चीनको ‘एक बेल्ट एक रोड’को नीति राजसंस्था र हिन्दु अधिराज्य नरहेको संरक्षणविहीन अवस्थामा नेपालको लागि खतरा ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चीनको ‘एक बेल्ट एक रोड’को नीति राजसंस्था र हिन्दु अधिराज्य नरहेको संरक्षणविहीन अवस्थामा नेपालको लागि खतरा !



छिमेकी फेर्न सकिँदैन। छिमेकी राष्ट्रमा सरकार परिवर्तन हुनसक्छ तर भूभाग सार्न सकिँदैन। त्यसैले नेपालले चीन तथा भारतजस्ता नजिकका छिमेकीहरुसँग सधैँ सुमधुर तथा सन्तुलित सम्बन्ध कायम राख्न सक्नुपर्छ। हिमवत्खण्ड नेपालको मौलिकता र महिमा अपरम्पार छ। यस अर्थमा हामी नेपाली भाग्यमानी छौं कि सार्वभौम नेपाल कहिल्यै पनि विदेशीहरुबाट लुटिएन, बिटुलो भएन। नेपालप्रति चीनले अहस्तक्षेपको नीति अपनाउँदै आएको छ। नेपालले चीनबाट कुनै खतरा देखेको छैन। चीन यस्तो मित्र राष्ट्र हो, जो सधैँ नेपालको आन्तरिक मामिलामा कसैबाट हस्तक्षेप नहोस् भन्ने चाहन्छ। कतैबाट हस्तक्षेप हुने आशंका देखेमा चीनले नेपालको पक्षमा खुलेर बोल्दै आएको छ।

अहिलेको संसारमा चीन एक समृद्ध राष्ट्रको रुपमा उभिएको छ। चीनले नेपालको विकासको लागि अनेकौं सहयोग परिपूर्ति गर्न चाहेको छ। त्यो मध्ये ‘एक बेल्ट एक रोड’ निर्माण गरेर चीनकै सम्पूर्ण खर्चमा केरुङ हुँदै पोखरा, लुम्बिनीसम्म रेलमार्ग पुर्याउन नेपालसँग सम्झौता पनि भइसकेको हुँदा बाटो निर्माणमा चीन अगाडि देखा परेको छ। तर अहिले नेपाल संकटग्रस्त अवस्थामा छ। विदेशीहरुको इशारामा चलेको छ। २०६३ सालपछि नेपालमा राजसंस्था र नेपालको पहिचान अनि सुरक्षा अवधारणाको रुपमा स्थापित विश्वको एकमात्र हिन्दु अधिराज्य हटाएर धर्मनिरपेक्ष, गणतन्त्र लाद्न खोजिएका बेलादेखि नेपाल संरक्षणविहीन अवस्थामा छ।

यस्तो बेलामा चीनबाट ‘एक बेल्ट एक रोड’ चीनकै खर्चमा सम्पन्न हुँदाको अवस्थामा नेपालको सार्वभौमसत्ताको लागि अत्यन्त खतरा हुनेछ। चीनको नेपालको स्वाभिमानमाथि दखल गर्ने नियत नभए तापनि बितेको १० वर्षदेखि सत्तासीनहरु राष्ट्रको देशको सार्वभौमसत्ता, एकता कायम गर्ने, देशको पहिचानहरु बचाउन नचाहने भएकाले नेपाल संरक्षणविहीन भएको अवस्थामा नेपाली जनताको मनस्थिति चीनप्रति बफादार हुन जान्छ।

तर नेपालमा राजसंस्था र हिन्दु अधिराज्य कायम रहेको अवस्थामा ‘एक बेल्ट एक रोड’ को निर्माण नेपालको लागि ठूलो उपलब्धि र देनको रुपमा मानिन्छ। नेपालमा स्थायी संरक्षकको रुपमा राजसंस्था रहेपछि भारत, अमेरिकालगायत विश्वसमुदाय तथा चीनको सौहार्दता नेपालप्रति कायम रहिरहनेछ। त्यस बेला नेपालको सार्वभौमसत्तामा कुनै खतरा आउनेछैन। तर राजसंस्था र हिन्दु अधिराज्य नरहेको अवस्थामा चीनको ‘एक बेल्ट एक रोड’को नीति नेपालको लागि अफापसिद्ध हुनेछ।

-दीर्घराज प्रसाई