छन्दकविताको परम्परामा अन्तर्राष्ट्रिय छन्द कवि सम्मेलन २०७७ को योगदान « Himal Post | Online News Revolution
Logo

छन्दकविताको परम्परामा अन्तर्राष्ट्रिय छन्द कवि सम्मेलन २०७७ को योगदान



उमेश प्रसाद घिमिरे

वर्ण तथा मात्राको गेय व्यवस्था नै छन्द हो,भाषामा रहेको स्वर तथा व्यञ्जन ध्वनिहरूको आपसी सामञ्जस्य नै छन्द हो, वर्ण वा मात्राको सङ्ख्यात्मक निश्चित व्यवस्थिति नै छन्द हो, वर्ण वा मात्राको समुचित विन्यासबाट आह्लाद प्रदान गर्ने काव्यको तत्त्व नै छन्द हो,स्वाभाविक गतिको नियमबद्ध रूप न‌ै छन्द हाे,कविताको मुख्य तत्त्वका रूपमा रहेको लयविधान नै छन्द हो।अर्थात् सङ्गीत तथा लयको आवृत्ति नै छन्द हो।वेदमा छन्दका बारेमा चर्चा-परिचर्चामात्र होइन छन्दको प्रयोग नै भएको पाइन्छ। शिक्षा, कल्प, निरूक्त, व्याकरण, छन्द र ज्योतिषलाई वेदका ६ अङ्गका रूपमा लिइन्छ! जस अनुसार छन्दलाई वेदको पाउ मानिन्छ ´छन्द: पादौ तु वेदस्य` -पाणिनीयशिक्षा-४, अर्थात् मानवीय शरीरमा पाउको जुन स्थान, जुन महत्त्व, र जुन गरिमा रहन्छ जसरी त्यसैगरी वेदमा छन्दको त्यही स्थान, त्यही महत्त्व र त्यही गरिमा रहन्छ। छन्दविना वेद लङ्गडो बन्न पुग्छ। किनभने छन्दज्ञानविना छन्दोबद्ध वेदमन्त्रहरू सही ढङ्गले उच्चारण नै गर्न सकिँदैन। यास्काचार्यका अनुसार छद् (छदि अाच्छादने) धातुबाट निष्पन्न छन्द शव्दको  अाच्छादित गर्नु, व्यवस्थित गर्नु , ढाक्नु वा बाँध्नु भन्ने अर्थ हुन्छ “छन्दांसि छादनात् :” निरूक्त ७/३ । त्यसैगरी गाउनु र प्रसन्न तुल्याउनु समेत छन्द शव्द(छद् धातु)को अर्थ  हुने निघण्टुमा बताइएको पाइन्छ!अत: गाएर कसैलाई (भावक/श्रोतालाई) प्रसन्न तु्ल्याउनु तथा आनन्दानुभूति दिलाउनु नै छन्दको महिमा हो वा गरिमा हो ।

छन्द केवल अक्षरगणानुसारी र पादाक्षरगणानुसारी गरी दुई प्रकारका हुन्छन्।छन्दमा यति नै पाद हुनुपर्छ भन्ने आग्रह वेदमा देखिँदैन ।अर्थात् वेदमा कुनै एकपादी,कुनै द्विपादी,कुनै त्रिपादी र कनै चतुष्पादी छन्दहरू प्राप्त हुन्छन्।वैदिक छन्दमा केवल अक्षरको गणना गरिन्छ; लघु-गुरु(ह्रस्व-दीर्घ)को समेत वास्ता गरिँदैन। त्यसैले त कात्यायनले  “यदक्षरपरिमाणं तच्छन्द:” अक्षरको परिमाणलाई नै छन्द मानेका छन्।पछि आएर लौकिकयुगमा छन्दमा पादको समेत आवश्यकतालाई स्वीकार गरिएको देखिन्छ।जे होस् वेदमा २६वटा छन्दहरूको सङ्ख्या निर्दिष्ट छ; १.मा २.प्रमा ३.प्रतिमा ४.उपमा ५.समा ६.गायत्री ७.उष्णिक् ८.अनुष्टुप् ९.बृहती १०.पंक्ति ११.त्रिष्टुप् १२.जगती १३.अतिजगती १४.शक्वरी १५.अतिशक्वरी १६.अष्टि १७.अत्यष्टि १८.धृति १९.अतिधृति २०.कृति २१.प्रकृति २२.आकृति २३.विकृति २४.संस्कृति २५.अभिकृति र २६.उत्कृति ! यी २६ छन्दप्रकारहरू मध्ये सुरुका ५बाहेक पछिल्ला २१ छन्दप्रकारहरूको प्रयोग वेदमा नै भएको पाइन्छ(द्विवेदी,पृ०१९०)।

