क्यान्डिल जलेर कम पग्लियो धेरै सकियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

क्यान्डिल जलेर कम पग्लियो धेरै सकियो



कृष्णप्रसाद अर्याल

एक क्यान्डिल कुरा भयो हाम्रो।जब क्यान्डिल पग्लिदै जल्दै गर्‍यो,म जल्दै पग्लिदैं गरेँ।रात झनझन पग्लिदै गयो मात्रै।अँध्यारो चुहिदै गयो।तप्प !तप्प!!आँसुजस्तै।
अन्त्यमा क्यान्डिल निभ्यो।हामी उठ्यौं।

दिनेशले सोध्यो- दाइ,हाम्रो कति भयो ?
– १७५ मात्रै।

हामी सरासर कोठामा आयौँ।फेरि छतमा गयौँ।मैले स्टाटस राखें- बाढी त संयोग र बहाना मात्रै हो।मान्छे त कसैको यादमा डुबिरहेका हुन्छन्।

केही थान कमेन्ट आए।कमेन्ट गुरुप्रसाद मैनालीका कथाका केन्द्रीय भावजस्ता थिए।एकदम अादर्शवादी।मलाई झन् झोक चल्यो।अर्को स्टाटस राखें- अादर्शवाद गुरुप्रसाद मैनालीका कथामा मात्रै सुहाउछ,कमेन्टमा होइन।

उनीहरूको आशय थियो – देश दुखिरहेको छ।मेरो मनले भन्थ्यो- दुखोस्।देश भनेको म पनि हुँ तर म दुख्ने र आँसु बगाउने पक्षमा छैन।देश दुख्यो भनेर आँसु बगाइरहदा पानीको मात्रा थप बढ्छ है।

जताततै सरकार निदाइरहेछ भन्ने आशयका स्टाटस देखिन्थे।मलाई जाँच्न मन लाग्यो।ऊ अनलाइन थि।मलाई बहाना मिल्यो म्यासेज पठाउने। म्यासेज पठाएँ।लेखें- सरकार!
तुरुन्त रिप्लाई आयो- हजुर!
मैले फेरि पठाएँ- सबै झुट बोल्दा रहेछन्।सरकार निदाएको रहेनछ।
त्यसपछि दुइटा इमो आए बदलामा।त्यसपछि आजसम्म केही आएन।मैले एक छिन सोचें- एउटा मात्रै इमो पनि त पठाउन सक्थी।तीनअोटा पठाउन पनि त सक्थि।आखिर दुईवटा पठाउनुको अर्थ के? मेरो सोचाइ न हो।यसरी घोरिएर सोच्नु आवश्यक छैन।उसले केही नसोचेरै पठाएकी हो।यो मेरो सोचाइ बेकार हो,बेतुक हो।मैले फेरि ब्राह्मण ग्रुपमा पोस्ट गरेँ- सरकार ! लेखेर सम्बोधन मात्रै के गरेको थिएँ ,ऊ भुसुक्क निदाइछ।

रातले आफ्नो अौसतमृत्युदर पूरा गरिसकेको थियो।म रातको अन्तिम अवस्थामा पुगेर निदाएछु।उठ्दा बिरामी थिएँ म।

क्यान्डिल जल्नु अगाडि –

हामी सरासर पार्कमा पुगेर नदीतर्फ फर्किएको सिमेन्टकुर्सीमा बस्यौं।कुन्नि के भन्छन् त्यसलाई ,मलाई नाम थाहा छैन।मानौं कुर्सीको दाइ।

दिनेशका कुरा अलिक रङ्गिन हुन्छन्। लगभग सबै कुरा भन्छ मलाई।मसँग सुझाव माग्छ।मानौं म यस्तो मामिलामा अलिक बौद्धिक छु।म पनि नासो कथाको देवीरमणले जस्तो उसलाई धेरथोर कुरा बताउँछु।वास्तवमा नासो कथा दिनेशले पनि पढेको छ।उसले त्यस कथाको एउटा वाक्य पनि कण्ठस्थ पारेको छ- मान्छेको पान्डित्याँइ अरूलाई उपदेश दिन मात्रै काम लाग्छ न कि आफूलाई परिअाउँदा।

ऊ मलाई अलिक गह्रौं आँखाले हेर्छ।
उसका कुरा अलिक सुख्खा सब्जीजस्तो हुन्छन्।मेरा रसदार सब्जीजस्तो।कैले कैले त मेरा कुरा मरौटी र टिमुर मात्रै राखेको दालजस्तो रसदार हुन्छन्।म त डुबेकै छु।ऊ पनि घाँटीघाँटी डुब्न पुग्छ।आज भनेँ ऊ अलिक रसदार कहानी सुनाइरहेको थियो।मैले भनेँ- तेरो सुख्खा सब्जीमा बाढी पसेछ क्यारे।अकस्मात रसदार बन्यो।

धेरै कुरा अकस्मात हुन्छन्।त्यहाँ पनि भयो। झ्याप्प हाम्रो अघि टर्च बल्यो।कुनै मान्छे उभिएको देखियो।टर्च निभ्यो,ऊ बोल्यो – कहाँदेखि आएका ?
म बोलें- म यहीँ बस्छु नजिकै।यो मेरो साथी।बजारमा बस्छ।
– छिटो कोठामा जाओ।
ऊ गयो।म उता आँखा फर्काइन।सरक्सुरुक् आवाजले दुई चार जना मान्छे नै भएजस्तो लाग्थ्यो।ती प्रहरी थिए।

दिनेशले प्रहरी अाउनासाथ आफ्नो कथा बिर्सिएछ।भन्यो – बिर्सें यार।मलाई थाहा छ प्रहरी भनेपछि दिनेश अलिक डराउँछ।मैले भनेँ- मुलाङ्।

हामी निस्प्रयोजन त्यहाँ पुगेका थियौँ ।सधैँ जस्तो पुग्छौं।गफ गर्छौँ ।ऊ हरेक कुरा गर्छ।खासमा कुरा नगर्दा पनि केही बिग्रिदैन।हुन त गर्दा पनि बिग्रिदैन।मैले मेरो केही दिन अघिको सपना सुनाउन थालेँ उसलाई।

– निद्राबाट म झट्ट सपनामा पुगें।ह‌ैन ,यस्तो हुन सक्दैन कि म एक निमेषमा निद्राबाट सपनामा पुगूँ।सपनाले निद्रा बिगार्छ।म मेरो निद्रा बिगार्न चाहन्नथें होला।तर के भैदियो भनेँ म सपनामा पुगें।सपनामा पुग्दा कुन बाटो पुगें होला म? बाटो अफ्ठेरो पो थियो कि?अथवा सजिलो नै थियो कि?मलाई सपनामा पुग्दा अब कसरी फर्कने भन्ने विषयमा डर लाग्यो होला कि नाइँ? बाटो भुलें कि भन्ने त्रासले चिमोट्यो होला कि नाइँ? अथवा म सपनामा जाँदा कालिदासको कुन्नि कुन नाटकमा कुन्नि के राजाले कुन्नि कहाँ जाँदा बाटो बिराइन्छ कि भनेर कुन्नि के बाटो छेउमा राख्दै गएझैं म पनि कुन्नि के बाटोको छेउमा राखेर पो आएँ कि? खै कुन्नि! अँ म सपनामा पुगें।

म कतै बसिरहेको थिएँ।हुन सक्छ त्यो मेरो क्लास रुम थियो।एक्लो थिएँ।मुखमा कलमको बिर्को जोडजोडले टोकेको थिएँ।सायद यसकारणले टोकेको थिएँ- कलमको बिर्को र मन उस्तै उस्तै हुन्छन्।जता पनि हराउने जहाँ पनि हराउने,जता पनि अल्झिने।हराइरहने।मलाई आफ्नै मन देखेर रिस उठिरहेको थियोे होला।मन कसले पो देख्यो फेरि।वाइयात! मलाई यही रिस मार्नु थियो।मैले जोडजोडले टोकिरहेको थिएँ।

