फाइनलमा कप्तान विलियम्सनको उत्कृष्ट ब्याटिङ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

फाइनलमा कप्तान विलियम्सनको उत्कृष्ट ब्याटिङ



एजेन्सी – कप्तान केन विलियम्सनको उत्कृष्ट ब्याटिङमा आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई १ सय ७३ रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए । ओपनर मार्टिन गुप्टिलले तेस्रो ओभरको तेस्रो बलमा ब्यक्तिगत १० रनमा जीवनदान पाएका थिए । स्पिनर ग्लेन म्याक्सवेलको बलमा इन साइट एज लागेपनि विकेटकिपर म्याथ्यु वेडले क्याच ड्रप गरेका थिए ।

तीव्र गतिका बलर जोश हेजलवुडको चौथो ओभरको पाँचौं बलमा ओपनर डर्याल मिचेल एज लागेर ११ रनमा वेडबाट क्याच आउट भए । पहिलो विकेटका लागि गुप्टिल र मिचेलले २८ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि विलियम्सन र मार्टिन गुप्टिलले ४५ बलमा ४८ रनको साझेदारी गरेका थिए ।

स्पिनर एडम जाम्पाको १२ औं ओभरको पहिलो बलमा गुप्टिल २८ रनमा क्याच आउट भए । ३५ बलमा खेलेका गुप्टिलले ३ चौका प्रहार गरे । विलियम्सनले १६ औं ओभरमा तीव्र गतिका बलर मिचेल स्टार्कलाई ४ चौका र १ छक्का सहित २२ रन प्रहार गरेका थिए । सुरुवाती समय विलियम्सन १९ बलमा १८ रनमा खेलेका थिए । त्यसपछि विलियम्सनले रनको गति बढाएका थिए ।

तेस्रो विकेटका लागि विलियम्सन र ग्लेन फिलिप्सले ३७ बलमा ६८ रनको उत्कृष्ट साझेदारी गरेका थिए । फिलिप्स ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा १८ रनमा क्याच आउट भएका थिए । फिलिप्सले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । जोश हेजलवुडको १८ औं ओभरको पाँचौं बलमा ठूलो सट खेलेका विलियम्सन लङअफमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । जिमी निशमले १३ र टिम सिफर्टले ८ रनमा अविजित रहे ।

अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर एडम जाम्पाले १ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ६० रन खर्चेपनि विकेट लिन सकेनन् ।