प्रस्तुत वैदिक छन्दहरूमै आश्रित रहेर आचार्य पिङ्गलले छन्दशास्त्रको निर्माण गरेका छन्। अर्थात् छन्दशास्त्रका आद्य (प्रवर्तक) अाचार्य पिङ्गल मुनि हुन्। त्यसैले छन्दशास्त्रलाई पिङ्गलशास्त्र पनि भनिन्छ। आचार्य पिङ्गल अष्टाध्यायी व्याकरणका रचयिता पाणिनिका भाइ हुन् पनि भनिन्छ।(द्विवेदी,पृ०१८८)। अर्घाखाँचीको पणेना भन्ने गाउँ पाणिनिको जन्मस्थल मानिन्छ।  यस तथ्य सत्य (अनुसन्धानबाट पुष्टि गर्न आवश्यक) प्रमाणित भएका खण्डमा  छन्दशास्त्रका प्रणेता निश्चितरूपमा नेपाली हुन्। पिङ्गलाचार्य हाम्रो देशका भएकाले छन्द पनि नेपाल भुगोलकै देन हो।त्यसैले त छन्द हाम्रो लोकसम्पत्ति हो र हाम्रो लोकजीवनसँग छन्दको अन्तरसम्बन्ध समेत देखिन्छ। यसैले त विश्वमा अन्य देशको तुलनामा नेपालमा छन्द अत्यन्त लोकप्रिय बन्न पुगेको छ र नेपालको भुगोल तथा जनजीवन सापेक्ष भएकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म समान रूपले विस्तार हुन सकेको छ।छन्दशास्त्रमा प्रतिपादित तथा संगृहित छन्दहरूमा नै संस्कृत वाङ्मय अन्तर्गत पुराणशास्त्र, धर्मशास्त्र, नीतिशास्त्र, दर्शनशास्त्र, अर्थशास्त्र आदि हुँद‌ै विभिन्न काव्य र काव्यशास्त्रहरू समेत रचिएका छन् ! संस्कृतमात्र होइन नेपाली साहित्यकै सुरुवात समेत छन्दकविताबाटै भएको पाइन्छ।

सुवानन्द दासको ´पृथ्वीनारायण`( लोकछन्द) कविता नै नेपाली साहित्यलेखनको उद्गमविन्दु हो।त्यसै गरी शक्तिबल्लभ अर्यालको ´तनहुँ त भकुण्डो` शास्त्रीय छन्दमा विरचित कविता हुँदै नेपाली साहित्यको यात्रा अघि बढेको देखिन्छ! नेपाली साहित्यको प्रारम्भिक (प्राथमिक) काल, माध्यमिककाल र आधुनिककालसम्म आइपुग्दा सुवानन्द दास, उदयानन्द अर्याल, वसन्त शर्मा, यदुनाथ पोखरेल, भानुभक्त आचार्य, मोतीराम भट्ट, शम्भुप्रसाद पोखरेल, लेखनाथ पौडेल, सोमनाथ सिग्देल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, धरणीधर कोइराला, पारसमणि प्रधान, माधवप्रसाद घिमिरेले छन्दकविताका माध्यमले नेपाली साहित्यको भण्डारलाई परिपूर्ण बनाएका छन् , छन्दकविता लेखनले नेपाली साहित्यको विकासलाई समुज्ज्वल पारेका छन् र छन्दको गरिमालाई नेपाली साहित्यमा प्रतिष्ठापित गराएका छन् ।छन्दकविताकै आधारमा भानुभक्त आचार्य , मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरे जस्ता कविप्रतिभा नेपाली साहित्यमा प्रतिष्ठित तथा नेपाली पाठकका हृदयमा स्थापित हुन सफल भएका छन्।नेपाली साहित्यको प्राथमिककालदेखि माध्यमिकाल हुँदै वर्तमानकालसम्म नित्यनिरन्तर रूपमा छन्दपरम्परा प्रवाहित छ। समकालीन साहित्यको पछिल्लो चरण (२०५०पछि)मा छन्दकविताको व्यापक विस्तार हुँदै आएको छ। अझ अहिलेको वैश्विक महामारीका रूपमा देखापरेको कोरोना तथा लकडाउनको समय त झन छन्दकविता लेखनको स्वर्णकालका रूपमा देखा परेको छ ।जसलाई नेपाली साहित्य तथा  समालोचना क्षेत्रमा छन्दकविताको पुनर्जागरण युगको उत्कर्षकालका रूपमा परिभाषित गर्न थालिएको छ। हुनपनि यस समयमा छन्दकविताको अनुपम विकास भएको छ। छन्दकविता लेखनमात्र होइन, छन्दकविता वाचन तथा गायनमा समेत अभूतपूर्व लहर चलेको छ। लकडाउनक‍ो समयलाई सदुपयोग गर्दै कविहरू छन्दकविता लेखनमा साधनारत छन्।

