सबैभन्दा सस्ता ऐयर, महंगा कोहली: कुन कप्तानले कति पाउँछन ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सबैभन्दा सस्ता ऐयर, महंगा कोहली: कुन कप्तानले कति पाउँछन ?



एजेन्सी– कुनैपनि टोली च्याम्पियन बन्न खेलाडी मात्र उत्कृष्ट भएर पुग्दैन त्यो भन्दा उत्कृष्ट गुणको कप्तान पनि हुनुपर्छ । खेलाडीको क्षमता चिनेर उसलाई सहि भूमिका दिनेसँगै कठिन समयमा सहि निर्णय लिने क्षमता भएको खेलाडी हुनुपर्छ । कप्तानको निर्णयले जित हार र हार जितमा परिणत हुन सक्छ ।

आगमी शनिबार देखि विश्वकै सर्वाधिक लोकप्रिय तथा सर्वाधिक धनराषि भएको इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयूक्त अरव इमिरेट्स (यूएई) मा हुँदैछ । आइपिएलमा विश्वका चर्चित खेलाडीहरुको मिलन हुनुको साथै प्रर्दशन हुने गर्दछ । आइपिएलका आठ फ्रेन्चाइज टोली मध्य दुईले मात्र विदेशी खेलाडीलाई कप्तान बनाएका छन् । आठ मध्य ६ कप्तानको मूल्य १० करोड भारतीय रुपैयाँ भन्दा माथि छ । दुई कप्तानको मूल्य ८ करोड भन्दा कम भारतीय रुपैयाँ छ ।

आइपिएल २०२० मा सर्वाधिक पारिश्रमिक (मूल्य) पाउने खेलाडी र रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली हुन् । आइपिएल २०२० मा सर्वाधिक मूल्य पाउने विदेशी खेलाडी अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्स हुन् । कमिन्सलाई अक्सनमा कोलकाता नाइट राइडर्सले १५ करोड ५० लाख भारतीय रुपैयाँ खर्चेको थियो । आइपिएलमा किंग्स इलेभेन पञ्जाबका लोकेश (केएल) राहुल ले पहिलो पटक कप्तानी गर्दै छन् । आइपिएल २०२० मा सबै टोलीका कप्तान, तिनीहरुको मूल्य, उनीहरुले कप्तानीमा प्रर्दशन, नतिजा र सफलता यस प्रकार छ ।

१. महेन्द्रसिंह धोनी, चेन्नई सुपर किंग्स

महेन्द्रसिंह धोनी आइपिएलमा सर्वाधिक खेलमा कप्तानी गर्ने एक सफल कप्तान हुन् । धोनीलाई यस सिजनमा चेन्नईले १५ करोड भारतीय रुपैयाँ तिर्ने छ । धोनीले १ सय ७४ खेलमा कप्तानी गर्दा १ सय ४ खेलमा जित र ६९ खेलमा हार बेहोरेका छन् । एक खेल नतिजा विहिन बनेको छ । धोनीको विजयी प्रतिशत ५९.८ छ । धोनीले ९२ खेलमा टस जित्दा ८२ मा हारेका छन् । धोनी आइपिएलमा कप्तानको रुपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् ।

धोनीले ४ हजार १ सय ४२ रन बनाएका छन् । उनको औसत ४४ हुँदा स्ट्राइकरेट १३९ छ । धोनी एकमात्र लिग चरणबाट नबाहिरिने कप्तान हुन् । सन् २०१०, १०११ र २०१८ मा चेन्नईले धोनीको कप्तानीमा उपाधि जितेको थियो । सन् २००८, २०१२, २०१३, २०१५ र २०१९ मा चेन्नई फाइनलमा पुगेको थियो । धोनीले सुरुवात देखिनै चेन्नईको कप्तानी गर्दै आएका छन् ।

२. रोहित शर्मा, मुम्बई इन्डियन्स

रोहित आइपिएलमा सर्वाधिक उपाधि जित्ने कप्तान हुन् । रोहितको कप्तानीमा मुम्बई इन्डियन्सले चार पटक उपाधि जितेको छ । मुम्बईले रोहितलाई १५ करोड भारतीय रुपैयाँ तिर्ने छ । रोहितले कुल १ सय ४ खेलमा कप्तानी गरेका छन् । जसमा ६० खेलमा जित दिलाउँदा ४२ खेलमा पराजित भएका छन् । दुई खेल बराबरीमा सकिएको छ । रोहितको विजयी प्रतिशत ५७.७ छ । रोहितले समान ५२ खेलमा टस जितेका र हारेका छन् ।

रोहितले कप्तानको रुपमा २ हजार ६ सय ९३ रन बनाएका छन् । जसमा औसत ३० को रहँदा स्ट्राइक रेट १ सय ३० को रहेको छ । रोहितले आफ्नो कप्तानीमा सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जिताएका छन् । रोहितले सन् २०१३ देखि कप्तानी गर्न थालेका हुन् ।

