मन्त्रिपरिषद बैठकमै मायाँ प्रेम चलेपछि... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्रिपरिषद बैठकमै मायाँ प्रेम चलेपछि…



काठमाडौं- केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश भए ।

‘यो तपाईंको विरोध होइन डाक्टर सा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडालाई ढाडस दिएर भने, ‘यो आक्रोश मप्रतिको हो ।’

राजीनामा त यसअघि प्रधानमन्त्रीका प्रिय पात्र मानिने गोकुल बाँस्कोटादेखि शेरबहादुर तामाङहरूले पनि दिएका थिए । उनीहरूको राजीनामाप्रति प्रधानमन्त्रीले त्यस्ता कुनै सहानुभूतिको शब्द खर्चिएका थिएनन् तर युवराजको राजीनामाले उनलाई निकै नै पोले जस्तो बुझिन्थ्यो, उनकै शब्दबाट ।

प्रधानमन्त्रीले युवराजतिर हेरेर भने, ‘देशको आर्थिक उन्नति हुन नदिन, राजनीतिक स्थायित्व कायम रहन नदिन, समृद्ध नेपाल, सुखी नेपाली देख्न नचाहनेहरूको खेल हो यो । तपाईंको केही दोष होइन ।

अरुतिरबाट नसकेपछि मलाई घेराबन्दी गर्न यस्तो गरियो । चिन्ता नगर्नुस्, तपाईंको आवश्यकता अहिले पनि राष्ट्रलाई छ ।’ त्यसक्रममा प्रधानमन्त्रीले तीन पटक नामै किटेर ‘धन्यवाद’ शब्द दोहोर्‍याए ।

युवराजलाई त्यति भनिसकेपछि बल्ल अरु मन्त्रीहरूतिर हेरे । र, भने, ‘तपाईंहरूले पनि कुनै चिन्ता नलिई काम गर्नुपर्‍यो । मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर निक्कै ठूलो हल्ला फिँजाइएको छ । तपाईंहरूलाई पनि आज हो कि भोलि भन्ने परेको होला । तर, त्यस्तो कुनै चिन्ता नलिनुस् ।

आ–आफ्नो मन्त्रालयमा ध्यान दिएर काम गर्नुस् । हल्ला गरिए जस्तो आजैभोलिमा मन्त्रिपरिषद् हेरफेरको कुरा हुँदैन । खालि भएको मन्त्रालयमा अर्को मन्त्री पठाउने वा के गर्ने भनेर एउटा निर्णय होला । योबाहेक पूरै क्याबिनेट नै फेरिन्छ भन्नेखालका हल्लाहरूमा सत्यता छैनन् ।’

यति भनिसकेपछि बल्ल बैठक एजेण्डाहरूमा प्रवेश गर्‍यो । सोही क्रममा पनि प्रधानमन्त्री प्रतिक्रियात्मक रुपमा पेश भए । जस्तो कि, एजेण्डाभित्र एमसिसीको नियमावली पनि थियो ।जनआस्थाले लेखेको छ।

राजीनामा दिइसकेका अर्थमन्त्रीको तर्फबाट एजेण्डा टेबुल हुनासाथ प्रधानमन्त्रीले ध्यान दिएर प्रस्ताव पढे र भनिहाले, ‘पढ्दै नपढी मान्छेहरू विरोध गर्छन् !’ एकछिन अड्किएर फेरि गुन्गुनाए, ‘के भनौं र ? यस्तो कुरा नबुझी पनि मान्छेहरू हल्लाको पछि दौडिएका छन् । यसरी हामी कहाँ जाँदैछौँ ?’