समसामयिक जल्दाबल्दा समस्यामा सिर्जिएका कविका कविताहरूमा स्वर र सङ्गीतभर्दै नेपाली पाठकहरूका माझ प्रसारित भएका छन्! सूचनाप्रविधिको विकास तथा त्यसको प्रयोगबाट नेपाली साहित्यको कविताविधा अझ छन्दकविताले विशेष उपलव्धी हाँसिल गर्न सफल भएको छ। गेयात्मक वा लयात्मक, श्रुतिमाधुर्य तथा सूक्तिबाहुल्य आदि गुणले गर्दा छन्दकविताले नेपाली पाठकक‍ो हृदय जित्न सफल भएको छ अर्थात् वर्तमानमा श्रुतिरमणीयता तथा हृदयाह्लादकता आदि सौन्दर्यले गर्दा छन्दकविता निकै लोकप्रिय  बनेको छ र छन्द कविताकाे पुनः जागरणको अभियान चलेकाे देखिन्छ।छन्द विकासका लागि एकल,सामूहिक र संस्थागत अायामले सार्थक भूमिका खेलेकाे कुरालाई कसैले नकार्न सक्दैन। पछिल्लो समयको छन्दकविता विकासकाे लघु सिंहावलाेकन गर्दा पुनर्जागरणमा वि. सं. २०३८/३९ यता र मूलतः२०४५ तिर सिर्जनापत्र लेखनमा हिरण्यलाल ज्ञवाली र मुमुक्षुहरूका छन्द जागरण अाधार स्मरणीय छ भने रामप्रसाद ज्ञवालीकाे सिर्जनापत्रअन्तर्गत ´अौँसीकाफूल(वि. सं.२०४९ )` महाकाव्य लेखनले पुनर्जागरणकाे प्रस्थान विन्दु बनाएकाे देखिन्छ ।

साथै रमेश खकुरेल,कमलमणि दीक्षित, कोषराज न्यौपानेजस्ता स्थापित कविवरहरूको अगुवाइमा ०५३ देखि सुरुभएको ´काेकगोष्ठी`, ०५३ काे माधव वियाेगीको ´छन्द बचाऊँ अभियान`,५० कै दशकदेखिकाे रामप्रसाद ज्ञवाली र देवी नेपालकाे एकल र संयुक्त छन्द प्रशिक्षण,रामायण वाचन, छन्दपरागकाे प्रकाशन र छन्दवादी समाज नेपालकाे शाखा विस्तार र क्रियाशीलता  महत्त्वपूर्ण  देखिन्छन्।

त्यसैगरी राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई वि.स.२०६२ मा रथाराेहण गरी सार्वजनिक छन्दवादी समाज संस्थाले प्रत्येक २ /२ वर्षमा राष्ट्रिय छन्द महाेत्सव सञ्चालन गर्दै अाइरहेकाे छ भनेपछिल्लो समय छन्दतरङ्ग र छन्दवादी समाज नेपालले पिङ्गल छन्दलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्यमा महत्त्वपूर्ण योगदान दिँदै अाएका छन् । छन्दलाई संस्थागत विकासहेतु २०६० मा स्थापना भई वि.सं.२०६२ मा नेपाल सरकारमा दर्ता समाजमा छन्द विकास र विस्तारका लागि सरकारी निकायमा दर्ता पहिलाे संस्था हाे।

समाजका संस्थापक अध्यक्ष कविराज पाैडेलले छन्दलाई वि.स. २०६२ बाटै विज्ञानकाे संज्ञा दिँदँ पिङ्गललाई विश्व छन्दकाे अादि गुरु मानी `अन्तर्राष्ट्रिय छन्द दिवस´का निम्ति संयुक्त राष्ट्र संघमा पत्रचार गर्ने बताउँदै आएका छन् र छन्दलाई विकासकै लागि स्थापनाकालदेखिनै विभिन्न जिल्लामा शाखा खाेल्दै सामूहिक प्रयत्नद्वारा पिङ्गल छन्दलाई हाल अङ्ग्रेजी छन्दसित तुलना गर्नु र महाेत्सव चलाउनु छन्द विकास परम्परामा काेसे ढुङ्गाे भएकाे बताउँछन्। नेपाल प्रज्ञा प्रतिष्ठानसित सहकार्य गर्दै समाजले ठाेस रूपमा छन्द विकासमा टेवा पुर्याएकाे दृष्टिगत हुन्छ।

चितवनबाट लकाश पाैडेलकाे नेतृत्वमा गठित छन्दाेबद्ध कविता अभियान र यसकाे सक्रियता र दर्ता , रमेश खकुरेल , कोषराज न्यौपाने, भुवनहरि सिग्देल,कलनिधि दाहाल अादिको सक्रिय लेखन तथा प्रातश्चिन्तन,दिवाचिन्तन, रात्रिचिन्तन,सुप्रभातम् अादि कवितात्मक प्रस्तुति, घनश्याम कँडेल, चन्द्रप्रसाद न्याैपाने लगायतका सर्जकहरूबाट एकल तथा संयुक्त महाकाव्य लेखन, देवी नेपाल , बलराम दाहाल, सुदेश सत्याल अादिको छन्दकवितता लेखन र  मधुरवाचन तथा अनिल पाैडेल,लाेचन भट्टराई  र रमेश शुभेच्छुकहरूकाे अभियान,क्यासेट प्रकाशन, नवराज लम्सालको रेडियो नेपालबाट प्रस्तुत साहित्यिक कार्यक्रम अादिसमेत उत्तिकै महत्त्वका देखिन्छन्। साथै कविवर मुकुन्द शरण उपाध्याय महाकाव्यकार माेदनाथ शास्त्री,छन्द साधक रमेश समर्थन बालकृष्ण भट्टराई प्रा.डा.हिरण्यलाल ज्ञवाली,प्रा.डा.जीवलाल सापकाेटा,शम्भु गजुरेल,कृष्णशरण उपाध्याय,धुण्डीराज अर्याल,सीता भट्टराई ,कल्पना काफ्ले,भावना न्याैपाने,चन्द्रकान्ता डुम्रे,शङ्कर प्रसाद पाण्डेय,श्याम तिवारी र ऋषिकेशव भारद्वाद,मनाेज भण्डारीकाे विशेष याेगदान देखिन्छ।छन्द कविताकाे स्तरीकरणका लागि यतिखेर छन्दतरङ्गले टिकटकै व्यवस्था गरेकाे छ भने सहृदयी तथा कविहरू छन्दकविता सुन्न पैसा तिरेर टिकट काटेर सुन्न गएकाे याे पहिलाे इतिहाससमेत हाे।

