बुधबार भेटिएका ११४ जना कोरोना संक्रमित कुन जिल्लाका हुन् ? यस्तो छ पुरा विवरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुधबार भेटिएका ११४ जना कोरोना संक्रमित कुन जिल्लाका हुन् ? यस्तो छ पुरा विवरण



काठमाडौं- बुधबार एकैदिन १ सय १४ जना कोरोना संक्रमित नेपालमा थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार संक्रमितहरू रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका हुन् ।

आज पुष्टि भएका संक्रमित मध्ये धरानमा परीक्षण गरिएका सप्तरीका ११ जना छन्। कोशीमा परीक्षण गरिएका मध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ। हेटौंडामा परीक्षण गरिएका मध्ये एक जना मकवनपुर र सात जना रौतहटका रहेका छन्। पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६ जनामा संक्रमण पुष्टि भएको छ।

राप्तीमा गरिएको परीक्षणमा १८ जना संक्रमित पुष्टि भएको छ। जसमध्ये रुकुम पूर्वका ३ जना र दाङका १५ रहेका छन्। भेरीमा गरिएको परीक्षणमा बाँके जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये सिराहाका १ जना रहेका छन्। त्यस्तै सिराहा घर भइ सप्तरीमा कार्यरत एक जना रहेका छन्। बारा सात जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै रौतहट घर भइ बारामा कार्यरत एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै, काठमाडौंमै भएको परीक्षणमा रौतहटका २८ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितहरुको संख्या पहिलो पटक दिनमा १०० कटेको पहिलो हो। हालसम्म ८८६ संक्रमित पुगेका छन्। संक्रमित मध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेका छन्।

संक्रमित मध्ये सबैभन्दा बढी प्रदेश ५ का ९ जिल्लामा ३६५ रहेका छन्। त्यस्तै प्रदेश २ का ८ जिल्लामा ३२४ जना संक्रमित भएका छन्। प्रदेश १ का सात जिल्लामा संक्रमितहरुको संख्या १०३ जना रहेका छन्।

संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन्। सरकारले पिसिआर प्रविधिबाट परीक्षण बढाएकाले पनि धेरै संक्रमित भेटिएका हुन्।

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको पीसीआर विधिबाट ३ हजार ५ सय ८० नमुना परीक्षण गरिएको पनि उनले जानकारी दिए ।

मन्त्रालयका अनुसार देशैभरका क्‍वारेन्टाइनमा ७० हजार ३०५ जना छन् । पछिल्लो चौबीस घण्टामा २८ जना डिस्चार्ज भएका छन् । जसमा नारायणी अस्पतालबाट २१ जना, कोसी अस्पतालबाट तीन र सुशील कोइराला प्रखर अस्पताल बाँकेबाट चारजना डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना निको हुनेको संख्या एक सय ८३ जना पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।