क्रिप्टोकरेन्सी माइनिङमा प्रतिबन्ध - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

क्रिप्टोकरेन्सी माइनिङमा प्रतिबन्ध



पेचिङ (चीन) । चीनले क्रिप्टोकरेन्सी माइनिङ पूर्ण रुपमा हटाउन खोजेको छ । त्यहाँको राष्ट्रिय योजना आयोगले रोक लगाउन खोजेको औद्योगिक गतिविधिको सूचिसम्बन्धी एक मस्यौदाले यस्तो देखाएको हो । चीनमा बिट्क्वाइन लगायत अन्य क्रिप्टोकरेन्सीको माइनिङलाई कानूनी मान्यता छैन । यद्यपि, क्रिप्टोकरेन्सी माइन गर्ने कम्प्युटर हार्डवेयरका लागि उ विश्वकै सबैभन्दा ठूलो बजार हो ।

प्रोत्साहित, प्रतिबन्ध र निर्मूल पार्न खोजेको उद्योगहरुको संसोधित सूचिबारे आममानिसको धारणा लिन खोजेको भन्दै सोमवार त्यहाँको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरससी)ले बताएको थियो । उक्त संसोधित सूचिमा क्रिप्टोकरेन्सी माइनिङ पनि थपिएको छ । सो सूचिमा कानूनसंगत नभएको, असुरक्षित मानिएका, स्रोत दोहन गरिरहेका र वातावरणलाई प्रदूषित बनाएको भन्दै पूर्ण रुपमा हटाउनु पर्ने ४ सय ५० भन्दा बढी क्रियाकलापलाई राखिएको छ ।

माइनिङमा कहिलेदेखि रोक लगाउने वा कसरी लगाउने भन्नेबारे भने मस्यौदामा केही बताइएको छैन । यसबारे आम जनताको प्रतिक्रिया बुझ्ने म्याद मे ७ सम्म छ । सरकारको पछिल्लो कदमले बिटक्वाइन व्यापारीहरु भने खासै अचम्भित भएका छैनन् । बिट्क्वाइन लगायत डिजिटल मुद्राको माइनिङमा निकै धेरै विजुली खर्च हुन्छ ।

चीनको पछिल्लो कदमको प्रभावस्वरुप मंगलवार बिट्क्वाइनको मूल्य १ दशमलव ४ प्रतिशतले घटेको थियो । इथेरियम, रिप्पललगायत अन्य डिजिटल मुद्राको भाउ पनि सोही अनुपातमा घटेका थिए । गत हप्ता बिट्क्वाइनको भाउ करीब २० प्रतिशतले बढेको थियो । यो सन् २०१७ को अन्त्ययताकै तीव्र वृद्धि हो । चीनको पछिल्लो कदमले क्रिप्टोबजारलाई कतिको प्रभाव पार्छ भन्ने चाँहि अस्पष्ट छ । एजेन्सी