EXCLUSIVE :छक्कापञ्जा-२ को गीत अल्मोडा रानाले चोरेको खुलासा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

EXCLUSIVE :छक्कापञ्जा-२ को गीत अल्मोडा रानाले चोरेको खुलासा



किंग खनाल /काठमाडौं साउन ७ 

छक्कापञ्जा-२ लाई पहिलो गासमा ढुङ्गा भनेझैँ सुरुवातमै झड्का लागेको छ । २ दिन अगाडि युट्युबमा रिलिज गरिएको ए दाजु नसमाउ नाडिमा बोलको गीत अल्मोडा रानाले कपी गरेको खुल्न आएको छ ।

दीपाश्री निरौलाद्वारा निर्देशन रहेको तथा दिपकराज गिरीले निर्माण गरेको नेपाली चलचित्र ‘छक्कापञ्जा-२’ को अस्ति मात्र युट्युबमा रिलिज भएको ‘ए दाजु नसमाउ नाडीमा हिलो लाग्ला नायलनको साडीमा’ बोलको गीत गन्दर्भ जातिको पुरानो गीत रहेको र कान्छामगर नेपालीले कम्पोज गरेको फेला परेको छ ।

उक्त गीतमा सङ्गीत अल्मोडा राना उप्रेतीले गरेको बताइएको छ तर लोकगायक रामशरण नेपालीका पिता, प्रख्यात सारङ्गीवादक श्याम नेपालीका हजुबुवा कान्छामगर नेपालीले कम्पोज गरेको कान्छामगरका एक नाति दीपक नेपालीले हिमालपोष्टलाइ बताए । उनीहरू सँग कान्छामगर नेपालीले कम्पोज गरेको ओरिजिनल गीत रहेको पनि उनले बताए ।

छक्का पञ्जा २ चलचित्रका निर्माण पक्षले अल्मोडा राना उप्रेतीको नाम हालेर कान्छामगर नेपालीमाथि अन्याय गरेको भन्दै परिवारजनले प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्दा हाल्ने तयारी गरेका छन् ।

कसरी भयो त चोरी ?

सक्षम व्याण्डका प्रीन्स नेपाली कान्छामगर नेपालीकै पनाति हुन् । उनी गायन र सङ्गीत का पारखी पनि हुन। प्रीन्सले प्रसङ्गवश केही समय अगाडि अल्मोडा राना उप्रेतीलाई जिज्युबाजेको गीत र सङ्गीत सुनाएका रहेछन् तर, हुबहु कपी गर्लान् भन्ने उनले कल्पना समेत गरेका थिएनन् । जब युट्युबमा गीत आयो उनी लगायत उनको परिवार झसङ्ग भए ।

को हुन् कान्छामगर नेपाली ?

ख्यातिप्राप्त लोकगायक रामशरण नेपालीका पिता, विश्वका प्रख्यात सारङ्गीवादक श्याम नेपालीका हजुबुवा र किरण नेपालीहरूका गुरु र मार्गदर्शक पनि हुन् कान्छामगर नेपाली । उनको जन्म वि.सं १९७७ मा र मृत्यु २०६३ सालमा भएको थियो ।