विपी लोकतन्त्रलाई मान्ने समग्र देशको नेता :भारतीय मन्त्री डा.पाण्डेय - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विपी लोकतन्त्रलाई मान्ने समग्र देशको नेता :भारतीय मन्त्री डा.पाण्डेय



नयाँ दिल्ली : भारतका कौशल विकासमन्त्री डाक्टर महेन्द्रनाथ पाण्डेयले नेपालका युवाहरूको सिप विकासका लागि पनि प्रयास गर्ने प्रतिबद्धता गर्नुभएको छ । विपी कोइरालाको १०५ औँ जन्मजयन्तिका अवसरमा अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानले आइतबार दिल्लीमा आयोजना गरेको कार्यक्रममा पाण्डेयले आफ्नो मन्त्रालयका तर्फबाट नेपालका युवाहरूको कौशल विकासमा सहयोग गर्ने आश्वासन दिनुभयो ।

मन्त्री पाण्डेयले विपी कोइराला नेपाल र भारत मात्रै नभएर लोकतन्त्रलाई मान्ने समग्र देशको नेता भएको बताउनुभयो । विपी कोइराला महान् नेता भएको भन्दै पाण्डेयले विपीले नेपाल-भारतको लोकतान्त्रिक प्रक्रियामा दिएको योगदान सम्पूर्ण देशहरूमा फैलिनुपर्ने र यसले ती लोकतान्त्रिक देशहरूलाई प्रेरणा मिल्ने बताउनुभयो ।

समारोहमा पाण्डेयले विपी कोइरालाको दुर्लभ तस्बिर प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरि भारतका पूर्व प्रधानमन्त्री चन्द्र शेखरका सल्लाहकार रहेका एच एन शर्माले विपी कोइरालाको भारतको स्वतन्त्रता सङ्ग्राममा दिएको योगदान सम्झिँदै एक पटक तत्कालीन प्रधानमन्त्री चन्द्र शेखर नेपाल जाँदा विपी कोइरालाले भारतको आन्दोलनका क्रममा जेल बसेर ठुलो ऋण लगाएकाले त्यो ऋण तिर्न आएको भनेको स्मरण गर्नुभयो ।

हिन्दीका प्रसिद्ध पत्रकार एवं इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्रका अध्यक्ष रामबहादुर रायले भारतमा महात्मा गान्धी जस्तै नेपालमा विपी कोइरालाको स्थान भएको बताउनुभयो । उहाँले विपी कोइराला राजनीतिका साथै आध्यात्मिक व्यक्ति भएको बताउनुभयो । विपीले भारतमा स्वतन्त्रता आए, नेपाल र एसियामा पनि त्यसको सकारात्मक परिणाम हुन्छ भन्ने सोचका साथ भारतको स्वतन्त्रता आन्दोलनमा होमिएको बताउनुभयो । नेपालमा बेलायतजस्तै राजसंस्था सहितको संसद् हुनुपर्छ भन्ने विपीको मान्यता रहेको रायको भनाई थियो । सङ्घीयताको कुरा निकाल्दै रायले नेपाल राज्य पहिला बनेर राष्ट्र बन्न नसकेको बताउनुभयो । उहाँले यदि नेपाल राष्ट्र बन्छ भने गरिबी हटेर समृद्धि आउने बताउनुभयो । विपीको निधन पछि पुरै विश्वले उहाँलाई महान् नेताको रूपमा स्मरण गरेको बताउनुभयो ।

समारोहमा नेपाली काँग्रेसका नेताहरू दिलचन्द्र बडू, डाक्टर नारायण खड्का र उदयशम्शेर राणाले विपीको जीवनीका महत्त्वपूर्ण घटनाक्रमका बारेमा प्रकाश पारेका थिए । समारोहमा भारतकी लोकसभा सांसद एवं नेपालकी चेली माला राज्यलक्ष्मी शाह पनि उपस्थित रहनु भएको थियो । अतिथिहरूलाई पञ्चेबाजा बजाएर कार्यक्रमस्थल सम्म ल्याइएको थियो । स्वस्थी वाचन संगै सुरुवात गरिएको उक्त कार्यक्रममा प्रवासी नेपालीहरूको बाक्लो उपस्थिति संगै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।