मासिक रूपमा नियमित कार्यक्रम सञ्चालन गरेकाे छन्दतरङ्गले  लकडाउनले अवरुद्ध बने तापनि अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलनमा लागिपरेकाे छ भने विद्युतीय सामग्रीकाे प्रयाेग गरी छन्द प्रवर्द्धनमा धेरैजसाे क्षेत्रबाट यतिखेर छन्द कविताले दिग्विजय हाँसिल गरेकाे छ। यस कार्यका लागि तुलनात्मक रूपमा छन्द तरङ्ग,छन्दवादी समाज नेपाल,छन्द साधना समूह अमेरिका लकडाउनमा बढी नै सक्रिय देखिन्छन्। यस्तै कवि बलराम दाहाल र कवयित्री भैरवी ढुङ्गेलले लकडाउनक‍ो यसै समयमा तथा नववर्षको अवसर पारेर विगत दुईमहिना (२०७७/०१/०१) देखि आज (वैशाखदेखि जेठ अन्तिम)सम्म निरन्तररूपमा चलाएको ´लकडाउनको समय: बनाअौँ सिर्जनामय` अभियानले अझ विशेष चर्चा पाएको छ र छन्दकविताको लोकप्रियतालाई बढाउने काम गरेको छ ; यद्यपि यस अभियानमा पद्यकविताका साथै गद्यकविताले समेत समान स्थान पाएका छन् तथापि लोकप्रिय छन्दकवि बलराम दाहालज्यूको श्रुतिमधुर छन्दकविता वाचनकलाले छन्दकविहरूलाई कार्यक्रममा विशेष आकर्षण गर्न र  छन्दमा कविता लेख्न विशेष प्रोत्साहन गर्न अभियान सफल भएको छ। त्यसैले छन्दकविताको इतिहासमा कवि बलराम दाहालको योगदान अतुलनीय तथा अविस्मरणीय रहेको छ , समापन भइनसकेको र निरन्तर चलिरहेको यस साहित्यिक अभियानलाई समयले समुचित मूल्याङ्कन र स्थान निर्धारण गर्ने नै छ। त्यसैले यस अालेखमा लामो समयदेखि व्यापक सहभागिता र महान् योगदान पुर्याउन सफल प्रस्तुत अभियानको नेपाली साहित्यका पाठक तथा समालोचकबाट विशेष अध्ययन हुदै जाने विश्वासका साथ स्मरण तथा सम्मानार्थ यति सङ्केतमात्र उपस्थापन गर्नु उपयुक्त हुन्छ।

पुन: छन्दकवितातर्फ नै दृष्टि दिँदा देवी नेपालकाे गिनिज बुकमा छन्द प्रयाेगलाई लेखाउने घाेषणा र `अन्तर्राष्ट्रिय छन्द दिवस´मा जाने कविराज पाैडेलकाे घाेषणाले  छन्द कवितालाई पूर्ण  ब्यूझाउने कुराकाे संकेत गर्छ र सँगसँगै छन्द तरङ्ग र छन्दवादी समाजकाे संयुक्त अायाेजनामा अायाेजित ´अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलन`का चरणबद्ध शृङ्खलाहरूले छन्द विकासमा युगीन महत्त्व बाेकेकाे अवगत हुन्छ। छन्द तरङ्ग र छन्दवादी सममाजका युगीन महत्त्वका कार्य सँगसँगै छन्दाेवद्ध कवितालाई साङ्गीतिक गायनद्वारा यतिखेर देशविदेशका नेपाली समाजमाझ गुञ्जायमान बनाई लोकप्रिय बनाएकाे छ। छन्दकाे विकासमा केही स्रष्टाहरू सिर्जनाका माध्यमले लागेका छन् । सामूहिक प्रयासमा भनेबेलायती, अमेरिकी, फ्रान्स,ग्रिक पुनर्जागरण युगपछि नेपाल मात्र त्यस्ताे देश देखिन्छ जसले सामूहिक प्रयासद्वारा साहित्यिक गतिविधि अगाडि बढाएकाे छ। यसका लागि काेकगाेष्टी,रामायण क्यासेट प्रकाशन (करपाेसमूह), छन्दवादी समाज नेपाल,छन्दतरङ्ग, छन्दाेबद्ब कविता अभियान चितवन अादिकाे निरन्तरता र फेसबुक पेजका माध्यमले विभिन्न क्रियाकलापले पनि सघाउ पुर्याएका छन्। माधव वियोगीको सक्रियतामा नेपाल पञ्जाङ्ग निर्णयसमितिले स्वीकृति दिएको वैशाख -८ गतेकाे छन्ददिवसले पनि छन्द चेतना विकासमा ठूलै भूमिका खेलेकाे देखिन्छ। विश्वमा नै यतिखेर छन्द तरङ्ग र छन्दवादी समाज नेपालले रचनात्मक  कार्यका माध्यमले पिङ्गललाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलन गर्दै अाइरहेकाे छ।

