होला त विष्णु पौडेलका छोरामाथि कारबाही ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

होला त विष्णु पौडेलका छोरामाथि कारबाही ?



काठमाडौँ- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणले नयाँ मोड लिएको छ । सरकारी स्वामित्वमा रहेको जग्गा गैरकानूनी रुपमा अतिक्रमणमा संलग्न सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलका छोरा नवीन पौडेललाई कानूनी कारवाही गर्न माग गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रेग्मी र पौडेललाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता गरेको हो । ललिता निवासको जग्गा न्यायाधीश रेग्मी र पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीनले आफ्नो नाममा गरेका थिए । अख्तियारले छानबिन गरेपछि उनीहरुले जग्गा फिर्ता गर्ने भनेपछि आयोगले उनीहरुमाथि मुद्धा नचलाउने निर्णय गरेको थियो ।

‘यति महत्वपूर्ण कुरामा वालुवाटार, ललिता निवासभित्र पर्ने सरकारी जग्गा हिनामिना गर्ने व्यक्ति कुमार रेग्मी र नवीन पौडेललाई गैरकानूनी रुपमा जग्गा फिर्ताको बाहना बनाएर उन्मुक्ति दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई युवा संघ नेपालले गम्भीर रुपमा लिएको छ र यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्पक्ष, न्यायिक निष्कर्ष र निर्णय नभएको तथा यसमा गम्भीर तोडमोड भएको देखिन्छ । यसले स्वयं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महत्व, गरिमा र अस्तित्व मैं प्रश्नचिन्ह लगाउँछ, यस्तो निर्णयले दिर्घकालमा भ्रष्टहरुलाई प्रोत्साहित गर्छ’ उजुरीमा भनिएको छ ।

युवा संघले आयोगको सो निर्णयमा आपत्ति जनाउँदै व्यक्ति विशेषलाई कानूनी कारबाहीबाट उन्मुक्ति दिने उद्देश्यले समान बिषयको अनुसन्धानमा असमान अनुसन्धान गर्न नमिल्ने भन्दै उनीहरुलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ ।