महेन्द्र सिंह धोनीको तीन चौकाले फाइनलमा पुग्यो चेन्नई - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

महेन्द्र सिंह धोनीको तीन चौकाले फाइनलमा पुग्यो चेन्नई



काठमाडौं । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । यूएईको दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको हो ।

रोमान्चक खेलमा दिल्लीले दिएको १७३ रनको विजयी लक्ष्य चेन्नईले १९.४ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो ।
चेन्नईको जितमा ओपनिङ ब्याट्सम्यान रुतुराज गायकवाडले सर्वाधिक ७० रन बनाए । प्लेयर अफ द म्याच उनले ५० बल खेले । यस्तै रोबिन उथप्पाले ४४ बलमा ६३ रन बनाए ।

धोनीले नटआउट रहँदै १८ रन बनाए । उनले ६ बलमा १ हेलिकोप्टर सटको छक्का र ३ चौका हानेका हुन् ।

दिल्लीका टम करणले ३ विकेट लिए । एन्रिच नोर्किया र अभेस खानले एक एक विकेट लिए ।

दिल्लीको ब्याटिङ
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेटको नोक्सानीमा १७२ रन बनाएको थियो ।

दिल्लीका लागि ओपनर पृथ्वी शाले ३४ बलमा ६० रन बनाए । कप्तान ऋषव पन्तले ३५ बलमा नटआउट रहँदै ५१ रन बनाए । शिम्रन हिटमायरले २४ बलमा ३७ रन बनाए ।

चेन्नईका जोस हाजलउडले दुई विकेट लिए । रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले एक एक विकेट लिए ।

अबको यात्रा
जितले चेन्नई फाइनलमा पुग्दा लिग चरणमा शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेलेको दिल्लीले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ ।

दिल्लीले इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । इलिमिनेटरमा सोमबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

बैंगलोर तेस्रो र कोलकाता चौथो भएर प्लेअफमा पुगेका हुन् । खेल बेलुकी ७ः४५ बजे शारजाहमा हुनेछ । जित्ने टिम फाइनलका लागि दिल्लीसँग दोस्रो क्वालिफायर खेल्न पाउने छ भने हार्ने टिम प्रतियोगिताबाट बाहिरिने छ ।