प्रत्येक गाेष्ठीमा १० जना छन्दकविहरूको लैङ्गिक समानतासहितकाे सहभागिता एवम् रमेश खकुरेल, कोषराज न्यौपाने, भुवनहरि सिग्देलजस्ता स्थापित छन्दकविहरूको प्रमुखातिथ्यले यो सम्मेलन छन्दकविताको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सफल भएको छ। छन्दअभियन्ताहरू डा.रामप्रसाद ज्ञवाली,डा.देवी नेपाल  र कविराज पाैडेलकाे कार्यले युगीन महत्त्व बाेकेकाे अाभाष हुन्छ। कविराज पाैडेलकाे विभिन्न छन्दमै उद्घाेषण,डा.देवी नेपालकाे एेतिहासिक पृष्ठभूमि,विकास र समसामयिक विषयवस्तुमा प्रकाशन, प्रत्येक शृङ्खलाका प्रमुख अतिथिहरू-रमेश खकुरेल,काेषराज न्याैपाने,भुवनहरि सिग्देलजस्ता स्थापित कविहरूकाे अमृतमय साहित्यिक वाणीहरू,डा. देवी नेपालकाे छन्द विकासकाे एेतिहासिक कालखण्ड शल्यक्रियासहितकाे विषय प्रवेश र डा.रामप्रसाद ज्ञवालीकाे सारगर्भित मन्तव्य, छन्द कविताहरूकाे युगबाेधी प्रयाेग साैन्दर्य, सैद्धान्तिक विचार विमर्शसहितकाे समापनले अबकाे बाटाेलाई दिशा निर्देश गरेकाे देखिन्छ।´अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलन`लाई सुरुदेखि नियाल्दै र यसका गतिविधिका बारेमा सूक्ष्मदृष्टि दिदै र प्रतिक्रियात्मक लेखरचना समेत प्रकाशन गर्दै आएको यस पङ्क्तिकार चाैथाे शृङ्खलालाई समेत अवलोकन गर्ने अवसर प्राप्त गर्छ! त्यसैले  अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलन चतुर्थ शृङ्खलाको संक्षिप्तरूपमा सूक्ष्म सर्वेक्षण यहाँ प्रस्तुत गर्नु उपयुक्त देखिन्छ।मिति२०७६ जेठ २८ गते बेलुका ०६ बजेदेखि ८:३०बजेसम्म महाकवि डा०रामप्रसाद ज्ञवालीको सभापतित्व, कविवर भुवनहरि सिग्देलको प्रमुख अातिथ्य, कवि डा० देवी नेपालको स्वागत मन्तव्य तथा विषयवस्तुको उपस्थापनत्व, कवि कविराज पौडेलको छन्दाेवद्धरूपेण सञ्चालकत्व, कवि पर्शु तिमल्सिनाको प्रविधि संयोजकत्व र देशविदेशमा रहेका छन्दकवि-कवयित्रीहरूको सहभागित्वमा अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलन -४ सम्पन्न हुन्छ। पूर्वशृङ्खलाजस्तै प्रस्तोता कविराज पाैडेल छन्दाेबद्ध रूपमा कार्यक्रम सञ्चालन  गर्छन् । कार्यक्रमका संयोजक डा०ज्ञवालीलाई सभापति र कविवर सिग्देललाई प्रमुख अतिथिका रूपमा अासन ग्रहण गराएपश्चात्स्वागतार्थ समुपस्थित डा० देवी नेपाल छन्दकविता/छन्दकाव्यका सम्बन्धमा ऐतिहासिक परम्परा र छन्दमहिमाको सुन्दर प्रस्तुति दिन्छन्।मन्तव्यका क्रममा नेपाल भन्छन्-“वर्तमानमा छन्दले स्तुतिपरम्परालाई त्यागेर जीवनबोध र युगबोधका साथ अघि बढेको छ ।अहिले उच्चकोटिका कलात्मक कविता लेखिएका छन्। ह्रस्व ह्रस्वैमा र दीर्घैदीर्घ अक्षर भएका छन्दमासमेत कविता लेख्न थालिएका छन्।

