ब्राह्मणको यथार्थ !! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ब्राह्मणको यथार्थ !!



डा. गोविन्द शरण उपाध्याय

मनुस्मृतिमा ब्राह्मणहरूका लागि छ प्रकारका कर्म तोकिएका छन् “पढ्ने/पढाउने/ यज्ञ गर्ने/गराउने र दान दिने र लिने र पछि श्रीमद्भागवत-गीताले यही तथ्यलाई अनुमोदन गरेको छ । प्राचीन संस्कृत, जैन र बौद्ध साहित्यहरूमा “ब्राह्मणहरूले भिक्षा गरेर जीवन यापन” गरिरहेका अनेकौँ कथाहरू प्रस्ट रूपले उल्लेख भएका छन् । ब्राह्मणहरू विद्यामा धनी थिए तर धन तथा वैभवका सवालमा सधैँ दरिद्र थिए भन्ने तथ्य आत्मसात् गरौँ ।

वेद, उपनिषद, पुराणहरूमा जे-जति (विश्वामित्र बाहेक) सबै ऋषिमुनिहरू जङ्गलमा निवास गर्थे । यदि कसैले दया गरेर आश्रममै अन्न वा अन्य साधनहरू उपलब्ध गरायो भने त्यसको बडो कन्जुस्याइँ गर्दै त्यसको उपयोग गर्ने अन्यथा भिक्षा माग्न गाउँतिर पस्थे । त्यस्तो भिख पनि सात वा ११ घर भन्दा बढीमा माग्ने अनुमति थिएन ।

यदि डुलेका घर मध्ये कसैले पनि भिक्षा दिएन भने सन्तोष मानेर भोकै बस्नु पर्थ्यो । आज पनि एउटा बाहुनको फोटो कार्ल मार्क्स, लेनिन, माओत्सेतुङ, जर्ज वासिंगटन, आदमस्मिथ, राजा महेन्द्र, राजा वीरेन्द्र, मदन भण्डारी वा शेरबहादुर जस्तो नदेखाएर “नाक चुच्चो भएको, किताब बोकेको दुब्लो र पोका पन्तुरासहित” हिँड्दै गरेको देखाइन्छ ।

श्रीमद्भागवत र मनुस्मृतिले ब्राह्मणका लागि लेखेका नियम पढ्ने हो भने त्यस बेला ब्राह्मण भएर जीवनयापन गर्नुजस्तो कठोर केही थिएन । सात घर भन्दा बढी भिक्षा गर्न नहुने, आफै कृषि गर्न नहुने, व्यापार-व्यवसाय वा सेवा कर्म गर्न नहुने, लोभ गर्न नहुने, राजसी जीवन यापन गर्न नहुने, आफै भोकै बसेर भए पनि अतिथि सत्कार गर्ने पर्ने, ब्राह्मण बाहेकका जातिहरूले पकाएको भोजन गर्न नहुने र सधैँ वेदको अध्ययन र अनिवार्य रूपमा यज्ञकर्महरू सम्पादन गर्नु पर्ने थियो । आफ्नो ब्राह्मण कर्मबाट च्युत भएको ब्राह्मण सबैभन्दा तल्लो जातको मानिन्थ्यो ।

शास्त्रहरूले ब्राह्मणहरूको ठुलो प्रशंसा गरेको छ । आज भोलिका विकासे विद्वानहरूले पढ्ने यही हो । यदि महाविद्वान अष्टाबक्र तेतिनै धनिमानी भएको भए आफ्नो जीवनको मूल्य लगाएर थोरै धनका लागि शास्त्रार्थ गर्न जनकको दरबारमा किन पुग्थे ? कौरव र पाण्डवका शिक्षा गुरु द्रोणाचार्यले आफ्ना छोरा अश्वत्थामालाई किन दूध भन्दै झुक्याएर कमेरो पनि खान दिन्थे ? किन सुधामा अत्यन्त गरिबीमा संदिपनीको आश्रमका विद्यार्थी बन्थे ? किन कृपाचार्यले आफ्नी पत्नीलाई “जङ्गली पात धारण गरेर लाज जोगाउन सघाउँथे ? र नारद ऋषि घरघर गएर भिक्षाटन गर्थे ? एक पटक यो तथ्य सबैले मनन गरौँ, ब्राह्मण समुदायप्रति फैलाएको भ्रम मेटिन्छ ।

प्राचीनकालमा ब्राह्मणहरूसँग पढ्नु लेख्नु र परम्पराको पालन गर्नु बाहेक अर्को विकल्प नै थिएन । महाभारतमा दुईबटा यस्ता प्रसङ्ग छन् जहाँ ब्राह्मण र तिनको परिवार दरिद्रताका कारणले मृत्यु वरण गर्छ । क्षेत्री लडाइमा मर्छ, वैश्य धनसम्पति लुटिएर मर्छ, शूद्र कामको बोझ सहन नसकेर मर्न सक्छ तर खान नपाएर मरेको कुनै प्रसङ्ग छैन ।

