बुटवलमा काँग्रेस माओवादीको संयुक्त घोषणा सभा ,शान्ति र समृद्धिका लागि तालमेल : नेताहरु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बुटवलमा काँग्रेस माओवादीको संयुक्त घोषणा सभा ,शान्ति र समृद्धिका लागि तालमेल : नेताहरु



बुटवल, ३ असार ।

आसन्न स्थानीय तहको निर्वाचनकालागि मेयर र उपमेयरमा तालमेल गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले शनिबार बुटवलमा संयुक्त घोषणा सभा गरेका छन् । घोषणा सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका पाँच नं. प्रदेश ईञ्चार्ज तथा पूर्व मन्त्री बर्षमान पुन लगायनका नेताहरुले सम्बोधन गरेका थिए । दुई पार्टीले चुनावी तालमेल गरि मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट खेलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रको तर्फबाट जगतबहादुर पोखरेललाई अंगाडी सारेका छन् ।
घोषणा सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले दुई पार्टी बिचको गठबन्धनले मुलुकमा नयाँ शक्ति निर्माण भएको र यहि शक्तिले मुलुकलाई नयाँ निकास दिने पनि दावी गर्नुभयो ।

‘एमालेबाट सरकार चल्ला तर मुलुक चल्दैन भन्ने हामीले निश्कर्ष निकाल्यौं ।’ उहाँले भन्नुभयो–‘शान्ति र परिवर्तनलाई संस्थागत गर्नकालागि र मुलुकलाई समृद्ध बनाउनकालागि गठबन्धन गरिएको हो ।’ शान्ति र परिवर्तनकालागि नेपाली काँग्रेस र माओवादी मिल्न आवश्यक रहेकाले शान्ति संम्झौतादेखि सुरु भएको मेलमिलाप निरन्तर कायम रहेने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘नेपालका वास्तविक शक्तिहरु, जनतालाई मालिक मान्ने शक्तिहरुको गठबन्धन भएको छ, अधिक मतले विजय गराउनु होस, मेरो आग्रह छ ।’

उहाँले रुपन्देहीलाई नेपालकै आर्थिक केन्द्रका रुपमा बिकास गर्ने नेपाली काँग्रेसको सपना रहेकाले उक्त सपनालाई साकार पार्नकालागि पनि मुलुकका वास्तविक दुई शक्तिहरु बिच गठबन्धन भएकाले यो गठबन्धनले जितेको खण्डमा रुपन्देही नेपालकै आर्थिक केन्द्र पनि बन्ने र पाँच नम्बर प्रदेशको केन्द्र पनि बन्ने उहाँले दावी गर्नुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाण्डौ–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग विस्तार गर्ने सपना देखेकाले उक्त सपना समेत साकार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेता खाँणले उक्त रेलमार्गको बिकासले लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीलाई मुलुककै आर्थिक बिकासको केन्द्रका रुपमा बिकास गर्न समेत सकिने बताउनु भयो । त्यस्तैगरी नेकपा माओवादी केन्द्रका पाँच नं. प्रदेश ईञ्चार्ज तथा पूर्व मन्त्री वर्षमान पुनले शान्ति, स्थायित्व र समृद्धिकाको आवश्यकताले काँग्रेस र माओवादी बिच तालमेल गरिएको प्रष्याउनु भयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली काँग्रेसको राम्रो छवी भएको र माओवादीको प्रगतिशिल छवी भएकाले यसले पनि यी दुई पार्टी बिचको गठबन्धनले मुलुकलाई समृद्धिको यात्रमा अंगाडी बढाउन सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । एमाले बचनमा पक्का नभएकै उसको त्यहि व्यबहारका कारण गठबन्धन तोड्नु परेको बताउनु भयो । नेपाली काँग्रेसमा सुरुदेखि नै आफूले बोलेको बचनमा पक्का देखिएर सरकारमा मात्रै नभएर स्थानीय तहको निर्वाचनमा समेत चुनावी तालमेल गरिएको प्रष्ट पार्नुभयो ।

