बुर्ज खलिफाको धुरीबाट ..(कविता) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बुर्ज खलिफाको धुरीबाट ..(कविता)



चतुर बोल्यो-
“चोटि पर बत्ती बहादुर लगाएगा” !
ऊ जहाँ पुगे पनि चतुर
म जहाँ पुगे पनि बहादुर !
सोचें-
मन्दिरको धुरीमा गजुर त
बाले पनि लगाएथे,
नपाए पनि अर्को दिन देखि
ती बहादुरले मन्दिर पस्न !
आखिर थिएँ त म बहादुरकै सन्तान
चढें बुर्ज खलिफाको धुरीमा
आकाशदीप कँस्न !

थाहा थियो,
बाले मन्दिर टेक्न नपाए झैँ कहिल्यै
भोलि देखि मैले पनि पाउने छैन
वा
मेरो औक़ातले भ्याउने छैन
मेरै पसिनाले मरुभूमिमा
ठडिएको गगन चुम्ने इमारत प्रवेश गर्न !
एउटै लोभले चढेथें –
टुप्पो बाट देख्ने छु
मेरो देश
मेरा बा आमा
अनि
मेरो सगरमाथा !

बर्थ डेमा
जामा नकिन्दिएर रिसाएकी छोरी झैँ
गुमसुम थियो मेरो सगरमाथा !
चाँदी जस्तै टल्किने
डांफे चरी ढल्किने
मेरो स्वभिमान
मेरो उँचो शान
कालै काला दागहरुले ढाकिएको !
आमाको अल्सर
बाको बवासिर
पत्नीको पत्थरी..
सन्तानका संत्रास !!
दलको दलाली
नागरिकको निराशा
काठमाडौँको दादागिरी
कर्णालीको लाचारी..
ती दाग़हरुमा प्रतिविम्वित भएको !

मेरो सगरमाथा –
पाकेर पिरिएको पिलो झैँ
फ़ुट्न नसकेर भित्र भित्रै रोइरहेको ।
भँगालो बनेर बग्दै आइरहेको
सगरको आँसु अरब सागर तिर !
ओह्रालो लागिरहेको
शिरको पसिना सूक्खा बगर तिर !

आमा रगतले लतपतिएको धोंती
त्यही भलमा धुँदी थिइन
प्रेयसी नयनजलले गाजल मेट्दै
त्यही भलमा बगाउँदी थिइन
भुराभुरीका बर्थ डे केकका रहर
जिंउँदो बहादुरलाई पिण्ड बनेर
त्यही खोलीमा सेलाइंदै थिए
सितिमिति नदेखिने बाका अमिला आँसु
नवयौवनाका सिंदूर र लाली
रुखो अनि बुको सुहागरातका
छिंटहरुले छ्यापिएका
लाखौँ पासपोर्टहरु
बग्दै थिए भेलसंगै सलल
अरब सागरको यात्रामा !

चिच्याएर भन्न मन लागेथ्यो –
“ए कसैले त यो बाढी थुन न” !
सगरमाथालाई बलात्कार गरी
बैठक बसेको बालुवाटारले के बोल्थ्यो ?!
बुद्धलाई अपहरण गरी
सीताको सौदा गरेको शिंहदरबारले के सुन्थ्यो !?
मदन हराएको, मुना रोएको
त्यही कथा लेख्ने मान्छे पागल कहलिएको
समाजले के टेर्थ्यो ?!
मरुभूमिको तातो हावामा निष्प्राण गुन्जियो
अनि त्यसरी नै
बेगुहार बिलायो एक लाचार लाहुरे-आवाज !

वाकीटकी बज्यो,
चतुर बोल्यो –
“बहादुर फ़िट किया क्या” ?
म बोलें-
“हाँ भाइ, किया !”
आमा,बा,सङ्गिनी,लालाबाला र देशले
एकै चोटि सोधे झैँ गरी चतुरले सोध्यो-
“कित्ना देर लगादिया लौट् आने में ?
सब ठिक ठाक है ना बहादुर ?!”

पूर्वतिर आँखा डुलाएँ-
जापान र कोरिया समृद्धिमा लम्किदै थिए
पश्चिमतिर हेरेँ-
अमेरिका र क्यानडा सम्पन्नतामा चम्किदै थिए
तलतिर देखेँ-
बालुवामा रंगीन बत्तीहरु बल्दै थिए
रेगिस्तानमा युगिन रेलहरु चल्दै थिए ।
दाईजोको दोष खेप्ने दक्षिणको छिमेकी
अन्तरिक्षमा कल्पनाहरुलाई पठाउँदो थियो
विश्वलाई चुनौती दिने उत्तरको छिमेकी
विकासले सभ्यता सजाउँदो थियो
जगत झलमल्ल थियो
तर
धर्तीको कुनाको एक टुक्रो स्वर्गमा
सबथोक अलमल्ल थियो !

युगौंको प्यासी गलाबाट-
घुटूक्क निलेर एक घुट्की र्‍याल,
इमारत उमार्ने मलिलो बालुवामा-
सुटुक्क चुहाएर एक चिम्टी पसिना,
सुस्तरी बोलें चतुर सँग वाकीटकीमा-
“हाँ भाइ, सब ठीकठाक है !”

© हेमन्त गिरी,टोकियो
(२०१७/११/१८)