एआईजी पोखरेलमाथि थप संकट: राजीनामा की कारबाही भोग्ने - Himal Post Himal Post
  • ३ भाद्र २०७९, शुक्रबार
  •      Fri Aug 19 2022

एआईजी पोखरेलमाथि थप संकट: राजीनामा की कारबाही भोग्ने



काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल थप तनावमा परेका छन् । उनले थप १० दिनका लागि मागेको बिदा आईजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन्।

थप १० दिन बिदा माग्दै मंगलबार हेड क्वार्टरमा पठाइएको पत्र आईजीपी सिंहले अस्वीकृत गर्दै तत्काल हाजिर हुन लिखित निर्देशन दिएपछि उनी राजीनामा दिन दवावमा परेका छन् ।

आफैंविरुद्ध मुद्दा लड्न पोखरेलले थप १० दिन बिदा माग्दै दिएको निवेदन आईजीपी सिंहले अस्वीकार गरिदिएपछि अब पोखरेललाई कि हाजिर हुन कि राजीनामा दिनुपर्ने दवाव बढेको छ। तत्काल हाजिर नभएको खण्डमा उनीमाथि विभागीय कारबाही गर्ने तयारी गरिएको छ ।

पोखरेलले विभागी कारबाहीबाट जोगिनका लागि प्रहरी प्रधान कार्यालयमा हाजिर हुनुपर्ने छ। आईजीपीको निर्देशनअनुसार अब हाजिर नभएको खण्डमा समस्यामा पर्ने देखिएको छ ।

यदि आईजीपीको निर्देशन अवज्ञा गर्दै हाजिर नभएमा पोखरेलले विभागीय कारबाहीका लागि तयार हुनुपर्ने अवस्था आएको छ। सरकारले सिंहलाई आईजीपी बनाएसँगै आफूभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट पोखरेल वैशाख १९ गतेदेखि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन्।

उनले वैशाख १९ देखि लिएको एक महिने बिदा सकिएको छ। ३० दिनको बिदा र सार्वजनिक समेत जोड्दा उनी ३६ दिनदेखि कार्यालयमा अनुपस्थित छन्।

आईजीपी सिंहको बढुवाविरुद्ध पोखरेलले हालेको रिटको अन्तिम सुनुवाइ यही जेठ ३० गते सर्वोच्चमा हुँदैछ। सर्वोच्चले जेठ ३० गते नै उक्त मुद्दाको छिनोफानो गर्ने गरी अन्तिम पेशीका लागि समय निर्धारण गरेको हो।

यदि जेठ ३० मा सर्वोच्चबाट मुद्दा जितेमा पोखरेल नयाँ आईजीपीका रुपमा प्रहरी प्रधान कार्यलय फर्किन सक्नेछन्।