राजनीतिका दुई चतुर खेलाडी- दुई तस्विर - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राजनीतिका दुई चतुर खेलाडी- दुई तस्विर



काठमाडौँ- आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा ‘नयाँ यात्राको सुरुवात’ भन्दै प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर (पहिलो तस्बिर) सार्वजनिक गरे।

दुई वर्षपछि बालकोट पुगेका प्रचण्डलाई ओलीले प्रसन्न मुद्रामा स्वागत गरेको तस्बिर थियो। जुन दिन ओलीले प्रचण्डलाई प्रसन्न मुद्रामा स्वागत गरेका थिए, ठीक दुई वर्षअघि आजकै दिनको तस्बिर (दोस्रो तस्बिर) भने फरक थियो। दुई वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुग्दा प्रचण्ड र हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ‘हामी यहाँ छौँ’ भन्ने नारा छातीमा टाँसेर माइतीघरमा सडक धर्नामा थिए।

मल्लले सार्वजनिक गरेको उक्त तस्बिरले अघिल्लो तस्बिरलाई बहसमा ल्याएको छ। तर राजनीतिमा स्थायी शत्रु हुँदैनन् भन्ने मान्यताको तर्कले बहसको अन्त्य वा विषयान्तर गर्न सक्छ। ओली र प्रचण्डको ‘सरप्राइज’ भने यो नै पहिलो होइन। राजनीतिका दुई चतुर खेलाडीले २०७४ मा ‘सरप्राइज’ दिएका थिए। जुन अहिलेको भन्दा बढी रोचक थियो।

जति रोचक यात्रा ओली र प्रचण्डले थालेका थिए, अन्त्य पट्यारलाग्दो थियो। नेकपाभित्रको लामो कलहमा कुनै पनि पक्षले विधिसम्मत रूपमा रोचक नतिजा दिन सकेनन्। नियमपूर्वक खेल नखेल्दा प्रचण्ड–माधव पक्ष ‘फिनिसिङ’मा चुक्यो। आन्तरिक रूपमा बहुमतमा भएका प्रचण्ड–नेपाललाई थकाएर ओलीले एमालेको मूलधार जोगाए तर पार्टी विभाजन भने टार्न सकेनन्।

शान्तिपूर्ण राजनीतिमा अवतरणपछि प्रचण्ड जनमतका आधारमा पहिलो पटक स्वाभाविक प्रधानमन्त्री बने। आफैँ सम्मिलित गठनबन्धन तोडेर सरकारको नेतृत्वमा पुगे। सरकारमै सहभागी भइरहेको बेला सत्ता सहयात्रा गरेको दललाई सुइँकोसमेत नदिई फेरि एमालेसँगको गठबन्धनमा २०७४ मा जोडीए।

‘सरप्राइज डिल’ पार्टी एकतासम्म पुग्यो तर पाँच वर्ष पनि टिकेन। आवरणमा सर्वोच्च अदालतको फैसला भए पनि पार्टी विभाजनको राजनीतिक आवरण बनिसकेको थियो। उसो त प्रचण्डले २०६४ को निर्वाचनमा तेस्रो भएको एमालेका लागि दुई जना प्रधानमन्त्री हुने अवसर प्रदान गरेका थिए। एमालेका तत्कालीन नेता झलनाथ खनाललाई प्रधानमन्त्री बन्न प्रत्यक्ष सहयोग गरे। माधव नेपाललाई प्रधानमन्त्री बन्न भने प्रत्यक्ष सहयोग रहेन। माओवादी सरकार ढल्दा नेपालले मौका पाएका थिए।

झलनाथलाई प्रधानमन्त्री बनाएपछि प्रचण्डले ‘देखाइदिएको’ टिप्पणी गरे। अहिले पनि बेलाबेलामा उक्त निर्णयलाई ‘सरप्राइज’ दिएकै बताउँछन्। एमालेसँगको सम्बन्धमा तिक्तता रहेका बेला माओवादीले पटक–पटक प्रधानमन्त्री बनाउन सहयोग गरेर गुन लगाएको भन्न भ्याउछन्। यस पटक उक्त गुन फिर्ता लिएर प्रचण्ड प्रधानमन्त्री बनेका छन्।

राजनीतिमा स्थायी शत्रु हुँदैनन् भन्ने मान्यताअनुसार नै दुई दल मिलेर अन्य दलको समेत सहमतिमा सरकार गठनतर्फ अग्रसर छन्। एकीकृत भएर नेकपा बनेको केही अवधिबाहेक एमाले–माओवादी सम्बन्ध भने उति सुमधुर रहेको छैन। विशेषतः ओली र प्रचण्डका सार्वजनिक वक्तव्यसमेत एकअर्का व्यक्ति र दलप्रति कतिपय अवस्थामा अस्वाभाविक पनि रहे। तर दुई वर्षअघि सडकबाट ओलीलाई खोजी गरिरहेका प्रचण्डको हात बालकोट पुगेर मिल्यो र त्यो दिन आज नै प-यो। तर यही प्रकरणमा एमालेबाट बाहिरिएका माधवकुमार नेपाल भने फेरि एक पटक बाहिरै परेको गोरखापत्रले लेखेको छ ।