विट क्वाइन कारोवारी ७ जना पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विट क्वाइन कारोवारी ७ जना पक्राउ



काठमाडौ, २१ असोज ।विट क्वाइनका नामले इन्टरनेट मार्फत पैसाको कारोबार हुने एक प्रकारको साइबर मुद्राको किनबेचमा संलग्न व्यक्तिहरु पहिलोपटक पक्राउ परेका छन । प्रहरीको केन्द्रिय अनुसन्धान विभाग सिआइबीले ७ जना यस्ता कारोबारीलाई पक्राउ गरेको हो ।

‘विट क्वाइन र ग्य्राभिटि क्वाइन लगायतका क्रिप्टोकरेन्सी वित्तिय उपकरण जारी गरी सोको अवैध किनबेच गरी विदेशी विनिमयसमेत कारोबार गर्ने मानिसहरुलाई मोबाइल तथा ल्यापटप लगायतका उपकरणहरु सहित काठमाडौं र चितवनबाट पक्राउ गरिएको छ,’ सिआइबीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले सिन्धुली घर भएका ज्ञान प्रसाद पौडेल, अर्घाखाची घर भएका माधव खनाल, काठमाडौका प्रशान्त प्रताप शाह, नुवाकोट घर भएकी विन्दा ढकाल, सिन्धुपाल्चोकका मिंगमार तामांग, काठमाडौंकै दमन बस्नेत र रुपन्देही घर भएका मनिष कुमार गिरी पक्राउ गरेको हो ।

सिआइबीका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार विटक्वाइन कारोबारीलाई पक्राउ गरिएको यो पहिलो घटना हो । ‘हामीले अदालतबाट थप म्याद लिइसकेका छौ,’ उनले भने, ‘थप अनुसन्धानपछि कारोबार रकम पत्ता लाग्ला ।’

पक्राउ परेकाहरुलाई राष्ट्र बैंक ऐन अनुसार कारवाही हुने श्रेष्ठले बताए । ‘तीन गुणा बिगो वा ३ बर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ,’ उनले भने । आजको कान्तिपुरमा खबर छ ।