व्यवसायमा सफल बन्दै ३० वर्षीय चन्द्रदिप, शून्यबाट करोडौंको कारोबार - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

व्यवसायमा सफल बन्दै ३० वर्षीय चन्द्रदिप, शून्यबाट करोडौंको कारोबार



काठमाडौं- भनिन्छ युवा देशका पौरख हुन् । पौरख हुन् भनेर मात्र हुँदैन, पौरखी पनि बन्न सक्नुपर्छ । जब युवा पौरखी बन्छन् तब मात्रै देशले काँचुली फेर्न सक्छ । आर्थिक रूपान्तरणको बाटो खुल्छ । नेपालको सन्दर्भमा भने रोजगारीका लागी वर्षेनी हजारौँ युवा विदेश पलायन हुने गरेका छन् । उनीहरू जीवनको ऊर्जाशील समय विदेशी भूमिमा बिताउन बाध्य छन् । नेपालमा पर्याप्त मात्रामा रोजगारीका अवसरहरू सिर्जना नहुनु, लगानी मैत्री वातावरण अनुकूल नहुनु, राजनीतिक अस्थिरताका कारण ठूलो संख्यामा युवा विदेश जान बाध्य छन् ।

स्वदेशमा विभिन्न समस्याहरूका बीचमा पनि धेरै युवाहरू नयाँ–नयाँ विकल्पको खोज र उद्यमशीलतातिर अग्रसर भएका देखिन्छन् । सम्भावनाहरूलाई सम्भव बनाउने लामो दौडमा इन्जिनियर चन्द्रदिप जोशी दौडिरहेका छन् । स्वदेशमै स-साना अवसरहरूलाई सदुपयोग गरेर आफ्नो आम्दानीसँगै रोजगारीको अवसर सिर्जना गर्ने सके मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुने कुरालाई जोड दिने इन्जिनियर जोशी विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । न्यु प्लानेट इन्जिनियरिङ्ग सर्भिसेज प्रालि, उज्यालो विजनेश ग्रुप प्रालि र जोशी ग्रुप विल्डर्स एण्ड सप्लायर्स प्रालि उनका मुख्य व्यवसाय हुन् । तुलसीधर शर्मा जोशी र नर्मदादेवी जोशीको कोखबाट उनको डोटी स्थित बड्डिकेदार गाउँपालिकाको रोमायालमा जन्म भयो । उनी ३ महिनाको हुँदा आमा बुवासँगै बसाई सरेर कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियामा आए ।

बाल्यकाल मसुरियामा बिताएका चन्द्रदिपले विभिन्न ठाउँ र समुदायका मानिससँग बिताउन पाए । तराईको विशेषता नै यो हुन्छ कि त्यहाँ विभिन्न समुदायका मानिसहरू बस्छन् र फरक–फरक रीति संस्कृति साटासाट गर्न पाउँछन् । थारु समुदाय र अधिकांश थारु समुदायका साथीहरूको संगत गरेका जोशी थारु भाषा गर्वका साथ बोल्छन् । एसएलसीसम्मको अध्ययन उनले मसुरीयामै रहेको जनप्रिय उच्च माविबाट गरे । इन्जिनियर बन्ने सपना बुनेका युवा व्यवसायी जोशीले प्रवीणता प्रमाण पत्रको अध्ययन भने सदरमुकाम धनगढीमा रहेको ऐश्वर्या विद्या निकेतनबाट गरे । इन्जिनियरिङ्ग पढ्न काठमाडौं आएका उनले क्याथफोर्ड इन्टरनेशनल कलेजबाट सिभिल इन्जिनियरिङ्ग पास गरे ।

इन्जिनियरिङ्गको अध्ययन गर्दा गदै काठमाडौंको बसाइँले उनको मनलाई व्यापार व्यवसायले तानिरहेको थियो । उनी सम्झन्छन्, ‘मैले पढाई इन्जिनियरिङ्ग गरिरहेको भए पनि मनमा भने म व्यवसायतिर नै लाग्नुपर्छ भन्ने थियो ।’ पढाइमा सानैदेखि अब्बल रहेका जोशीले राम्रै अंक ल्याएर इन्जिनियरिङ्ग पास गरे । पछि उनका बुबाको चाहाना थियो, छोरोले सरकारी जागिर खाओस् । तर चन्द्रदिपको मन भने लोकसेवा भन्दा पनि व्यवसायमा थियो ।

वि.सं. २०७१ सालमा न्यु प्लानेट इन्जिनियरिङ्ग सर्भिसेज प्रालि नामक कम्पनी स्थापना गरेर उनले आफ्नो व्यवसायको सुरुवात गरे । सिभिल इन्जिनियरिङ्ग सम्बन्धी कार्यहरूको परामर्शदाताका रूपमा कामको सुरुवात गरेका उनले आफ्नो कम्पनीलाई उत्कृष्ट परामर्श दाताको रूपमा चिनाउन सफल भएका छन् । ‘हामी गुणस्तरमा विश्वास गर्छौ, त्यसैले पहिलो प्राथमिकता भनेकै काम अनि गुणस्तर नै हो,’ जोशी भन्छन् । सधैँ केही न केही नयाँ गर्ने हुटहुटी लागिरहेने चन्द्रदिपलाई फेरि नयाँ व्यवसाय सुरु गर्ने इच्छा जाग्यो । जसको नाम जुराए उज्यालो बिजनेस ग्रुप ।

