चिप्लिएको बोली र सामाजिक संजालको होली - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

चिप्लिएको बोली र सामाजिक संजालको होली



–कृष्ण भट्टराई
पछिल्लो समय नेपालमा सामाजिक संजाल रंगिएको छ । एकले अर्कालाई विभिन्न किसिमाका रंग छ्याप्ने र रंगिन बनाउने होडबाजी छ । एसो हेर्दा संजाल सामाजिक होइन असामाजिक होली जस्तो बनेको छ । ठ्याक्कै कसैले बाटोमा हिँडेको मानिसलाई च्याप्प समातेर रंग दलेजस्तो ।

अहिले सामाजिक संजालमा मुख्यत विभिन्न चलचित्र कर्मीहरूको अभिव्यक्तिका पक्ष र विपक्षमा आआफ्नो रङका धारणा सार्वजनिक गरिरहेका छन् । आखिर नेपालको संविधानले सबैलाई आफ्नो रङको बिचार र अभिव्यक्तिको स्वतन्त्रता जो दिएको छ ।

पहिलो काण्ड : केही समय अघिमात्र नायिका वर्षा राउतले एउटा भिडियो मार्फत नेपालले आफ्नो नक्सामा कालापानी लिपुलेक र लिम्पियाधुरा समेट्दाको प्रक्रिया चित्त नबुझेको प्रतिक्रिया दिँदा सर्वत्र आलोचित हुन पर्‍यो । राउतको उक्त अभिव्यक्ति केही हदसम्म राष्ट्रियतासँग जोडिएकाले पनि बढी विवादित हुन पुग्यो ।

उनको अभिव्यक्ति गलत भएको उनी स्वयमले पनि स्वीकार गरिसक्दा पनि सामाजिक संजालमा उनीमाथि जसरी आक्रमण भयो उनी माथि तुच्छ र तत्लोस्तरका शब्दहरू प्रयोग भए ती ज्यादै नै खेदपूर्ण थिए ।

दोस्रो काण्ड : नायिका पूजा शर्माले प्राइम टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम रजतपटमा अन्तरवार्ताका क्रममा नेपालमा ७२ प्रदेश १४ जिल्ला रहेको र देशका कुनै पनि मन्त्रीको नाम र चलचित्र विकास बोर्डको अध्यक्षको नाम पनि मिलाउन नसकेको भिडियो पनि सामाजिक संजालमा भाइरल हुन पुग्यो र नायिका शर्मा पनि सामाजिक संजालमा धेरै नै आलोचित हुन पर्‍यो ।

संचारकर्मीको पृष्ठभूमिबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका शर्मालाई देशमा कति जिल्ला र कति प्रदेश छन् भन्ने सम्म पनि जानकारी नहुनु, नायिकालाईनै चलचित्रको नियामक संस्थाको अध्यक्षको नाम थाह नहुनु आश्चर्यजनक कुरा पनि हो ।

जनकुनै पेसा व्यवसायमा संलग्न व्यक्तिलाई पनि कम्तीमा देशमा कति जिल्ला र प्रदेश छन् भन्ने ज्ञान हुनु पर्दछ भन्ने मान्यता म राख्दछु । केही समय अघि आफ्नो देशका बारेमा गरिएका सामान्य प्रश्नहरूको उत्तर मिलाउन नसक्दा बलिउड नायिका आलिया भट्टको पनि सामाजिक संजालमा धेरै मजाक बनाइएको थियो ।

जुन देशमा जन्मे, हुर्के, बढे, पढे र आफ्नो भविष्य बनाइरहेकाछन् त्यही देशको बारेमा सामान्य ज्ञान नहुनु उनीहरूको त्रुटि हो जसलाई उनीहरूले सच्याउन जरुरी छ ।

तर के हामी पनि सच्चिन जरुरी छैन त ? कसैलाई सामाजिक संजालमा तथानाम गाली गर्नु के जायज हो ? सबै मानिसबाट गल्ती हुन्छ हामी सबैले कहीँ न कहीँ केही न केही गल्ती गरेकै छौँ। कोही पनि दूधले नुहाएका अवश्य पनि छैनौ भने हामी किन कसैको एउटा गल्तीको पछाडि हात धोएर लाग्छौ ?