नेपाली छन्द परम्परालाई अौपचारिकरूपमा अघि बढाउन सके छन्दकविताको सम्भावना समुज्ज्वल छ। लकडाउन पश्चात् विश्वव्यापी रूपमा फैलिएको छन्दकविताको व्यापकता र लोकप्रियता बढ्दै छ , त्यसैले वर्तमान कलखण्ड छन्दकविताको स्वर्णयुगका रूपमा विकसित छ,अादि ।”  छन्दकविताको ऐतिहासिक परम्परा , छन्दकाव्यको लेखन परम्परा, छन्दकविताको महिमा र वर्तमानमा छन्दकविताको लोकप्रियतालाई संक्षेपमा महत्त्वपूर्ण विचार प्रस्तुतिपूर्वक  सहभागी समस्त कवि , द्रष्टा , स्रष्टा ,सहृदयीप्रति स्वागत मन्तव्य राखी डा०देवी नेपालले  कार्यक्रमकाे अाैचित्यमाथि समुचित प्रकाश पार्छन्। स्वागतमन्तव्य तथा विषयवस्तुको उपस्थापनपश्चात् सहभागी कविहरूबाट नामको वर्णानुक्रमानुसार कविता वाचनको क्रम सुरु हुन्छ। ती कविका कविताहरू के कस्ता विषयमा थिए त ? त्यसलाई बुझ्नका लागि यहाँ तात्कालिक स्वकीय प्रतिक्रियात्मक अभिव्यक्तिलाई यथावतरूपमा उपस्थापन गरिन्छ! कवयित्री अलका अात्रेयक‍ो ‘अामा र वृक्ष’शीर्षक कविताले वृक्ष र अामालाई समानधर्मीका रूपमा चित्रण गरेको छ। पशुपंंक्षी(कुकुरअादि)ले जे गरे पनि जसरी वृक्ष मौन रूपमा रह्छ त्यस्तै सन्ततिका जस्तोसुकै व्यवहारमा समेत नडगमगाउने,सन्ततिलाई माया र ममता प्रदान गर्दै परिवारलाई डोहोर्याउने माया,ममता र स्नेहको प्रतिमूर्तिका रूपमा मातृशक्तिको सम्मानमा समर्पित उत्कृष्ट कलात्मक कविताबाट पहिलाे चरणकाे अारम्भ हुन्छ। अर्का स्रष्टाकाे`नेपाल अाफ्नै घर´ शीर्षक कविताले प्रवासमा सङ्घर्षपूर्ण जीवन बाँच्न विवश नेपाली युवावर्गले भोग्नु परेको पीडाको मार्मिक चित्रण गरेेको छ! कवितामा समसामयिक वैश्विक महामारीका क्षणमा सन्त्रस्त र भयभीतरूपमा विदेशमा रहेका युवा वर्गलाई शीघ्र उद्धार गर्न सरकारलाई अाह्वान गरिएको छ।

साथै विदेशमा श्रम बेचिरहेका युवावर्गलाई स्वदेशमा फर्कने प्रबन्ध गरी देश विकासका लागि योगदान दिने अवसर प्रदान गर्न आग्रह गरिएको सशक्त राष्ट्रवादी कविता दृष्टिगत हुन्छ।त्यस्तैगरी´स्वर्गजस्तै सुन्दर`स्वदेशको मीठो संस्मरणपूर्वक स्वदेशप्रति समर्पित सुन्दर राष्ट्रवादी कविताले अर्काेतर्फ हृदय स्पर्श गर्छ।`भन्दा पनि नसकिने´ मित्रताको महात्म्य कविता पनि उच्च काेटिकाे देखिन्छ। कवि प्रकाश चापागाईँको ´मर्छ बिना अोखती`शीर्षक कविता नेपालको समसामयिक समस्या चित्रण गर्न सफल छ। नेपालको प्राकृतिक सौन्दर्यको मुक्तकण्ठले वयान गरिएको र ऐतिहासिक वीरतापूर्ण गाथा गाइएको देशभक्तिको भावप्रस्तुतिपूर्वक भारतले गरेको सीमाअतिक्रमणप्रति चिन्ता र अाक्रोश प्रकट गरिएक‍ो सुन्दर कविता प्रस्तुत हुन्छ।कवयित्री प्रमिलाको `फर्कन्छु आफ्नै घर´शीर्षक कविताले वैश्विक महामारीका रूपमा फैलिएको कोरोना त्रासलाई मार्मिक ढङ्गले उपस्थापन गरेको छ । प्रवासी नेपाली स्वदेश फर्किएर स्वदेशम‌ै मर्न चाहने देशभक्तिको भाव प्रकट हृदयस्पर्शी सुन्दर कविता देखिन्छ। कवि निमेषको´चिन्ता `शीर्षककाे कविताले समाजमा बढ्दै गएको स्वार्थीप्रवृत्तिप्रति चिन्ता प्रकटपूर्वक जातीयविभेदलाई समेत चित्रण गरेकाे पाइन्छ । कवि प्रवीण नेपालको ´नेपालीको गौरव`शीर्षक कविताले नेपाली जातिको जातीय स्वाभिमान र स्वदेशभक्तिलाई प्रशंसा गरिएको राष्ट्रवादी कविताका रूपमा देखिन्छ  भने स्वकीय घर तथा स्वदेशको मायामा समर्पित कविता `माता मलाई क्षमा´ले मुटु चट्ट छुन्छ । कवि विष्णु पन्थीको `संसार सपना कि विपना´कविता उच्चकोटिको छ।कविताले मानवीय जीवनको क्षणिकता तथा वयगत परिवर्तनशीलतालाई कलात्मक ढङ्गले उपस्थापन गरेको छ। अाशापूर्वक अघि बढ्न सके गन्तव्यमा पुग्न सकिने अाशावादी स्वर मुखरित छ। कवि हरि तिमल्सिनाको`यो युद्ध बाँकी छ है´शीर्षक कविताले समसामयिक कोरोनाका विरूद्ध लड्न सबैमा एकजुट हुन आह्वान गरेको छ। याे कवितामा शिल्पपक्षभन्दा भावपक्ष सबल छ।

