सांसद गौरीशङ्कर चौधरीलाई खुला पत्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सांसद गौरीशङ्कर चौधरीलाई खुला पत्र



श्रीमान् गौरीशङ्कर चौधरी ज्यु ।
प्रतिनिधि सभा सदस्य, कैलाली निर्वाचन क्षेत्र नम्बर ३

महोदय,
उद्देश्य सायद एउटै होला नीति र विचार भने माननीय ज्यु भन्दा फरक होला । हैसियत भने माननीय ज्युको अगाडि सामान्य नागरिक नेपाल आमाको छोरो । माननीय ज्यु तपाईँलाई मेरो सम्मान छ तर आफ्नो क्षेत्र र समुदायप्रति जिम्मेवारी र उत्तरदायी नभएको देख्दा यो पत्र लेख्न बाध्य भएर ध्यानाकर्षण गराउन चाहन्छु ।

यस्तो महामारीको बेलामा एउटा सङ्घीय सांसद आफ्नो नागरिक र समुदायप्रति बेखबर हुनु नै तपाईँको अहङ्कार हो भन्ने बुझिन्छ ।

हामीसङ तिन तहको सरकार छ । तर मापदण्ड विपरीतका क्वारेनटाइन विस्तारको केन्द्र बन्दै गएपछि विभिन्न क्वारेनटाइनबाट नागरिकहरू भागिरहेका छन् । क्वारेनटाइनमा एउटा नागरिक र चेली आफू असुरक्षित र अव्यवस्थित भएको महसुल गर्छ । यसको सही व्यवस्थापन गर्ने र गराउने तपाईँको दायित्व हो कि होइन ? अहिले यो क्षेत्रमा सयौँको सङ्ख्यामा सिपिआर पोजेटिभ देखिएको अवस्था छ । पोजेटिभ देखिएमा हरूलाई उचित आइसोलेसनको व्यवस्था गरेर र तिनीहरूको सम्पर्कमा आएकाहरू स्वास्थ्य परीक्षण गरेर निगरानीमा राख्न आवश्यक छ कि छैन ? यो दायित्व कसको हो ?

पूरा विश्व नै covid -19 को चपेटामा परेको यस विषम बज्रपातको घडीमा मुलुकको अर्थतन्त्र ओझेलमा पर्नुको साथै दैनिक ज्यालादारी गरेर खाने नागरिकको जनजीवन अस्तव्यस्त र निकै दयनीय मात्र नभै दिनानुदिन अकल्पनीय सङ्ख्यामा सङ्क्रमण बढिरहनु विकासका पूर्वाधारको निर्माण देखि लिएर शिक्षा स्वास्थ्यमा समेत गम्भीर असर परेको कुरा माननीय ज्युलाई अवगत नै छ ।

भारत तथा तेस्रो मुलुकबाट नेपाली नागरिकहरू दिनानुदिन स्वदेश भित्रिने क्रम बढिरहेको छ । यो अवस्थामा क्वारेनटाइनको अवस्था अव्यवस्थित र मापदण्ड विपरीत भएसँगै वर्षायामको समयमा सर्प, किराको डर र त्राससँगै खुलाआकास र भैसिगोठमा नागरिक लाई थुनिनु आफैमा लज्जास्पद होइन र ? जनताको समस्या समाधान गर्न समय अनुकूल परिस्थिति सृजना गर्न सक्ने क्षमता एउटा प्रत्यक्ष निर्वाचित सांसदमा हुनु पर्दथ्यो तर त्यो क्षमता माननीय ज्युसँग होला जस्तो लागेन । र अर्को कुरा RDT विश्वसनीय र भरपर्दो माध्यम होइन भन्दाभन्दै पनि किन गैर जिम्मेवारी ढङ्गले RDT टेस्ट गरेर क्वारेनटाइनमा बसेकालाई जबरजस्ती डिस्चार्ज गरिँदै छ ? र PCR पोजेटिभ देखिएका नागरिकहरूलाई उचित आइसोलेसन व्यवस्था गरेर स्वास्थ्य उपचार नगरेर धमाधम घर पठाइँदै छ ?

माननीय ज्यु, तपाईँ जिम्मेवारी पदसहित कैलाली क्षेत्र नम्बर ३ को होइन र ? तपाईँलाई लगातार दुई पटक बहुमतले निर्वाचित गराएर मन्त्री समेत बनाएको होइन र ? तपाईँ एउटा सामान्य स्थानीय सरकारमा मात्रै भर किन पर्नु हुन्छ ? स्थानीय सरकारले त आफ्नो क्षमता भन्दा बढी गरेकै छ । यस्तो भयावह अवस्थामा एउटा सङ्घीय सांसदले प्रदेश र स्थानीय तहको जनप्रतिनिधि र सरकारसँग सहकार्य गरेर नागरिकलाई सहयोग गर्न सकिँदैन र ? के यो संवेदनशील अवस्थामा तपाईँको व्यवहारको हामी जनताले यही अपेक्षा गर्ने हो र ? के अब स्थानीय जनप्रतिनिधिले समेत तपाईँ जस्तै गैर जिम्मेवारी र बेखबर भएर बस्ने ?

