चेन्नई शीर्ष स्थानमा उक्लियो, बैंग्लोर फेरि पराजित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चेन्नई शीर्ष स्थानमा उक्लियो, बैंग्लोर फेरि पराजित



काठमाडौं । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा चेन्नईले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि ६ विकेटको जित निकालेको हो ।

शारझा क्रिकेट स्टेडियममा बैंगलोरले जितका लागि दिएको १५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाउँदै १५७ रन पूरा गर्‍यो ।

चेन्नईका लागि रुतुराज गाइक्वाडले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै मम्बिती रायडुले ३२ रन बनाउँदा फाफ डु प्लेसिस ३३ तथा मोइन अलीले २३ रन बनाए ।

बलिङतर्फ बैंगलोरका लागि हर्शल पटेलले दुई विकेट लिए । त्यस्तै युजेभेन्द्र चहाल र ग्लेन म्याक्सवेलले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

बैंगलोरका लागि देभदत्त पाडिकलले ७० रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान विराट कोहलीले पनि अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे । बैंगलोरका लागि एभी डिभिलियर्सले १२ रन बनाउँदा ग्लेन म्याक्सवेलले ११ रन जोडे ।

बलिङतर्फ चेन्नईका लागि डुइन ब्राभोले तीन विकेट लिए । त्यस्तै शार्दुल ठाकुरले दुई विकेट लिँदा दीपक चहारले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

लिगमा ८ खेल खेलेको चेन्नईले १२ अंक जोडेको छ । पराजित बैंगलोर ८ खेल खेलेको बैंगलोरले १० अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको दिल्लीको ९ खेलबाट १४ अंक छ ।