बैंकको ब्याज मिनाहा हुँदैन: गभर्नर अधिकारी « Himal Post | Online News Revolution
Logo

बैंकको ब्याज मिनाहा हुँदैन: गभर्नर अधिकारी



काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणीले साँवा–ब्याज तिर्ने समय पर सार्न सकिने तर ब्याज मिनाहा नै गर्न भने नसकिने बताएका छन् । कर्जा लिएपछि तिर्नु नै पर्छ । मिनाहा गर्न सकिंदैन । तर अप्ठेरो परेका बेला तिर्ने भाका भने सार्न सकिन्छ ।

कोरोनाकै कारण केन्द्रीय बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरूलाई साँवा र ब्याज असुल्ने समय थप्न निर्देशन दिइसकेको उनले बताए । तर वित्तीय संस्थालाई ऋण मिनाहा गर्न भनेर निर्देशन दिन सकिंदैन, उनले भने ।

ऋणीलाई राहत पुगोस् भने ब्याजदर पनि घटाउने निर्णय भएको उनले बताए । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको मंगलबार बसेको बैठकमा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन् ।

ऋणीहरूबाट ब्याज मिनाहा गर्नका लागि अनुरोध र दबाब दुवै आइरहेको बताउँदै गभर्नर अधिकारीले भने, यस्तो बेलामा ब्याज मिनाहा गर्ने माग आउनु स्वभाविक भए पनि यसलाई कार्यान्वन गर्न भने सम्भव नहुने बताए ।

वित्तीय संस्थालाई दबाब दिएर ब्याज मिनाहा गर भन्न सकिंदैन । उनीहरू पनि टिक्नुपर्ने हुन्छ । आगामी बजेटका सम्बन्धमा छलफल गर्दै गभर्नर अधिकारीले यतिबेला अर्थतन्त्र टिकाइराख्ने उपायहरु अघि सार्नुपर्ने अवस्था रहेको बताए । उनले वैदेशिक लगानी र रेमिटेन्समा गिरावट आउने सांसदहरुलाई जानकारी गराए ।