तेस्रो काण्ड : निर्माता, अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले एक अन्तरवार्ताका क्रममा आफूले नायक राजेश हमाललाई महानायक नमान्ने आशयको अभिव्यक्ति दिएपछि सामाजिक संजाल प्रयोगकर्ताको निसानामा परिन् दिपाश्री ।

सामाजिक संजालहरूमा उनको पक्ष र विपक्ष दुवै मत देखिए । मेरो व्यक्तिगत बिचारमा राजेश हमाललाई महानायक नमान्ने व्यक्तिगत स्वतन्त्रता दिपाश्री लाई छ र हुनु पर्दछ ।

महानायक पदवी कुनै निकायले दिएको वा निर्वाचित भएर पाएको कदापि होइन यो त हमालले नेपाली फिल्म उद्योगमा गरेको योगदानलाई आधार मानेर मान्ने गरिएको मात्र हो जसलाई सबैले मान्नै पर्दछ भन्ने कदापि होइन ।

जसलाई उनको योगदान महानायकको पदवी पाउन योग्य छ जस्तो लाग्छ उसले मान्ने र जसलाई लाग्दैन उसलाई नमान्ने स्वतन्त्रता छ । कसैले दीपकराज गिरीलाई नै महानायक मान्छ भने त्यो उसको बिचार र सोचको कुरा हो जसमा कसैलाई आपत्ति हुनु पर्ने कारण म देख्दिन ।

यो महानायक पदवी प्रधानमन्त्री जस्तो होइन की निर्वाचित हुने बित्तिकै सबैले मान्नै पर्ने यो नितान्त व्यक्तिगत बिचार र स्वतन्त्रताको विषय हो ।

यसरी सामाजिक संजालमा कसैको अभिव्यक्तिलाई लिएर ट्रोल र मजाक बनाइन्छ नि यसले पनि केही हदसम्म मानिसको अभिव्यक्ति स्वतन्त्रतालाई समेत कुण्ठित पारिरहेको हुन्छ । सार्वजनिक पद धारण गरेका व्यक्ति र सार्वजनिक व्यक्तित्वका विभिन्न विचार र धारणाहरूको स्वस्थ आलोचना गर्न पाइन्छ तर आलोचनाका नाममा कसैको व्यक्तिगत र सार्वजनिक जनजीवन नै ध्वस्त हुने गरी सामाजिक संजालमा बोल्न रे लेख्ने अधिकार कसैलाई छैन र रहँदैन पनि ।

हामीले सामाजिक संजालमा अभिव्यक्त गर्ने बिचारहरू एकदमै सभ्य र शिष्ट हुनु जरुरी रहन्छ । हामीले कसैका बारेमा सामाजिक संजालमा केही बोल्नु वा लेख्नु पूर्व के बिचार पुर्‍याउनु पर्दछ भने कसैले मेरा बारेमा कति सम्म बोल्दा र लेख्दा म कतिसम्म सहन र पचाउन सक्छु भन्ने बुझेर मात्र अरूका बारेमा बोल्दा वा लेख्दा न्यायोचित हुन्छ ।

पछिल्ला केही प्रतिनिधि घटनाहरूमा जसरी सामाजिक संजालहरूमा बिचार र प्रतिक्रिया आइरहेका छन् त्यसले उनीहरूको मनोविज्ञानमा कस्तो असर परिरहेको होला ? उनीहरूको परिवार शुभचिन्तक र आफन्तहरूमा हामीले गरेका टिप्पणीहरूले कस्तो असर पर्ला कहिल्यै आफूलाई उनीहरूको ठाउँमा राखेर सोच्ने गरेका छौ ?

पछिल्लो समय सामाजिक संजाल आफ्ना बिचार र धारणाहरू राख्ने साझा चौतारीका रूपमा विकास भएको छ यसलाई सभ्य बनाउने जिम्मेवारी हामी सबै प्रयोगकर्ताहरूमा छ ।

हामीले जसरी उनीहरूलाई बोल्नु भन्दा अगाडी सोचेर मात्र बोल्न सल्लाह दिइरहेका छौं नि त्यसरी नै हामीले पनि कमेन्ट गर्दा एक पटक सोचेर मात्र गर्ने बानी बसाल्न सक्यौ भने यो आधुनिक युगको चौतारी सामाजिक संजाल साँच्चीकै भव्य र सभ्य बन्नेछ ।