व्यापार मेलामा लुम्बिनीदेखि मुक्तिनाथसम्म भ्रमण प्याकेज - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

व्यापार मेलामा लुम्बिनीदेखि मुक्तिनाथसम्म भ्रमण प्याकेज



टोपराज शर्मा/बुटवल, १ मंसिर ।

ब्यापार मेला भन्ने वित्तिकै एकै थलोमा थरिथरिका सयौं स्टल,सामान किनमेल र सांस्कृतिक कार्यक्रमको रमाइलो भन्ने झल्को आउंछ । तर भैरहवाको अञ्चलपुरमा विहीबारदेखि शुरु चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलामा बुद्ध जन्मस्थल लुम्बिनीदेखि मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथसम्म दर्शन÷भ्रमण गर्न सकिने आकर्षक टुर प्याकेज पनि समावेश छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजकले पहिलोपटक न्युनतम लागत शुल्कमा तीनथरि भ्रमण प्याकेज राखेको जनाएका छन् । मेलाका पर्यटन प्रवद्र्धन उपसमिति संयोजक संजय वजिमयका अनुसार मेला अवलोकन,लुम्बिनी भ्रमण,एक छाक खाना र लुम्बिनीबाट मेलास्थल फर्कंदासम्मको शुल्क ४ सय ९९ मात्र कायम गरिएको छ ।

यस्तै मेलास्थलबाट लुम्बिनी,कपिलवस्तुको तिलौराकोट, रुपन्देहीकै देवदह र नवलपरासीको रामग्राम हुंदै पुनः मेलास्थलसम्मको एक रात बास र दुई दिन भ्रमण सहितका प्याकेजको शुल्क ९ सय ९९ रुपैयां कायम गरिएको छ । ‘अझै पनि रुपन्देही र आसपासका जिल्लाको जनसंख्याको ठूलो हिस्साले बुद्ध जन्मस्थल लुम्बिनी र यससंग सम्बन्धित तिलौराकोट,रामग्राम र देवदहको भ्रमण गरेका छैनन्,यही तथ्यलाई मनन् गरेर हामीले एकदमै न्यून शुल्कमा लुम्बिनी दर्शन टुर प्याकेज ल्याएका हौं’–पर्यटन प्रवद्र्धन संयोजक वजिमयले भने–‘हाम्रो उद्देश्य लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्नु हो,नाफा कमाउनु होइन ।’

पर्यटन प्रवद्र्धन समितिले आन्तरिकसंगै भारतीय पर्यटकलाई पनि मेलामा आकर्षित गर्न भैरहवा–मुक्तिनाथ दर्शन यात्रा भ्रमण प्याकेज पनि ल्याएको छ । यो प्याकेज अध्यागमन कार्यालय बेलहियाबाट शुरु हुने छ । बेलहियाबाट अञ्चलपुर आई मेला अवलोकन र लुम्बिनी दर्शन गरी रात्री बसमा मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न सकिने छ । खाना, नास्ता र बास बस्ने शुल्क समेत ४ दिनको यो प्याकेजको दर ६ हजार ४ सय कायम गरिएको संयोजक वजिमयले बताए ।

यी सबै भ्रमण प्याकेजमा सहभागी हुन कम्तीमा दुई जना हुनुपर्ने छ । भ्रमणलाई सस्तो बनाउन यातायात व्यवसायीसंग सहुलियत मागिएको वजिमयले खुलाए । टुर प्याकेजमा सहभागीलाई वातानुकुलित विङगर भ्यान र जम्बो हायस गाडीमा यात्रा गराइने छ । ‘सिद्धार्थ यातायात व्यवसायी समिति र पश्चिम नेपाल बस व्यवसायी समितिले गाडी रिजर्ब वापतको शुल्कमा सहुलियत दिएकाले नै हामीले टुर प्याकेजलाई सस्तो बनाउन सकेका हौं’– वजिमयले भने । यसवाहेक मेला अवलोकन गर्ने दर्शकलाई भैरहवा–काठमाडौं हवाई टिकटको भाडा पनि सस्तो दरमा उपलब्ध गराउने योजना मेला आयोजकले ल्याएका छन् । जस अनुसार भैरहवा काठमाडौं एकतर्फी भाडा २८ सय र दुईतर्फी ५६ सयमा टिकट उपलब्ध गराइने वजिमयले जानकारी दिए । भैरहवा–काठमाडौंको साधारण हवाई भाडा दर ५ हजार ९ सय ६० रहेको वजिमय बताउंछन् ।

‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र ः राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नारा सहित उद्योग व्यापार संगठन रूपन्देहीको आयोजनामा भैरहवाको अञ्चलपुरमा बिहीबारदेखि औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव शुरु भएको हो । मेला आयोजक मूल समितिका संयोजक नारायणप्रसाद भण्डारीले स्वदेशी उत्पादनको बजार प्रवद्र्धन, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने, उद्योगीहरुमा प्रतिस्पर्धी क्षमता बृद्धि गर्न प्रेरित गर्ने, रुपन्देहीमा उद्योग,ब्यापार,कृषि र पर्यटनको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्यसहित मेला आयोजना गरिएको बताए ।

मेलामा उद्योग, ब्यापार,होटल÷रेष्टुरां,सूचना प्रविधि , अटोमोबाइल्स, कृषि, पर्यटनका गरी करिब चारसय स्टल रहेका संगठनका निवर्तमान अध्यक्ष खिमबहादुर खत्रीले जानकारी दिए । मेलाको आकर्षणको रुपमा यसपटक मेला प्रवेशद्वरा ड्रागनको मुखाकृतिमा बनाइएको छ भने लोपोन्मुख राउटे जाति, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति,महिला तथा पुरुष कुस्ती, डान्स आइडल, डीजे नाइट, फेशन शो, भोजपुरी कलाकारको प्रस्तुति,सेल्फी जोन, बाल उद्यान आदि रहेका संगठनका महासचिव अनिल ज्ञवालीले जानकारी दिए । मंसिर ११ गतेसम्म संचालन हुने मेला ३ लाख दर्शकले अवलोकन गर्ने र ६० देखि ६५ करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको कोषाध्यक्ष सचिन रोक्काले जानकारी दिए ।