नियम तोड्न भन्दा बरु मृत्युनै रोज्ने ब्राह्मणको उच्चतर चरित्रको उदाहरण हो । ब्राह्मणहरूले कठोरता पूर्वक नियमहरू पालना गर्दै “जीवित पुस्तकालय” बनेर ६४ विद्याको रक्षा नगरिदिएको भए हामी नेपालीहरू पनि “सभ्यता, संस्कृति र इतिहास विहीन” हुन्थ्यौँ ।

आजभोलि ब्राह्मणलाई अनेकौँ आरोप लगाएर आलोचना गर्ने फेसन बनेको छ । विदेशी राजनीति बोकेर हिँड्नेहरू नेपालमा राजनीति गर्नेहरूले ब्राह्मणवाद नाममा आफ्नै धर्म, संस्कृति तथा सभ्यताको आलोचना गर्दै प्रगतिशीलताको दम्भ भर्छन् । तर यी मूर्खहरूका संरक्षक तथा बुद्धिदाताहरूले (पश्चिमादेशहरू) आफ्नो इतिहासका स-साना लेख, व्यक्ति घटनाहरूको जतनपूर्वक संरक्षण मात्रै होइन उनीहरूको सिद्धान्तलाई विश्वव्यापी बनाएका छन् ।

सुकरातको “सुकरात संवाद, प्लेटोको एकेडेमिया आज विश्वव्यापी बनेको छ । “दासवाद”लाई संस्थागत गर्ने पक्षमा स्पष्टसँग आफ्नो पुस्तक “रिपब्लिक”मा लेखेकोमा पश्चिमाहरूले कदचिद आलोचना गर्छन् ।

हाम्रा स्वदेशी प्रगतिशीलहरू वेद, उपनिषद, पुराणआदि असङ्ख्य कृतिहरू लेख्ने ब्राह्मणहरूको आलोचना गर्छन्, उच्छितो काटेर प्रगतिशीलताको दम्भ भर्छन् । यी मूर्ख तथा विदेशीका स्वदेशी दलालहरूले जवाफ दिनुपर्छ कि के विश्वामित्रले वेदको साक्षात्कार गर्नु, ऋषिहरूले उपनिषद लेख्नु, मुनिहरूले पुराण-संहिताको रचना गर्नु, वेदब्यासले ब्रह्मसूत्र लेख्नु, कपिलले सांख्य दर्शनको प्रणयन गर्नु, मनुले मनुस्मृति नामक ग्रन्थ लेख्नु, चरकले औषधि विज्ञानको ग्रन्थ चरकसंहिताआदि लेखेर छोड्नु अपराध नै थियो ? यदि उपरोक्त ब्राह्मणहरूले भोकै रहेर, भिक्षा मागेर तथा निर्लोभ भएर “विद्या” जोगाएर सभ्यता तथा संस्कृतिलाई अगाडी बढाएकोमा उनीहरू दण्डित हुनैपर्छ ।

आफ्नो धर्म, संस्कृति तथा परम्परालाई थाम्न सबै प्रकारका सुखसुविधा त्यागेर “विद्या”जीवी बन्ने ब्राह्मणलाई आलोचना गर्नेहरू निसन्देह शरीर नेपाली भए पनि मन भने विदेशी नै हुन् भन्ने कुरामा शङ्का नगरे हुन्छ ।

अहिले जेजस्तो हिन्दु, जैन, बौद्ध सभ्यता तथा संस्कृति उपलब्ध छ, यो सबै हाम्रा निर्धन पुर्खाहरू (ऋषिमुनि) श्रुति तथा स्मृति परम्पराबाट “जीवनलाई नै पुस्तकालय” बनाएर जोगाएका हुन् । ब्राह्मणहरूलाई दोषारोपण गर्ने उद्योग सधैँका लागि बन्द गरौँ । विदेशीको उक्साहटमा लागेर ब्राह्मण-समुदायप्रति (कुनै पनि समुदायप्रति) अभद्र, असहिष्णु तथा अपमान जनक अभिव्यक्ति त्यागौँ । ब्राह्मणवादजस्तो कुतर्क र पूर्वाग्रही चिन्तनको उक्साइटलाई बेवास्ता गरौँ ।

ब्राह्मणवाद र दलितवादजस्ता शब्दहरूको रचना गरेर हामी सनातनीहरू बिच नै द्वन्द्व गराउने षड्यन्त्रलाई सचेतना पूर्वक अस्वीकार गरौँ । इतिहासलाई बुझौँ, सम्मान गरौँ र ब्राह्मण समुदायको आलोचना गरेर आफ्नै धर्म, संस्कृति तथा सभ्यताको जरोकिलो काट्ने कुन विदेशी दलालबाट परिचालित छ ? भन्ने तथ्य खोजौँ ।
स्वस्ति अस्तु