रोचक बैठक: ओलीपक्षका सांसदले घनश्यामलाई बोल्नै रोकेपछि... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रोचक बैठक: ओलीपक्षका सांसदले घनश्यामलाई बोल्नै रोकेपछि…



काठमाडौं- प्रधानमन्त्री समेत रहेका दलका नेता केपी शर्मा ओलीले डाकेको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव नेपाल समुहका सांसद पनि उपस्थित भएपछि बैठक नै निकै रोचक बनेको थियो । बालुवाटारमा शुक्रबार दिउसो बोलाइएको बैठकमा ओलीले नेपाल समुहमाथिको कारबाही नरोकिने बताएका थिए ।

पार्टी अध्यक्ष समेत रहेका ओलीले आफूले गरेका कुनैपनि निर्णय फिर्ता नहुने, गुटबन्दी गरेर ल्याइएको कुराको सुनुवाई नहुने र अनुशासनको कारबाही नरोकिने बताएपछि नेताहरूको सवाल-जवाफले बैठक रोचक बनेको थियो । प्रधानमन्त्री ओली बोलिरहेका बेला बिचमै रोकेर पार्टीका उपमहासचिव घनश्याम भुसालले आफ्ना भनाई राख्न खोज्दा ओली समुहका सांसदहरूले अवरोध गरेका थिए ।

नेपाल समूहका कुनैपनि माग पुरा नहुने ओलीले बताइरहेका बेला बिचमै भुसालले आपत्ति जनाएका थिए । आपत्ति जनाउँदै उनले भने, ‘तपाईँले भनेको केन्द्रीय कमिटी र हामीले गरेको राष्ट्रिय भेलाको मान्यता, औचित्य र हैसियत उस्तै-उस्तै हो । त्यसो भएकाले गम्भीर तरिकाले छलफल गरौं ।’

नेता भुसाललाई अध्यक्ष ओलीले पटक पटक बस्न आग्रह गर्दापनि उनी भने आफ्ना कुरा राखिरहे । ओलीले रोक्दारोक्दै उनले भने, ‘आज जे परिस्थिति बनेको छ, जुन चुनौती छ । यसलाई लरतरो तरिकाले समाधान गर्न सकिँदैन । त्यसैले त्यो ब्यापक र गहिराईका साथ पहल गरौं ।’

भुसालले बोलेपछि पनि ओलीले पनि २८ गतेको बैठकमा सबैलाई बोलाइएको जिकिर गरिरहे । ओलीको जिकिरपछि फेरी उठेर आफ्ना कुरा राख्न खोज्दा ओली पक्षका सांसदहरूले आपत्ति जानेका थिए । उनीहरूले अध्यक्षको बोली काट्न नहुने भन्दै भुसाललाई रोकेका थिए ।