चेन्नईको इतिहासकै खराब प्रर्दशन: प्लेअफ यात्रा समाप्त - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चेन्नईको इतिहासकै खराब प्रर्दशन: प्लेअफ यात्रा समाप्त



एजेन्सी– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो । मुम्बईको सानदार जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहे । क्विन्टन डी कक ३७ बलमा ५ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । चेन्नईका युवा ब्याट्सम्यान साम करनले ४७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए । इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे ।

नवौं विकेटका लागि ताहिर र करनले ३१ बलमा ४३ रनको साझेदारी गरेका थिए । नवौं विकेटका लागि आइपिएल इतिहासकै सर्वाधिक ठूलो साझेदारी हो । एक समय आइपिएल इतिहासकै कम योगफलको अवस्थामा पुगेको चेन्नईलाई साम करनले बचाएका थिए ।

चेन्नईले पहिलो ओभरको पाँचौ बलमा ओपनर रितुराज गायकवाडलाई शून्यमा गुमाएको थियो । ओपनर रितुराजलाई ट्रेन्ट बोल्टले एलबिडब्लू आउट अपिल गरेपनि अम्यायरले दिएका थिएनन् । तर कप्तान काइरन पोलार्डले रिभ्यु लिदै बोल्टको अपिललाई सहि सावित गरेका थिए । जुन समय चेन्नईले खाता खोल्न सकेको थिएन ।

जसप्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा अम्बाती रायुडु क्विन्टन डी ककबाट दुई रनमा समातिन पुगे । लगत्तै अर्को बलमा नारायण जगदिशन शून्यमा सूर्यकुमार यादवबाट क्याच आउट हुँदा चेन्नई ३–३ को कमजोर अवस्थामा पुगेको थियो ।

बोल्टको तेस्रो ओभरको पाँचौ बलमा एज लाग्दै फाफ डु प्लेसिस डी ककबाट क्याच आउट भएपछि चेन्नई ३–४ को अवस्थामा पुगेको थियो । तीन रन जोड्दा प्रमुख चार विकेट गुमाएको चेन्नईले पाँचौ विकेटका रुपमा रविन्द्र जडेजालाई गुमाएको थियो । बोल्टको छैटौं ओभरको दोस्रो बलमा जडेजा सात रनमा क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगेका थिए । आइपिएल इतिहासमा चेन्नईले पहिलो पटक पावर प्ले मा पाँच विकेट गुमाएको हो । अर्थात चेन्नईको यो इतिहासकै खराब पावर प्ले हो ।

स्पिनर राहुल चहरको सातौं ओभरको चौथो बलमा कप्तान महेन्द्रसिंह धोनी १६ रनमा क्याच आउट भएपछि आइपिएल इतिहासकै कम योगफलको खतरामा परेको थियो । धोनीले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

तर साम करनले राम्रो ब्याटिङ गर्दै रोयल च्यालेनजर्स बेंगलोरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध बनाएको सबैभन्दा कमयोगफल ४९ को खतरा टरेको थियो । नवौं ओभरको पाँचौ बलमा दीपक चहर स्टम्पिङ आउट भए । दीपक आफ्नो भाई राहुलको बलमा शून्यमा स्टम्पिङ आउट हुन पुगेका थिए ।

४३–७ को अवस्थामा पुगेको चेन्नईलाई करन र सार्दुल ठाकुरले २८ रनको साझेदारी गर्दै चेन्नईको साख बचाएका थिए । ठाकुर १५ औं ओभरको पाँचौ बलमा ११ रनमा यादवबाट क्याच आउट हुन पुगेका थिए । ठाकुरले २० बल खेलेका थिए ।

जस्प्रित बुमराहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभर १ मेडन १८ रन खर्चेर ४ विकेट लिए । राहुल चहरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । नाथन कुल्टर नाइलले एक विकेट लिए ।

चेन्नईको यो इतिहासकै खराब प्रर्दशन हो । यो हारसँगै चेन्नईको अन्तिम चारमा रहेर प्लेअफ खेल्ने सम्भावना सकिसकेको छ । अंकगणितीय रूपमा मात्र सम्भव रहेको चेन्नईको प्लेअफ यात्रा त्यताबाट पनि सम्भव देखिंदैन ।

चेन्नईले अव रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध आइतबार खेल्ने छ । मुम्बईले अव आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ । मुम्बईले आइपिएलमा १० विकेटको जित दोस्रो पटक निकालेको हो । यसअघि सन् २०१२ मा राजस्थान रोयल्सविरुद्ध १ सय ६३ रनको लक्ष्य १२ बल अगाडि कुनै विकेट नगुमाई पुरा गरेको थियो ।

अंक तालिका

मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ नेटरन रेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ । समान १४ अंक भएपनि नेटरन रेटको आधारमा मुम्बई, दिल्ली र बेंगलोर क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार बेहोरेको छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।