छोरीको नाम जीवित राख्न चाहान्छौ :समीक्षा आचार्यका परिवार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

छोरीको नाम जीवित राख्न चाहान्छौ :समीक्षा आचार्यका परिवार



हिमाल पोस्ट /सुर्खेत, २६ पुस ।
सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको कर्णाली अन्तर्राष्ट्रिय एक्स्पो मेला उद्घाटनको ¥यालीमा सहभागि हुँदा मृत्यु भएकी बालिका समीक्षा आचार्यका परिवारले छोरीको नाम जीवित राख्न समीक्षा प्रतिष्ठान स्थापना गरिएको बताएका छन् । समीक्षाका परिवारले सोमबार पत्रकार सम्मेलन गरी छोरीको नाममा स्थापना गरिएको प्रतिष्ठानलाई देशव्यापी बनाउने बताएका हुन् ।

‘हामी यही नाममा छोरीलाई जीवित राख्न चाहान्छौं, समीक्षाका बुवा विष्णु आचार्यले भने, ‘त्यसका लागि हामीले समीक्षा प्रतिष्ठान दर्ता गरेका हौं ।’ आफूहरु लामो समयसम्म संयमित भएपनि मृत्युको मुख्य कारक मेला आयोजक उद्योग वाणिज्य संघले आफूहरुसँग कुनै समन्वय नगरेको आरोप लगाए । ‘छोरीको निधन भएको आज ३२ दिन भयो ।

हामीसँग कुनै खाले समन्वय गरिएको छैन,’ आचार्यले भने, ‘घटनाको मुख्य जिम्मेवारले गरेको व्यवास्ताप्रति हाम्रो घोर आपत्ति छ ।’ उद्योग वाणिज्य संघको व्यवहारले आफूहरुलाई दुखी तुल्याएको उनले बताए ।

संघको कार्य समिति बैठकले पुस ८ गते बालिका आचार्यको निधन प्रतिशोक प्रस्तावपारित गर्दै समीक्षा आचार्य स्मृति शैक्षिक पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । संघले आफ्नो सदस्यका सन्ततिमध्ये एसएलसीमा सर्वाधिक अंकसहित उत्तीर्ण हुने छात्र र छात्रालाई वार्षिक साधारण सभाको अवसर पारी प्रदान गर्ने गरी जनही ११ हजार १ सय ११ रुपैयाँको पुरस्कार स्थापना गरिएको बताएको छ ।

संस्थागत रुपमा शैक्षिक पुरस्कार निर्णय गरेपनि अभिभावकसँगको सल्लाहमा छात्रवृत्ति वितरणका लागि अक्षयकोष स्थापना गर्ने संघको दाबी छ । तर, उक्त निर्णय गर्दा आफूहरुसँग समन्वय नगरेको भन्दै समीक्षाका परिवारले असन्तुष्टि व्यक्त गरेका छन् । समीक्षाका परिवारले जिल्ला शिक्षा कार्यालय, सम्बन्धित विद्यालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ‐प्याब्सन) र आफूहरुसँग आयोजकले आवश्यक समन्वय नगरेको आरोपसमेत लगाएका छन् ।

जिल्ला शिक्षा कार्यालय, प्याब्सन र विद्यालयले आफूहरुले स्थापना गरेको प्रतिष्ठानमा सहयोग र समन्वय गर्ने बचन दिएको भएपनि संघ र स्थानीय प्रशासनले भने व्यवास्ता गरेको समीक्षाका परिवारले बताएका छन् ।

प्याब्सनले अबदेखि जिल्लामा हुने कुनै पनि राजनितिक, धार्मिक या मेला ÷महोत्सवमा विद्यार्थी नपठाउने र समीक्षाको स्मृतीमा प्रत्येक वर्ष अन्तरविद्यालय खेलकुद प्रतियोगिता गर्ने बताएको छ भने शिक्षा कार्यालयले घटनाको सत्यतथ्य बाहिर ल्याउन सहयोग गर्ने बताएको छ  ।

अप्रत्यक्ष हत्याः परिवार

 

समीक्षाका परिवारले उनको मृत्यु कानुनी रूपमा भवितव्य मानिए पनि नैतिक दृष्टिमा हत्या नै भएको बताएका छन् । ‘तोडफाड या बन्द हड्ताल गरेनांै । जिम्मेवार बन्नु पर्छ भनेरै हामीले संयमता अपनाएको हो । तर, यसलाई मेला आयोजकले कम्जोरीका रुपमा बुझे,’ समीक्षाका काका वाई.पी. आचार्यले भने, ‘समीक्षाको मृत्यु कुनै युद्ध या प्राकृतिक प्रकोपबाट भएको होइन् यो अप्रत्यक्ष हत्या नै हो ।’

सरोकारवालाले शिक्षा क्षेत्रका ऐन नियम नमान्दा यस्तो घटना भएको भन्दै उनले विद्यालय, शिक्षा कार्यालय र मुख्य गरी मेला आयोजक घटनाका दोषी भएको बताए । उनले भने, ‘समीक्षाले प्राथमिक उपचार नपाउँदा मृत्यु भयो । यो सरोकारवाला निकायले शिक्षा क्षेत्रका सम्झौता पुरा नगरेका कारण नै हो ।’ अनावश्यक र बालअधिकार हनन् हुने अनुचित काममा प्रयोग गरेर बालिकाको ज्यानै लिने दोषीमाथि कारबाही हुनुपर्ने उनले बताए ।

शिक्षा विभागका शाखा अधिकृतसमेत रहेका आचार्यले समीक्षा घटनाबाट सिकेर अब राजनीतिक प्रयोजन र कुनै पनि जोखिमपूर्ण काममा बालबालिकाको प्रयोग दण्डनीय हुने अभ्यास शुुरु गर्नु जरुरी रहेको उल्लेख गरे ।  समिक्षा प्रतिष्ठानमा परिवारले पाँच लाख रकम जम्मा गरेको र यसलाई ‘नेशनल क्याम्पेन’ चलाउने उद्देश्य रहेको उनले जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोग लगायतले घटनाबारे छानविन गरिरहेकाले उक्त छानविन प्रभावित नहोस् भने पनि आफूहरु संयमित भएको उनको भनाइ थियो । समीक्षा वीरेन्द्रनगरस्थित होराइजन एकेडेमीमा कक्षा–९ मा अध्ययनरत थिइन् ।

गत मंसिर २३ गते मेला उद्घाटनका क्रममा ¥यालीमा सहभागि उनी एक्कासी बेहोस भएकी थिइन् । वीरेन्द्रनगरमा उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज लगिएको थियो । तर, अस्पतालमा पुग्नेबित्तिकै उनलाई मृत घोषित गरिएको थियो ।

यसैबीच, सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त मेला स्थल खुल्ला मञ्चमा जम्मा भएको फोहोर व्यवस्थापन नगर्दा दुर्गन्ध फैलिएको छ । फोहोर नउठाउँदा दुर्गन्ध फैलिएको भन्दै खुल्ला मञ्च भएर ओहोरदोहोर गर्ने सर्वसाधारणले यसलाई मेला आयोजकको गैरजिम्मेवार भएको बताएका छन् । साथै, मेला सकिएको एक महिना विविसक्दा पनि कारोबारको विस्तृत आय–व्यय सार्वजनिक नगरेको व्यवसायीहरुको गुनासो छ ।