दाेस्राे चरणमा पुन:कवयित्री अलकाको `फेसबुक पुराण´ शीर्षक कलात्मक कलात्मक कविताको प्रस्तुति हुन्छ । फेसबुकका सकारात्मक पक्ष र नकारात्मक पक्षको सटीक उपस्थापन गर्न सफल कविता छ । कवि खगिन्द्रा खुशीकाे `पोतो पलाएपछि´कविताले विवाहपश्चात् पोतो पलाएपछि नारीको सौन्दर्य समाप्त हुने र अाकर्षण समेत सकिने भन्दै  चिन्ता प्रकटपूर्वक शारीरिक सौन्दर्यभन्दा मानसिक सौन्दर्य अभिवृद्धिका लागि कामना गरिएको सुन्दर कविता देखिन्छ।कवि गायत्रीको `मन´शीर्षक कविताले मनको सुन्दर चित्रण गरेको छ। मन नै संसार हो भन्दै मनका सकारात्मक र नकारात्मक मनोवृत्तिको सूक्ष्म विश्लेषण गरिएको मनोविश्लेषणात्मक सुन्दर कविता रहेको देखिन्छ भने कवि निमेषको`फर्काइ दे लिम्पिया´ सीमासम्बद्ध देशभक्तिपरक कविता सानै भएपनि अाफ्नै प्यारो हुने भन्दै स्वदेशप्रति माया र परचक्री भारतप्रति आाक्रोश प्रकट गरिएको राष्ट्रवादी कविता देखिन्छ। कवि प्रकाश ´ बाँकी सबै बिर्सिएँ`शीर्षक कविता सुनाउँछन्। प्रवासी भूमिमा बसेका र पैसाका पछि लागेका नेपालीले नेपाली जीवनपद्धति तथा सस्कार-संस्कृति बिर्सन पुगेको भन्दै संस्मरणात्मक शैलीमा स्वदेश र स्वपहिचानप्रति अगाध अास्था र माया प्रकट गरिएको सशक्त राष्ट्रवादी कविता पस्कन्छन्। त्यसैगरी कवि प्रमिला सिग्देलकाे `हाम्रो दायित्व´शीर्षक कविता सुनिन्छ। कवि भावी पुस्तालाई स्वसंस्कार, संस्कृति तथा देशप्रेमको शिक्षा प्रदानपूर्वक सुन्दर देश निर्माण गर्ने चाहना प्रकट गर्छन् र जोसिला युवाशक्तिको विदेशपलायनप्रति चिन्ता प्रकट गर्छन् । त्यसैले कविता सुन्दर र राष्ट्रवादी देखिन्छ। अर्का कवि प्रवीणको `गरिब´शीर्षक कविताले सोझासिधा निमुखा श्रमिक वर्गको व्यथालाई मार्मिक ढङ्गले उपस्थापन गरेको छ। भोकानाङ्गा जनताको कारूणिक जीवनावस्थालाई चित्रणपूर्वक निम्नवर्गको उत्थानमा सरकारलाई सचेत समेत गराइएको प्रस्तुत कविता कलात्मक र हृदयस्पर्शी छ।कवि थपलिया अाफ्ना कविताका माध्यमले हत्याहिंसा बलत्कारका विरूद्ध जीवनभर सङ्घर्षशील रहेर अघि बढेको वृद्धको बेहालअवस्थाको मार्मिक चित्रण गर्छन्। कवि विष्णु पन्थीको `युवाजागरण´शीर्षक कविता सुन्दर देखिन्छ। समाजनिर्माणका लागि युवालाई सिर्जनकर्ममा अघिबढ्न र देशको विकासमा योगदान पुर्याउन आह्वान गरिएको जागरणमूलक सन्देश प्रवाहित सुललित सुन्दर कविताका रूपमा ग्रहण गर्न सकिन्छ। कवि पन्थीकाे याे कविता साँच्चै मीठो र कलात्मक देखिन्छ । त्यसैगरी कवि तिमल्सिनाको सीमासम्बद्ध सुन्दर कविता स्वदेशको स्वाधीनता र अखण्डताका लागि नेपालीजाति प्राण अाहूति गर्न तयार रहने भन्दै स्वदेशप्रति समर्पित सुन्दर राष्ट्रवादी कविता सुनाउछन्। शासकवर्गलाई माटो जोगाउनका लागि आह्वान गरिएको सन्देशप्रधान कलात्मक कविता देखिन्छ।