३. विराट कोहली, रोयल्य च्यालेन्जर्स बेंगलोर

बेंगलोरका कप्तान विराट आइपिएलमा सर्वाधिक मूल्य पाउने खेलाडी हुन् । कोहलीलाई बेंगलोरले १७ करोड भारतीय रुपैयाँ तिर्ने गर्दछ । २०११ देखि बेंगलोरको कप्तानी गर्न थालेका कोहलीले कुल १ सय १० खेलमा कप्तानी गरेका छन् । जसमा ४९ खेल जिताउदा ५५ खेल हारेका छन् । दुई खेल बराबर हुँदा चार खेल नतिजा विहिन बनेको छ । कोहलीको विजयी प्रतिशत ४४.५ छ ।

कोहलीले ५३ खेलमा टस जित्दा ५७ मा हारेका छन् । कप्तानका रुपमा कोहलीले आइपिएलमा कुल ४ हजार १० रन बनाएका छन् । जसमा स्ट्राइक रेट १३६ को हुँदा औसत ४४ को छ ।

४. स्टिभ स्मिथ, राजस्थान रोयल्स

अष्ट्रेलियाका प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथले राजस्थानको कप्तानी गर्ने छन् । राजस्थानले स्मिथलाई १२ करोड ५० लाख भारतीय रुपैयाँमा तिर्ने छ । स्मिथले २९ खेलमा कप्तानी गर्दा १९ खेलमा जित र ९ खेलमा हार बेहोरेका छन् । स्मिथको विजयी ६५.५ प्रतिशत छ । १३ खेलमा टस जित्दा १६ खेलमा हारेका छन् ।

स्मिथले कप्तानको रुपमा ७ सय ९४ रन बनाएका छन् । औसत ३७ र १२४ को स्ट्राइक रेट छ । स्मिथले आफ्नो कप्तानीमा राइजिङ पूणे सुपरजाइन्टलाई सन् २०१७ को फाइनलमा पुर्याएका थिए । स्मिथले सन् २०१२ देखि कप्तानी गर्न थालेका हुन् ।

५. डेविड वार्नर, सनराइजर्स हैदराबाद

सनराइजर्स हैदराबादले डेभिड वार्नरलाई यस सिजनमा १२ करोड ५० लाख भारतीय रुपैयाँमा तिर्ने छ । वार्नरले कुल ४७ खेलमा कप्तानी गर्दा २६ मा जित र २१ मा हार बेहोरेका छन् । विजयी प्रतिशत ५५.३ छ । कप्तानका रुपमा २ हजार ९९ रन बनाएका छन् । औसत ५२ को रहँदा स्ट्राइक रेट १४८ को छ । वार्नरले २२ खेलमा टस जित्दा २५ खेलमा हारेका छन् । वार्नरको कप्तानीमा हैदराबादले सन् २०१६ मा उपाधि जितेको थियो । वार्नरले सन् २०१३ देखि कप्तानी गर्न थालेका हुन् ।

६. श्रेयस ऐर, दिल्ली क्यापिटल्स

श्रेयस ऐर आइपिएलमा कप्तानी गर्ने सर्वाधिक युवा ब्याट्सम्यान हुन् । दिल्लीको सन् २०१८ देखि कप्तानी गरेका ऐरले २४ खेलमा नेतृत्व गरेका छन् । जसमा १३ मा जित र १० मा हार बेहोरेका छन् । एक खेलको बराबरी भएको छ । ऐरको विजयी प्रतिशत ५४.२ छ । ऐरले १४ खेलमा टस जित्दा १० मा हार बेहोरेका छन् ।

कप्तानका रुपमा ७ सय २३ रन बनाएका छन् । ३२ को औसत र १२३ को स्ट्राइक रेटमा रन जोडेका छन् । ऐरलाई दिल्लीले ७ करोड भारतीय रुपैयाँ तिर्ने छ । जुन यस सिजनको आइपिएलमा सर्वाधिक कम मूल्य पाउने कप्तान हुन् । ऐरको कप्तानीमा दिल्ली २०१९ मा क्वालिफायरमा पुगेको थियो ।

७. दिनेश कार्तिक, कोलकाता नाइट राइडर्स

कोलकाताको कप्तानी विकेटकिपर दिनेश कार्तिकले गर्ने छन् । कात्र्तिकलाई कोलकाताले ७ करोड ४० लाख भारतीय रुपैयाँ तिर्ने छ । ३६ खेलमा कप्तानी गरेका छन् । १७ खेलमा जित र १८ मा हार बेहोरेका छन् । एक खेल बराबरी गराएका छन् । उनले १५ खेलमा टस जित्दा २१ मा हारेका छन् । दिनेशले कप्तानको रुपमा ९ सय १० रन बनाएका छन् । औसत ३७ र स्ट्राइक रेट १४३ को छ ।

८. लोकेश राहुल, किंग्स इलेभेन पञ्जाब

लोकेश राहुलले आइपिएलमा पहिलो पटक कप्तानी गर्दै छन् । उनलाई पञ्जाबले ११ करोड भारतीय रुपैयाँ खर्चेको थियो । राहुल ओपनर ब्याट्सम्यान तथा विकेटकिपर हुन् । उनलाई कप्तानीको रुपमा अवसर पनि छ । आइपिएलमा राम्रो कप्तानी गर्न सके भारतीय टोलीको ढोका समेत खुल्ने देखिन्छ । पछिल्लो समय राहुलले भारतीय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।