बुटवल उद्योग बाणिज्य संघको साधारण सभा आज: नेतृत्वकोलागि दुई प्यानल चुनावी मैदानमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बुटवल उद्योग बाणिज्य संघको साधारण सभा आज: नेतृत्वकोलागि दुई प्यानल चुनावी मैदानमा



बुटवल, २५ असोज । बुटवल उद्योग बाणिज्य संघको आगामी नेतृतव चयनकालागि आजदेखि अधिवेशन सुरु भएको छ । संघको तीन वर्षे नेतृत्वकालागि दुई प्यानल चुनावी मैदानमा छन् । मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल र व्यबसायी कृष्णकुमार श्रेष्ठले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यद्यपी उम्मेदवारी मनोनयन भने आज हुँदैछ ।

हमाल नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा उज्ज्वल कसजु, उद्योग उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा हरिप्रसाद अर्याल, महासचिवमा दिनेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा बिमलराज भट्टराई र सचिवमा कमलप्रसाद पौडेल छन् ।

त्यस्तै श्रेष्ठ नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा जयप्रकाश गुप्ता, उद्योग उपाध्यक्षमा शोभाकर पोखरेल, बाणिज्य उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, महासचिवमा बिरेन्द्रकेशर जोशी, कोषाध्यक्षमा गौरीशंकर गुप्ता, सचिवमा कमला पोखरेल चुनावी प्रचारमा छन् । श्रेष्ठ नेतृत्वको प्यानलले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार कृष्णकुमार श्रेष्ठले व्यबसायिक हक हितका लागि आफ्नो प्यानललाई जिताउन आह्वान गर्नुभयो ।

तीन दिनसम्म चल्ने संघको ६४ औं वार्षिक साधारण सभा तथा २३ औं अधिवेशनको तयारी पुरा भएको संघले जनाएको छ । अधिवेशन तथा साधारण सभामा प्रस्तुत हुने बिभिन्न प्रतिवेदन, बुटवलको आर्थिक बिकास र समसामयिक समस्या समेटिएको प्रस्तावहरु तयार भइसकेका छन् । सोही अवसरमा उद्योगी व्यवसायी सम्मान, उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार बितरण गर्ने कार्यक्रम पनि रहेको छ । अधिवेशन तथा साधारण सभाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

साधारण सभा पश्चात बुधवार नै उम्मेदवारी दर्ताको समय तय भइसकेको छ । प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार बुधवार सांझ ५ बजेदेखि साढे ७ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय छुट्याइएको छ । उम्मेदवारी उपर दाबी बिरोध बिहीवार बिहान ८ बजेदेखि ९ बजेसम्म र उम्मेदवारी फिर्ता बिहान साढे ९ बजेदेखि दिउसो २ बजेसम्म तय भएको छ । त्यस्तै २७ गते शुक्रवार बिहान ११ बजेदेखि सांझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ । संघमा २ हजार ५ सय बढी सदस्य भएपनि १ हजार ९ सय ९९ जना मात्रै मतदान प्रक्रियामा सहभागि हुन पाउने छन् ।