अनि?
-अकस्मात एउटी माताको प्रवेश भयो।उहाँ माता नै हुनुहुन्छ भन्ने के छ र।हुन सक्छ उहाँ कसैकी पुत्री पो हुनुहुन्छ कि? अथवा गर्लफ्रेन्ड नै पो हुनुन्छ कि उहाँ।भैगो उहाँ जो भए पनि दिव्य हुनुहुन्थ्यो।भगवान् नै हुनुहुन्थ्यो उहाँ।

मैले सोचें – उहाँले भन्नू हुनेछ ,तिमीले जे छुन्छौ त्यो तिम्रो हुनेछ।अनि मैले सबै छुनेछु।पृथ्वी ,जल,तेज, वायु, आकाश।
हुन त म नछुन पनि सक्थें।पञ्चमहाभूतसँग खेलवाड गर्नु हुन्न रे।हुन त खेलवाड कहाँ गरेको हो त ,छोएको पो त।मैले सबै चीज छुदै छुदै जानेछु।तर तिमीलाई छुन खोज्ने छैन।अहँ,कदापि छुने छैन। मलाई थाहा छ तिमीलाई छुन खोज्दा म ब्युझने छु।मैले उपेन्द्र सुब्बाको कविता पढिसकेको छु।

त उहाँ मेरो नजिकै आउनु भो।
म नजिकै रहेर भन्नू भो- म जे भन्छु त्यही गर्न सक्छौ?
मैले भनेँ- सक्छु।

– तिमी यस्तो गर।आफूले चिनेका जानेका मान्छेको नाम लेख यो कापीमा।सरर लेख ,सम्झिदै लेख्नु पर्दैन।छुटे फरक पर्दैन।पैले आफ्ना मान्छेको नाम लेख।

मैले लेखें।क्रमशः ,
-आमा अर्याल
-बाबा अर्याल
……

लेखेको पन्ना बुझाएँ अन्त्यमा।
फेरि भन्नू भो- एक पटक रुजु गर।
मैले सरर नाम पढ्दै गएँ।बिचमा पुगेर एउटा नाममा कलमको टुप्पो केही बेर अडियो।फेरि तल पुग्यो।फेरि माथि मा

।फेरि माथि माथि बढ्यो।अघिको ठाउँमा कलमको टुप्पो अडियो।कुन्नि के सोचें।त्यो नाम केरिदिएँ।
बुझाउदै भनेँ- यी हेर्नुस् आफ्नाको सूचि।
– ठिक छ मैले हेरेँ।अब पराईको नाम लेख।

उसै गरेर लेखें।
बुझाएँ।फेरि भन्नू भो- यी नाम पनि एक पटक फेरि हेर।

सुरुदेखि सरर हेरेँ।अन्तिमभन्दा केही अघि पुगेर कलमको टुप्पो अडियो।फेरि अघि बढ्यो माथिमाथि,फेरि तल।उहीँ नाममा पुगेर आँखा अडिए जुन नाममा अघि नै देखि कलमको टुप्पो अडिरहेको छ,जुन नाम आफ्नाको सूचीमा लेखेर फेरि केरिसकिएको छ।के के सोचें।फेरि त्यो नाम पराइको सुचीबाट पनि केरें,मेटें।अनि बुझाएँ मातालाई।

एक छिन हेरेर माताले सोध्नु भयो – त्यो को हो? जसको नाम दुवैतिर लेखेर दुवैतिर नै मेटायौ फेरि।

मैले भनेँ- यो मान्छे मेरो यो हो भन्ने थाहा भएको भए किन दुवैतिर लेखेर उसको नाम दुवैतिर केर्थें त नि।

मैले सोधेँ- हजुर को हो? किन यसरी नाम लेख्न भन्नू भएको? के हजुरलाई मेरा ह्यान्डराइटिङ नराम्रा छन् भन्ने थाहा भएर सुधारिदिन आउनु भा हो?
उहाँले मुस्कान पोतेर अोठमा भन्नू भो- म राधा ।
– ए कृष्णकी राधा पो हजुर?

