रगताम्य घुँडा लिएर चेन्नईको लागि मैदानमा डटिरहे वाटसन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रगताम्य घुँडा लिएर चेन्नईको लागि मैदानमा डटिरहे वाटसन



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि मुम्बई इन्डियन्सले जितेको दुई दिन भइसक्यो । एक रनको रोमाञ्चक जितको चर्चा सेलाउँदै जाँदा अहिले भने फाइनलमा हारेको चेन्नई सुपर किंग्सका ब्याट्सम्यान सेन वाटसनको चर्चा चुलिएको छ ।

फाइनलमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याउँदा अन्य खेलाडी कमजोर हुँदा पनि वाटसन एक्लैले ५९ बलमा ८० रन हानेका थिए । ४ छक्का र ८ चौका हानेका उनी अन्तिम ओभरको चौथो बलमा आउट हुनुअघि चेन्नई समर्थक जितको आशमा नै थिए ।

वाटसनको उत्कृष्ट खेलका बाबजुद पनि हार्न पुगेको चेन्नईमा उनको चर्चाको विषय भने भिन्न छ । आइतबारको फाइनल खेलमा घुँडामा लागेको चोटले रगत बगिरहँदा पनि उनी लगातार मेहनत गरिरहेका थिए ।

रन लिँदा डाइभ गर्ने समयमा घुँडामा चोट लागेपनि उनी कसैलाई केही नभनि खेलिरहेका थिए । खेलपछि उनको घाउमा ६ टाँका लगाइएको थियो । अन्तिम ओभरमा रन आउट हुनुको कारण पनि उनको घुँडाको चोट नै रहेको समर्थकहरुले अहिले अनुमान गरिरहेका छन् ।

त्यतिबेला वाटसनको चोटमा कसैको आँखा नपरेको भए पनि अहिले भने उनको रगताम्य तस्वीर सामाजिक सञ्जालमा निकै फैलिएको छ । चेन्नई टिमको आधिकारिक इन्स्टाग्राममा पहिलोपटक तस्वीर सार्वजनिक भएको थियो । जसमा धेरैले उनको खेलप्रतिको समर्पणका लागि धन्यबाद दिएका छन् ।

टिमका उनका साथी हरभजन सिंहले पनि उही तस्वीर राखेर घुँडाको चोटपछि पनि निरन्तर मैदानमा डटिरहेको र खेलपछि ६ टाँका लगाइएको उल्लेख गरेका छन् ।
उक्त चोट खेलको तेस्रो ओभरमा नै डाइभ गर्ने बेलामा लागेको बताइएको छ । तस्वीरमा उनको पहेँलो जर्सी रगतले रातो भएको प्रष्ट देखिन्छ ।

यो सिजन आईपीएलका १७ खेलमा वाटसनले १२७.५६ को स्ट्राइक रेटमा ३९८ रन बनाए । जसमा दोस्रो क्वालिफायरमा ५० र फाइनलमा ८० रन बनाएका हुन् ।