बुढीगण्डकी आयोजनामा प्रचण्ड र जनार्दनले अर्बौं भ्रष्टाचार गरेको बताउने बाबुराम भट्टराई अब के गर्लान् ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुढीगण्डकी आयोजनामा प्रचण्ड र जनार्दनले अर्बौं भ्रष्टाचार गरेको बताउने बाबुराम भट्टराई अब के गर्लान् ?



काठमाडौं, १८ असोज ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच आसन्न प्रदेश र संघीय निर्वाचनमा तालमेल गर्ने र पछि पार्टी एकता गर्ने सहमतिपछि सबैभन्दा बढी खुसी डा.बाबुराम भट्टराई देखिएका छन् ।उनी कुनै न कुनै माध्यमबाट संसदमा पुग्न चाहन्थे ।

नयाँ संविधान जारी भएलगत्तै सांसद पदबाट राजीनामा गरेर माओवादी परित्याग गरेका बाबुरामले पछि नयाँ शक्ति पार्टी खोले । माओवादीका धेरै नेता कार्यकर्ता लिएर नयाँ पार्टी खोले पनि पछिल्लो समय सबैले उनलाई छाड्दै गए । पछिल्लो समय त उनको नयाँ शक्ति पार्टी रित्तिनै लागेको थियो । यही बीचमा तीन पार्टीबीच चुनावी तालमेल र पछि पार्टी एकता गर्ने सहमतिपछि आफ्नो राजनीतिक छवि जोगिएको भन्दै उनी दंग देखिएका छन् ।

बाबुरामले प्रदेश र संघीय निर्वाचनमा आफू सूर्य चुनाव चिह्न लिएर उठ्ने घोषणा गरिसकेका छन्् । निर्वाचन आयोगसँग सहमति नलिई सूर्य चुनाव चिह्न लिएर उठ्नु भनेको एमाले पस्नु हो । सैद्धान्तिक रूपमा अबदेखि बाबुराम एमाले भइसकेका छन् । निर्वाचन आयोगको कानुनअनुसार कुनै पार्टीको चुनाव चिह्न लिएर निर्वाचनमा उठ्नु कानुनी रूपमा सो पार्टीको वैधता सकिनु हो ।

तीन पार्टीबीचको चुनावी तालमेल र एकता सहमतिले बाबुराम भट्टराईले उठाउँदै आएको बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको विषय ओझेलमा परेको छ । नौ सय मेगावाटको बुढीगण्डकी आयोजना विना प्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवालाई दिँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले अर्बौं रुपैयाँ कमिसन लिएको उनको दाबी थियो । सो आयोजनाको निर्माण गेजुवा कम्पनीबाट खोस्न बाबुरामले अभियान नै चलाए ।

आफ्नै गृहजिल्ला गोरखामा निर्माणाधीन सो आयोजना रोक्न उनी आंशिक सफल पनि भएका छन् । संसद्को कृषि तथा जलस्रोत समिति र अर्थसमितिले सो आयोजनाको निर्माण गेजुवालाई नदिन सरकारलाई निर्देशनसमेत दिइसकेका छन् । तर, अब एमाले र माओवादी केन्द्रसँगै पार्टी एक हुने भएपछि बाबुरामले यो विषय उठाउलान् कि चुप लागेर बस्लान् भन्ने विश्लेषणसमेत हुन थालेको छ । वाम एकता प्रक्रियामा सामेल भएर गोरखा निर्वाचन क्षेत्र नम्बर २ सुरक्षित गर्न बाबुराम सफल भएको भन्ने चर्चा चलेको छ ।