बुटवल बसपार्कमा नागरिक सहायता कक्ष स्थापना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुटवल बसपार्कमा नागरिक सहायता कक्ष स्थापना



बुटवल, २८ भदौ । पश्चिम नेपाल बस व्यवसायी संघले वडा दशैंलाई मध्यनजर गर्दै मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । संघले बुटवल नयां बसपार्कमा नागरिक सहायकता कक्ष सञ्चालन गरे संगै अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो ।
पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका कार्यबाहक अध्यक्ष नारायण प्रसाद घिमिरेले दशैंलाई लक्षित गरी यात्रुहरुलाई टिकट लिन सजिलो होस् भनेर अग्रिम टिकट बुकिङ खुल्ला गरेको जानकारी दिए ।
चाडपर्वको मिति नजिकिएसंगै मानिसहरु आ–आफ्नो घर जानेको लागि तयारी गर्ने भएको कारण अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।
बुटवलबाट विभिन्न स्थानमा जाने यात्रुहरुको चापलाई मध्यनजर गर्दै गाडीको संख्या पनि थप्न गरेको संघले जानाकारी दिएको छ । यात्रुलाई छतको यात्रा गर्न नपर्ने तथा सहज यात्राका लागि दैनिक १८ सय सवारी सवारी बुटवलको बसपार्कबाट छुट्टाइएको छ ।
संघमा अहिले करिव २ हजार ३ सय ५० भन्दा बढी गाडीहरु आवद्व रहेको भन्दै सोही अनुपातमा गाडीहरु थप्नको लागि तयारी अवस्थामा राखिएको जनाइएको छ ।
चाडपर्व लक्षित गरी स्थापना गरिएको नागरिक सहायकता कक्षमा यात्रुलाई पर्ने असुविधा तथा सुरक्षाको प्रबन्ध मिलाइने छ । सहायता कक्षमा भाडादर समेत राखिएकाले यात्रुहरु बढी भाडा तिर्नबाट जोगिने अपेक्षा समेत लिइएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि यातायात ब्यवस्था कार्यालय लुम्विनीका प्रमुख चेत प्रसाद उप्रेतीले यात्रुहरुलाई स्तरीय सेवा दिएर सन्तुष्ट गराउनु यातायात ब्यवसायीको पहिलो धर्म हुने बताए । उनले यातायात क्षेत्रमा समस्या संगसंगै असमझदारी र अविश्वासको वातावरण रहेको भन्दै सामुहिक रुपमा पहल गर्न सके समस्या समाधान हुने बताए ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख पवनकुमार भट्टराईले दोहोरो टिकट नदिने तथा सिट क्षमताअनुसार टिकट काटेमा यात्रुले दुःख नपाउने भन्दै त्यसका लागि संघले विशेष ध्यान पुराउनुपर्ने बताए । पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएपी माधव बुढााथोकीले यात्रुहरुले सहज रुपमा गन्तव्यमा पुगुन् भनेर ठाउंठाउंमा स्थायी तथा अस्थायी रिफ्रेस सेन्टरलाई प्रयोग गर्न आग्रह गरे ।
बुटवलबाट विशेषगरी पहाडि जिल्लामा जाने यात्रुहरुको भिडभाड हुने भएकाले सुरक्षा सतर्कता समेत बढाइएको उनको भनाई थियो ।नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष दिनेश पाण्डेले दुर्घटना हुन नदिन र यात्रुलाई नठग्न यातायात व्यवसायीहरु इमान्दार हुनुपर्ने सुझाव दिए । कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी समितिका निर्देशन कमिटीका संयोजक कृष्ण प्रसाद न्यौपानेले पश्चिम नेपाल बस ब्यवसायी संघ सदैव यातायात क्षेत्रको सुधारका पक्षमा रहेको बताए ।

कार्यक्रम संघका महासचिव जिवनकुमार बन्जाडेको सञ्चालन र वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।