यदि आजकाे मितिमा हाम्रो क्षेत्रमा एउटा सुविधा सम्पन्न हस्पिटल भएको भए हाम्रो क्षेत्रका बासिन्दाले आफ्नो जीवन रक्षाकालागि स्वास्थ्यमाथि प्रश्न चिह्न खडागर्ने अवस्था सृजना हुने थिएन होला । आफ्नो क्षेत्रमा सुविधा सम्पन्न हस्पिटल भैदिएकाे भए यो महामारीमा हजारौँ नागरिकले आफ्नो PCR टेस्ट गर्न हप्तौँ कुर्नु पर्ने अवस्था पनि आउने थिएन होला । हेक्का रहाेस जनताको प्रतिनिधित्व गर्नुको अर्थ राजधानीमा बसेर संसद् भवन छिरेर एउटा कुनामा बसेर भत्ता पचाउने मात्रै होइन । नकि बजेट निर्माणदेखि अन्य झिना मसिना कुराहरूमा पनि माननीय ज्युको समन्वय होस । रतिभर भए पनि नागरिकको समस्या बुझ्ने प्रयास गरियोस् । माननीय ज्युले आफ्नो क्षेत्रका नागरिक र क्षेत्रको समस्याको बारेमा जोरदार ढङ्गले संसद्मा प्रस्तुत हुनुहुनेछ भन्ने अपेक्षा राखेको थिए तर आजकाे मितिसम्म दिवासपना मै सीमित रह्यो ।

कैलाली जिल्ला विशेष गरी छिमेकी मुलुक भारतसँग जोडिएको जिल्ला भएकोले र भारतबाट आउनेको सङ्ख्या अन्य जिल्लाका भन्दा कैलाली जिल्लामा बढिआएकाले कैलालीमा covid – 19 को सङ्क्रमण आङ्कलन गर्न सकिएला जस्तो लाग्दैन । र अन्य जिल्लाबाट आवतजावत अनवरत रूपमा चलिरहेको हुँदा निर्धक्क र ढुक्क भएर बसिरहन सक्ने स्थिति पनि छैन । जिल्ला बासीहरू रोजगारविहीन भएर कोरोनाको सन्त्रासमा लडिरहेका छन् । सर्वसाधारण र ज्यालादारी गरेर खानेहरूको आयस्रोत टुटेपछि स्थिति झन् भयावह बन्दै छ भने अर्कोतिर भोकमरीको समस्या दिनानुदिन बढ्दै छ । यसको व्यवस्थापन र यसबाट उत्पन्न हुने समस्याप्रति तपाईँको कार्य योजना के छ ?

अर्को कुरा यो महामारीमा पनि सङ्घीय सरकारबाट उपलब्ध राहत वितरण गर्दा स्थानीय सरकारले वितरण गरेको राहतमा पार्टीको झन्डा ओढाएर राजनीतिक गन्ध फिजाइयाे । वास्तविक पीडित अन्याैलमा परे । र जनताको आँखामा छोरो हाल्ने प्रवृत्ति मात्रै गरियो । भने विभिन्न दाता र सङ्घ संस्थाहरूले उपलब्ध गराएको राहत पनि पीडितहरूलाई वितरण गर्न नसकेर नगरपालिकामा कुहिने अवस्थामा छ । उक्त राहत वास्तविक पीडितहरूको विवरण सङ्कलन गरी यथाशीघ्र वितरण गरियोस् ।

माननीय ज्यु लगातार यो क्षेत्रबाट दुई पटक निर्वाचित हुनुभयो र एक पटक मन्त्री पनि बन्नु भयो । तर विकासका पूर्वाधारहरूलाई नियालेर हेर्दा अपेक्षा अनुसारको नभएर आफैलाई लज्जावाेध भएर आउँछ । यति भन्दै गर्दा माननीय ज्युलाई हेक्का रहाेस स्वास्थ्य पनि विकासका पूर्वाधार भित्रको एक अभिन्न अङ्ग हो भनेर ।

अन्तमा

एउटा निर्वाचित जिम्मेवारी सांसदले निर्लज्ज गैर जिम्मेवारी र बेखवरी दायित्वले दया लागेर आयो । यो विषम परिस्थितिमा जनताका आँखाका आँसुलाई आफ्नो आँसु सम्झेर सरकार र सरोकारवाला हरूलाई चुनौती दिएर पार्टी र आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर स्थानीय, प्रदेश सरकारसँग समन्वय गरेर पूर्ण आत्मबल सहित रचनात्मक सल्लाह सुझाव र सहयोग गरेर नागरिकको स्वास्थ्य रक्षाका साथै विकासका पूर्वाधारमा ध्यानाकर्षण गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षा गर्दछु ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण मुलुक अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ । दृढ मनोबल र उच्च सतर्कताका साथ यो महामारीको सामना गर्न आम नागरिक नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनी हरूमा हार्दिक अपिल गर्दै माननीय ज्युलाई समय प्रतिकूल गम्भीर बन्न आग्रह गर्दै लकडाउनले गर्दा आफ्नो क्षेत्रमा परेको प्रतिकूल असरको समग्र स्थलगत अवलोकन र मूल्याङ्कन गरी पीडित हरूलाई राहत उपलब्ध गरेर PCR पोजेटिभ देखिएकाहरूको स्वास्थ्य उपचारमा ध्यानाकर्षण गरिदिनुहुन हार्दिक अपिल गर्दछु । “जय नेपाल “

उहीँ तपाईँको मतदाता गोविन्द जोशी