उहाँ रिसाएजस्तो लाग्यो मलाई।आँखा बलिरहेका थिए।
भन्नू भो- म कृष्णकी राधा होइन,म राधा मात्रै हुँ।के म आफ्नो नामले मात्रै चिनिन सक्दिनँ? मेरा अगाडि कसैको नाम जोड्नै पर्ने के छ?
मैले डराएर भनेँ- अनि सबैले त्यही भन्छन्।
उहाँले भन्नू भो- हो म कुनै बेला कृष्णकी राधा थिएँ तर अब रहिन।म राधा मात्रै हुँ।
किन? के भयो र?
– मलाई हजार टुक्रा पारुन्।हजार प्रति बिभाजित हुँ म।मलाई कुनै दुखेसो छैन,कुनै गुनासो छैन।तर प्रेम कहिल्यै बिभाजित हुन सक्दैन।प्रेममा कहिल्यै भाग लाग्नु हुँदैन।रुक्मिणी अाइसके पछि प्रेममा भाग लाग्न अाँट्यो।मैले छोडिदिएँ।प्रेम भाग लागेको मलाई मन पर्दैन।म अब राधा मात्रै रहेँ।

मैले फेरि सोधेँ- अनि मलाई ती नाम दुई भागमा बिभाजन गर्न लगाएको किन त?
राधाले भन्नू भो-कुनै मान्छे यस्तै हुँदा रहेछन्,कतै पनि राख्न नसकिने,जता राखे पनि मनले शङ्का उठाइहाल्ने।निसन्देह कतै राख्न नसकिने।तिमीसँग पनि रहेछ त्यस्तै व्यक्ति।
अनि फेरि हाँस्नु भो।

दिनेशले सोध्यो – अनि ?त्यसपछि ?

– सोध्न मन थियो – राधा, तेस्रो विकल्प छैन ? तर ब्युझिएँ।
दिनेशले लामो सुस्केरा कुर्सीनीर त्यागेर भन्यो- हिंड् जाम्।
हामी तल झर्यौं।9 बजिसकेको थियो।सानो चिया पसलमा बाहिर बस्यौं ।फेरि के सोचेर भित्र बस्यौं।चिनेको पसल हो।अचेल यहाँ चुरोट खाना पाइदैन।जो कोहीले पनि।हामी चिया मगाउछौं।पसले दाइले चुरोट तानिरहेछन् भित्रपट्टी।क्यान्डल जल्छ।हाम्रो गफ चल्छ।सिभिल ड्रेसमा प्रहरी आउँछ। उसका याद सिभिल ड्रेसमा आए पनि चिन्छु म।जसरी यो प्रहरीलाई चिनें।चुरोट खान्छ पसलेसँग बसेर।बाहिर निस्किन्छ।पसले हाँस्छ।ङिच्च।

म चुरोट खान्न।तर चुरोटको मामिलामा नयाँ सोच बनेको छ मेरो अचेल- चुरोटले व्यक्तित्व बिगार्दैन,मात्रै फोक्सो बिगार्छ।
क्यान्डिल जलिरहेको छ।चियाको कप थपिन्छन्।चार पुगिसकेको छन्।अन्तिम कपमा भन्छु- अब कालो चिया खाने।क्यान्डिलले भूपिको मौनबत्तिको शिखा कविताको अन्तिम हरफ लेखिरहेछ-

एकातिर धप्प धप्प
बलिरहेछ अनुहार
अर्कातिर तप्प तप्प
ढलिरहेछ अश्रुधार।
मानौं यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गीय पतिको।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको।

क्यान्डिल निभ्यो।हामी निस्कियौं।पुलको मध्य भागमा अाइपुग्दा दिनेशले भन्यो -तैँले केर्ने मनसाय राखेर भए पनि धेरै पटक उसको नाम लेखिसकिस्।देखिस् नि क्यान्डिल निभिसक्यो।