उज्यालोमा केही साथीहरूलाई समेटेर उनले डिपार्टमेन्ट स्टोर र रेस्टुरेन्ट सञ्चालन गरे । पेप्सीकोलामा एउटै कम्पाउन्ड भित्र मार्ट र रेस्टुरेन्ट सञ्चालन गरिरहेका चन्द्रदिपको आफ्नो ब्रान्डलाई देशव्यापी बनाउने दीर्घकालीन योजना छ । मार्ट र रेस्टुरेन्टमा सुदूरपश्चिमका उत्पादन र परिकारहरूलाई पनि विशेष प्राथमिकतामा राखिएका छन् । ‘हामीले मार्टमा सुदूरपश्चिमका उत्पादनहरू जोरायली वास्मती चामल, अदुवा, लसुन, जुम्लामा उत्पादन हुने खाद्यान्न लगायतका सामाग्रीहरू राखेका छौ’, उनले भने ।

उनका बुबा पूर्व गाविस सचिव हुन् । त्यसैले पनि होला छोरो पनि सरकारी जागिरे होस् भन्ने बुवाको चाहाना थियो । छोराको चाहाना सरकारी जागिरमा छैन भन्ने बुझेपछि उनका बुबा केही समय चन्द्रदिपसँग रिसाए । उनी भन्छन्, ‘सुरुमा बुबा पनि केही समय रिसाउनुभयो तर अहिले भने खुसी हुनुहुन्छ ।’ देशमा केही उद्यम गरेर रोजगारीको सिर्जना गर्ने उद्देश्य उनको थियो ।

उनी भन्छन्, ‘हामीले देशबाट मात्रै धेरै आशा गर्ने भन्दा पनि आफूहरूले पनि सकेको योगदान गर्नुपर्छ ।’ उनी समाजमा केही नवीन योगदान गर्दै आफ्नो बाटो आफैँ बनाउन चाहन्थे । सुरुवात दिन भने उनले सोचे जस्ता थिएनन् । सामान्य परिवारका चन्द्रदिप पारिवारिक रूपमा लगानी गर्न सक्ने अवस्था पनि थिएन । तर निरन्तर मिहिनेत र लगानी जुटाउँदै आफ्नो सपना पुरा गर्न भने उनी तल्लीन रहिरहे । जसको प्रतिफल उनले पाएका पनि छन् । ३० वर्षकै उमेरमा करोडौँको कारोबार गर्न सफल भएका छन् चन्द्रदिप । उहिले उज्यालो उनको ३ करोड भन्दा बढी लगानीमा सञ्चालन छ । न्यु प्लानेटको सम्पत्ति १० करोड भन्दा माथि रहेको उनी बत्ताउँछन् ।

जोशी ग्रुप विल्डर्स एण्ड सप्लायर्स प्रालिको पनि उनी नेतृत्व गरिरहेका छन् । उनले ३५ जनालाई रोजगार दिएका छन् । रोजगारीको अवसर सिर्जना गर्न सकेकोमा उनी आफ्नो सफलता ठान्छन् । चन्द्रदिपलाई व्यवसायमा मात्रै होइन सामाजिक क्षेत्रमा पनि काम गर्ने त्यत्तिकै रुचि छ । विभिन्न बालआश्रम, बृद्धाआश्रम लगायत गरिब, दिन दुखीहरूलाई चन्द्रदिपले निस्वार्थ भावनाले सहयोग गरिरहेका हुन्छन् । ‘म व्यवसायमा निरन्तर लागिरहे र सफलता पाएभने मेरो एउटा ड्रिम प्रोजेक्ट छ,’ चन्द्रदिप सुनाउँछन् ।

कैलालीमा निःशुल्क रूपमा सेवा दिन सकिने क्यान्सर अस्पतालको स्थापना गर्ने उनले ठूलो सपना बोकेका छन् । उनकी दुई आमा हुन् । पहिलो श्रीमतीबाट सन्तान नजन्मिएपछि उनका बुबाले दोस्रो विवाह गरे । दोस्रो आमाबाट जोशीको जन्म भयो । जोशी दम्पतीका उनी एक्ला सन्तान हुन् । उनकी पहिलो आमा हिरादेवी जोशीको पाठेघरको क्यान्सरका कारण मृत्यु भयो । अन्तिम अवस्थामा क्यान्सर भएको पत्ता लागेका कारण बचाउन सकिएन । आमालाई बचाउन नसकेको पिडाले उनलाई बेला बेलामा झस्काइरहन्छ । त्यसैले उनमा क्यान्सर पीडितको उपचारका लागी निःशुल्क उपचार गर्न सकिने अस्पतालको स्थापना गर्ने सोच आएको रहेछ ।

कोरोना महामारीको समयमा उज्यालो बिजनेस ग्रुपले धेरै दिन सम्म प्रत्येक दिन ३ सय जनालाई पशुपति क्षेत्रमा निःशुल्क खाना खुवाउने व्यवस्था गरेको थियो । व्यवसायमा नाफा मात्रै नभएर सामाजिक उत्तरदायित्व वहन गर्नु पनि आफ्नो जिम्मेवारी रहेको उनी बत्ताउँछन् ।

राज्यले लगानी मैत्री वातावरण सिर्जना गर्न नसकेकोप्रति भने उनको गुनासो छ । दीर्घकालीन युवा लक्षित कार्यक्रमहरू मार्फत सरकारले पर्याप्त रोजगारीको सिर्जना गर्नु पर्नेमा जोशी जोड दिन्छन् । सम्पूर्ण कुराहरूमा राज्यको नै भर नपर्नु पर्ने तर राज्यले सहयोगीको भूमिका चाहिँ खेल्नु पर्ने उनको तर्क छ । ‘दृढ इच्छा शक्ति बोकेर निरन्तर मिहिनेत गर्ने हो भने कुनै पनि काममा सफलता हासिल गर्ने सकिन्छ,’ उनी थप्छन्, ‘आफ्नो काम र पेसा प्रति इमानदार हुन पनि त्यत्ति नै जरुरी हुन्छ ।’