भाजपाका नेतामाथि गोली प्रहार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भाजपाका नेतामाथि गोली प्रहार



काठमाडौं- भारतीय जनता पार्टी भाजपाको उत्तर दिनाजपुर जिल्ला युवा मोर्चाका उपाध्यक्ष मिथुन घोषको आफ्नै घर अगाडि गोली लागेर मृत्यु भएको छ।

प्रहरीले लापरवाहीको कारण गोली चलेको बताए पनि परिवारले भने तृणमूल कांग्रेसको संरक्षण गर्ने असामाजिक तत्वहरुले मिथुनको हत्या गरेको बताएका छन्।

उक्त घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदारले सोमबार घटनास्थलको भ्रमण गर्नेछन्।
एक प्रहरी अधिकारीका अनुसार मिथुनलाई आइतबार राती १० बजे इटहार पुलिस स्टेशन क्षेत्रको राजग्रामस्थित घरको अगाडि गोली हानिएको थियो।

परिवारका सदस्यहरु तथा स्थानीय बासिन्दाले उनलाई तुरुन्तै रायगञ्ज मेडिकल कलेज अस्पताल पुर्याएलगत्तै डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए।

रायगञ्जका अतिरिक्त प्रहरी उपरीक्षक अर्श वर्मा भन्छन्, ‘सुकुमार घोष र सन्तोष महतो दुवै आरोपी मिथुनका पूर्वपरिचित थिए। तीनैजना आइतबार साँझदेखि सँगै थिए। असावधानीवस सुकुमारले चलाएको गोली मिथुनलाई लागेको हो। यो घटनासँग राजनीतिको कुनै सम्बन्ध छैन।’

भाजपा जिल्ला अध्यक्ष वासुदेव सरकारले भने ‘मिथुन एक जुझारु नेता थिए। तृणमूल समर्थित अपराधीहरुले आफ्नो आवाज दबाउन उक्त हत्या गरेका हुन्।’

अर्काेतर्फ रायगञ्ज नगरपालिका उपाध्यक्ष र तृणमूल कांग्रेस नेता अरिंदम सरकारले भने उक्त आरोपलाई निराधार रहेको बताउँदै यस विषयमा अनुसन्धान भइरहेको र अपराधीहरुलाई कडा सजाय दिइने बताएका छन्।