बुटवल उपमहागरको आधुनिक कार्यालय भवन बन्दै - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बुटवल उपमहागरको आधुनिक कार्यालय भवन बन्दै



बुटवल । बुटवल उप–महानगरपालिका कार्यालयलाई स्थानीय सरकारको आधुनिक भवनका रुपमा निर्माण गरिने भएको छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले एक समारोहका बीच शुक्रबार उक्त कार्यालय भवनको शिलन्यास गर्नुभएको छ ।
त्यसक्रममा उहाँले बुटवलको बुद्धकालिन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न जरुरी रहेको बताउनुभयो । आधुनिक भवनको निर्माण कार्य समयमै सक्न आग्रह गर्दै उहाँले निर्माण कार्यहरुमा नागरिकहरुको पनि निगरानी र खबरदारी जरुरी रहेको बताउनु भयो । सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढनुपर्ने पौडेलको सुझाव थियो । लुम्बिनी र बुद्धबल्लीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासका लागि जुट्न जरुरी रहेको उहाँको भनाइ थियो । अहिले सरकारले समाजवादको वस्तुगत आधार तयार पार्नेगरी काम गरिरहेको पनि बताउनुभयो ।
बुटवल उप–महानगरपालिकाले करिब तीन विघा जग्गामा गुरुयोजना बनाएर अत्याधुनिक कार्यालय भवन निर्माणको काम सुरु गरेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलबासीको संकल्प अनुसार आफुहरु आवधिक र दीर्घकालिन महत्वका काममा केन्द्रित रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले बुटवलको विकासमा सबैसंग हातेमालो गरिने बताउनुभयो ।


हाल भवन रहेकासमेतको जग्गामा प्रमुख प्रशासनिकसहित अरु छ वटा ब्लकमा भवनहरु निर्माण गर्ने गरि गुरुयोजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले जानकारी दिनुभयो ।
शुक्रबार शिलन्यास भएको भवन प्रमुख अर्थात् ‘ए ब्लक’ हो । बेसमेनसहित चार तलाको आधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार तीन सय ८१ रुपैयाँ ५२ पैसा रहेको योजना प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
तर, निर्माण कम्पनी विकोही, शिवशक्ति, वन्दन भगवति जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार पाँच सय ७२ रुपैयाँ ८४ पैसामा आगामी ०७८ असारमा सक्ने गरी असार ६ गते बुधबार ठेक्का सम्झौता गरेको इन्जिनियर गौतम रौनियारले जानकारी दिनुभएको छ । उक्त भवनमा रहेको अन्डरग्राउण्डमा एक सय छ वटा मोटरसाइकल, ३५ वटा कारलाई पार्किङ गर्न मिल्ने छ । यसका अतिरिक्त बाहिरी पार्किङ छुट्टै छ । भवनमा दुई अलग–अलग स्थानमा लिफ्ट र दुई वटै सिंढीहरु रहने ईन्जिनियर रौनियारले बताउनुभयो ।


भवन शिलन्यास समारोहमा प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य लिला गिरी, नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद वामदेव क्षेत्री, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि युवराज गिरीलगायतले बोल्दै तोकेको समयमै निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।
विसं. २०१६ सालमा स्थापना भएको बुटवलको हालकोमुल भवन भने २०३५ सालमा निर्माण भएको हो । यो मूल भवनसहितका कार्यालय भवनहरु प्रायः जीर्ण र गएको भूकम्पले चर्किएको अवस्थामा छन् ।
कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले स्वागत र प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच बुटवल उपमहानगरले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका बुटवलका तीन जना नागरिक अगुवाहरुलाई सम्मान गरिएको छ । टिकाराम घिमिरे, रामप्रसाद न्यौपाने र राधा घिमिरे पौडेललाई नगद जनही ५१ हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित हुने घिमिरे प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुटवलका ज्येष्ठ नागरिक तथा कम्युनिष्ट अगुवा हुनुहुन्छ । यस्तै न्यौपाने पनि प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा पुराना कांग्रेसका नेता हुनुहुन्छ । अर्की अगुवा महिला पौडेल विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय नेतृ हुनुहुन्छ । उनी द्वन्द्वपीडित महिला हुन् भने हाल अर्बूद रोगबाट ग्रसित हुनुहुन्छ । ज्येष्ठ नागरिकहरुको योगदानबाटै बुटवलको समृद्धिको अभियान सफल हुने नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।