पूर्व मन्त्री पुनले काँग्रेस माओवादी बिचको तालमेलले एमालेले असुरक्षित महसुस गरेको बताउँदै दुई पार्टी बिचको तालमेलले अत्तालिएर एमालेले अनेक प्रोपोगान्डा गर्न सुरु गरेको बताउनु भयो । एमाले अध्यक्ष केपी ओली तिर लक्षित गर्दै उहाँले प्रधानमन्त्री भईसकेका मान्छेलाई राजनेता भएर बस्न सुझाव दिनुभयो । उहाँले ति नेतालाई जिब्रो सम्हाल्न र आफ्नो हैसियत हेरेर बोल्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्य, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष लक्ष्मी कोईराला, नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले बुटवलको समग्र बिकासकालागि मेयरमा नेपाली काँग्रेसको रुख चिन्ह र उपमेयर पदमा नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हसिया हथौडामा मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै संयुक्त निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्सालले दुईपार्टी बिचको चुनावी एकताले आफूहरुको जीत सुनिश्चित भएको दावी गर्नुभयो ।

यसैबिच बुटवल उपमहानगरपालिकाको वडा नं. १५ चङ्किपुरमा पनि नेपाली काँग्रेसले घरदैलो गरेको छ । घरदैलो पछि आयोजित कोण सभामा बुटवलका संयुक्त प्यानलबाट मेयर तथा उपमेयरका उम्मेदवार खेलराज पाण्डे र जगतबहादुर पोखरेलले सम्बोधन गर्नुभएको थियो । सभामा नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति हरिध्वज मल्ल, वडा नं. १५ का उम्मेदवार प्रेम पौडेल, तरुण दल वडा अध्यक्ष शिव राना, काँग्रेस नेता वेदानिधी रिजाल, रमा खड्का लगायतले संयुक्त प्यानललाई मतदान गर्न मतदातालाई आग्रह गरेका थिए ।

‘बुटवललाई आर्थिक केन्द्र बनाउछौँ’

नेपाली काँग्रेस र नेकपा माओवादीले शनिबार बुटवलमा आयोजना गरेको संयुक्त घोषण सभामा बुटवलका मेयर र उपमेयरका उम्मेदवारले आफूहरुले जनतालाई दिएको आश्वास पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मेयर पदका उम्मेदवार खेलराज पाण्डेले बुटवललाई केन्द्रमा राखेर सिंङ्गो रुपन्देहीलाई आर्थिक केन्द्र बनाउने बताउनु भयो । उहाँले आफूले चुनाव जितेको खण्डमा नगरपालिकालाई साझा चौतारीको रुपमा बिकास गर्ने बताउनु भयो । ‘अहिले बुटवल बासीले नगरपालिकालाई अपनत्व गर्न सकेका छैनन् ।’ उहाँले भन्नुभयो–‘मैले चुनाव जितेको खण्डमा सबैले अपनत्व गर्ने साझा चौपारी बनाउने प्रतिज्ञा गर्दछु ।’

बुटवलको समग्र बिकास गरी बुटवल सहित रुपन्देही जिल्लालाई मुलुककै आर्थिक केन्द्रको रुपमा बिकास गरिने बताउँदै उहाँले सबैभन्दा पहिला यहाँको सुकुम्बासी समस्या समाधान गर्न आफू प्रतिवद्ध भएको बताउनु भयो । ‘मैले अरुले जस्तै ढाँटछलको राजनीति गर्दिन ।’ उहाँले भन्नुभयो–‘आफूले गर्ने कुरा मतदाताको घरघरमा पुगेर पनि भनेको छु, सबैठाउँ एउटै कुरा गरेको छु, प्रतिवद्धता गरेका कुरालाई पुरा गर्नेछु ।’ त्यस्तैगरी बुटवलमा औद्योगिक, खेलकुद, शिक्षा, स्वास्थ्य क्षेत्रमा हवको रुपमा बिकास गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपमेयरका उम्मेदवार जगतबहादुर पोखरेलले मेयरका उम्मेदवार पाण्डेले गरेका प्रतिवद्धता आफ्नो पनि प्रतिवद्धता भएको बताउँदै बुटवललाई अन्तर्राष्ट्रिय मापदण्डको नगरपालिका बनाउन आफूले भूमिका निर्वाह गर्ने बताउनु भयो । नगरको बिकासमा कसैलाई पनि काखा र पाखा नगरिकनै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।