चन्द्रमाको आकार घटेको खुलासा - खतराको सङ्केत - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चन्द्रमाको आकार घटेको खुलासा – खतराको सङ्केत



एजेन्सी । वैज्ञानिकहरुले चन्द्रमा अझैपनि आन्तरिक रुपमा सक्रिय भएकाले नै यसको भौतिक रुप परिवर्तन हुने क्रम जारी रहेको बताएका छन् । यसबीच केही करोड वर्षमा चन्द्रमा १५० फिट सानो भइसकेको बताइएको छ । पृथ्वीबाट करिब चार लाख किलोमिटरको दुरीमा रहेको चन्द्रमाको आकार पृथ्वीको एक चौथाइ भन्दा अलिकति धेरै रहेको छ ।

सन् १९६९ देखि १९७७ बीच अमेरिकी अन्तरिक्षयात्रीहरुले अपोलो ११, १२, १४, १५ र १६ मिसनमा चन्द्रमामा सिस्मोमिटर राखिदिएका थिए जसकै मापनबारे पुनः नयाँ विश्लेषण गर्ने क्रममा सोमबार यस्तो खुृलासा गरिएको हो । यसको अर्थ चन्द्रमाको आन्तरिक भूभाग ४.५१ अर्ब वर्षसम्म सक्रिय रहँदै आएको ‘स्मिथ सोनियन इन्सटिट्युसन प्लानेटरी’ का वैज्ञानिक थोमस वाटर्सले जनाएका छन् । जर्नल ‘नेचर जिओसाइन्स’ मा प्रकाशित उक्त अनुसन्धान उनैले नेतृत्व गरेका हुन् । चन्द्रमाको सतहमा टुक्रिएका चट्टानहरु र क्षति पुगेका माटोले पनि यसको भित्री गतिविधिको संकेत गरेको बताइएको छ । पृथ्वीको भित्री क्रियाकलाप पनि तातो आन्तरिक बनावटकै कारण हुने गर्दछ ।

वास्तवमा करोडौँ वर्षसम्म आइपुग्दा चन्द्रमाको भित्री भूभाग सेलाउँदै गएकाले नै यसको सतह कडा बन्दै जाने र फुट्ने अनि फल्ट लाइनको रुप लिइरहेको नासाले जनाएको छ । स्पेस एजेन्सीले प्रमाण स्वरुप फल्ट लाइन्सको तस्बिर समेत रेकर्ड गरेको हो । नासाले यसबारे स्पष्ट पार्न ट्वीटरमा एउटा भिडियो पोस्ट गरेको छ ।

वैज्ञानिकहरुका अनुसार चन्द्रमा सानो हुँदै गएकाले नै यसको सतह खुम्चिएर त्यहाँ कम्पन आउन थालेको हो । वाल्टर्स भन्छन्, “हाम्रो विश्लेषणले पहिलोपटक यी फल्टहरु अझै सक्रिय रहेको र चनद्रमामा कम्पन पैदा गराइरहेको प्रमाणित गरेको छ ।”

यसरी समयसँगै चन्द्रमा चिसिँदा झन सानो हुँदै जाने बताइएको छ । वाल्टर्सले नासालाई दिएको बयान अनुसार ती कम्पनहरु पाँच रेक्टर स्केलसम्मको हुने गरेका छन् भने हालसम्म २८ वटा साधारण कम्पनहरु मापन गरिएको छ । यसरी उल्का पिन्ड लगायत अन्य विभिन्न कारणले पनि कम्पन उत्पन्न गराउन सक्छ ।

खासगरी नासाको ‘लुनार रिकनेसेन्स अर्बिटर’ ले हजारौँ शताब्दीपछि चन्द्रमाको भित्री भाग सेलाउँदै गएको हुँदा यो सानो हुन थालेको देखाएको हो । यसैको नतिजा स्वरुप चन्द्रमाको सतहका ससाना भागहरु खुम्चिन सुरु भएको छ जसलाई ‘फल्ट स्क्राप्स’ भनिन्छ । यस किसिमको फल्टले चन्द्रमा सतहको एकछेउको भूभागलाई माथितिर धकेल्ने गरेको युनिभर्सिटी अफ म्यारील्यान्डका भूविद् निकोलस स्कमर बताउँछन् । तिनीहरुको उचाइ ३३० फिटसम्म पुग्न सक्ने र धेरै टाढा फैलने गरेको उनको भनाइ छ । यसरी चन्द्रमा यसअघि पनि यही प्रक्रियाबाट गुज्रिएको छ छैन भन्ने स्पष्ट नभएको हुँदा यो खोज उत्साहजनक मोडमा पुगेको स्कमरको भनाइ छ ।

वास्तवमा हाम्रो सौर्य मण्डलमा चन्द्रमा बाहेक बुध ग्रह पनि उमेर बढेसँगै सानो हुँदे गएको बताइएको छ । यसअघि सो ग्रहको गहिराइमा पनि थुप्रै सङ्ख्यामा थ्रस्ट फल्टर्स फेला पारिएको रोयटर्सले जनाएको छ ।