अन्तमा, यसप्रकार कोरोना महामारीक‌ै क्षणमा समस्त मानवजातिलाई जागरुक र सचेत बनाउने उद्देश्यले छन्दकविहरू छन्दकविता सिर्जनामा व्यस्त छन् भन्ने अप्रत्यक्ष उद्घाेष देखिन्छ जुन् सिर्जनाको विस्तारले सबै पाठकमा समेत अभिरुचि बढ्दै गइरहेकाले नेपाली छन्दकविताले चरमोत्कर्ष प्राप्त गर्न सफल रहेको यस बन्दाबन्दी (लकडाउन)को समयमा अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलन सम्पन्न हुनु आफैमा महत्त्वपूर्ण र गरिमापूर्ण देखिन्छ। लोकपरम्परासँग गाँसिएको , साङ्गीतिक चेतनाले भरिएको र वर्तमानमा देशविदेश सर्वत्र रहेका नेपाली पाठकको हृदय जित्न सकेको छन्दकवितालाई विश्वव्यापीकरण, मानकीकरण , स्तरीकरण तथा गुणात्मक दृष्टिले प्रवर्धन गर्ने उद्देश्यले सम्पन्न ´अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलन` नेपाली साहित्यमै ठूलो हलचल ल्याउन र छन्दकविताको परम्परामा महत्त्वपूर्ण स्थान ओगट्न सफल भएको छ।

महामारीको विषम परिस्थितिमा भिन्नभिन्न देशको प्रतिनिधित्व गराउने गरी प्रथम सम्मेलनमा १०जना कवि,कवयित्री अनि द्वितीय सम्मेलनमा ९ जना,तृतीयमा पनि ९ जना र चतुर्थमा १० जनाकाे २/२वटा छन्दाेबद्ध सिर्जना वाचनसहितकाे सहभागिता र समकालीन छन्द कविताका मूर्धन्य व्यक्तित्त्वहरूकाे प्रमुख अातिथ्य तथा समुपस्थितिमा अन्तर्राष्ट्रिय स्तरको छन्दकवि सम्मेलन सम्पन्न गर्न ´छन्दतरङ्ग`काठमाडौँ तथा ´छन्दवादी समाज,नेपाल केन्द्रीय कार्यलय`रूपन्देही सफल भएका छन्। त्यसैले छन्दतरङ्गका अगुवा एवम् छन्दअभियन्ता महाकवि डा०रामप्रसाद ज्ञवाली र कवि डा०देवी नेपाल अनि छन्दवादी समाजका संस्थापक अध्यक्ष युवा छन्द अभियान्ता तथा युवापुस्ताका सशक्त छन्दकवि कविराज पौडेल,छन्दकविताका सहयात्री , सहयोगी ,सहभागी कविहरूका तर्फबाट मात्र नभई छन्दप्रिय नेपाली पाठकका तर्फबाट समेत विशेष धन्यवादका पात्र बनेका छन्।अग्रज स्रष्टा एवम् गुरुकविप्रतिको सम्मान तथा सहयात्री कविको कदर र अनुजकवि पुस्ताप्रतिको प्रोत्साहन अादिको अनुपम सम्मिश्रणले सम्मेलनको गरिमा बर्धन गरेकाे छ । ४ वटा मात्र श्रृङ्खला सम्पन्न भएको यस सम्मेलनलाई अहिले नै पूर्णरूपमा मूल्याङ्कन गर्ने अवस्था छैन , अझ पछिल्ला श्रृङ्खलाहरू चल्ने सम्भावना बाँकी देखिन्छ तथापि छन्दकविताको उन्नयनमा यसले महत्त्वपूर्ण योगदान दिने गरी सञ्चालनमा आएको यस सम्मेलनका अग्रिम ४ शृङ्खलालाई नियाल्दा भने कविताको गुणात्मक अभिवृद्धिका लागि सार्थक बहस, नकारात्मक आलोचनालाई दुरुत्साहन र सम्यक् समालोचनालाई कविताको  परिपूकका रूपमा स्वीकृति तथा प्रोत्साहन, छन्दविताका साधक स्थापित कविहरूको आतिथ्य तथा सम्मान, नवपुस्ताका कविहरूलाई सहभागी गराई उत्कृष्ट कविता लेखनका लागि प्रोत्साहन, छन्दका प्रवर्तक पिङ्गलाचार्यलाई नेपाली मुनिका रूपमा परिचित गराउँदै शास्त्रीय छन्दलाई नेपाली पहिचानका रूपमा प्रतिष्ठापित गर्ने प्रयास अादि नै अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलनका खास उपलब्धी तथा मुख्य शक्तिका रूपमा ग्रहण तथा मूल्याङ्कन गर्न सकिन्छ।अहिलेका दुई सम्मेलनमा जस्तै आगामी श्रृङ्खलामा स्थापित कविहरू क्रमशः समेटिँदै जाऊन् र नेपाली छन्दकविताले प्राप्त गरेको उचाइलाई कायम राख्न एवम् पुनर्जागरणको यस स्वर्णयुगलाई जाज्वल्यमान बनाउन सबै छन्दकविहरूलाई सफलता मिलोस्; यही नै भावकीय  शुभकामना ! सम्पूर्ण नेपाली छन्दकविहरूमा साहित्यिक नमन ! जय छन्द ! जय छन्दकवि सम्मेलन!

लेखक घिमिरे नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, शाङ्करवेदान्त विभाग उपप्राध्यापक हुन् ।