ।

५ नम्बर प्रदेशको सीमा हेरफेरबिरुद्ध त्यस क्षेत्रका जिल्लामा आन्दोलन भइरहेको छ ।