बुधबार एकैदिन थपिए ११४ नयाँ संक्रमित - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बुधबार एकैदिन थपिए ११४ नयाँ संक्रमित



काठमाडौं- बुधबार एकैदिन १ सय १४ जना कोरोना संक्रमित नेपालमा थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ सय १४ जना संक्रमित भेटिएका हुन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

बुधबार अहिलेसम्मकै सबैभन्दा उच्च संक्रमितको संख्या भेटिएको छ । यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ।

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको पीसीआर विधिबाट ३ हजार ५ सय ८० नमुना परीक्षण गरिएको पनि उनले जानकारी दिए ।

मन्त्रालयका अनुसार देशैभरका क्‍वारेन्टाइनमा ७० हजार ३०५ जना छन् । पछिल्लो चौबीस घण्टामा २८ जना डिस्चार्ज भएका छन् । जसमा नारायणी अस्पतालबाट २१ जना, कोसी अस्पतालबाट तीन र सुशील कोइराला प्रखर अस्पताल बाँकेबाट चारजना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या एक सय ८३ जना पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।