बाल युट्युबर : जसले कमाउँछन करोडौँ डलर - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बाल युट्युबर : जसले कमाउँछन करोडौँ डलर



एजेन्सी । दक्षिण कोरियाकी एक ६ वर्षीया युट्टयुबरले यसै हप्ता आफ्नो परिवारका लागि शहरको केन्द्रमा ८० लाख डलर बराबरको घर खरिद गरेकी छन् । यो घटनाबारे अहिले सबैतिर चर्चा भइरहेको छ । यसरी पछिल्लो समय ससाना बालबालिकाहरुले युट्युब मार्फत लाखौँ डलर कमाइरहेका छन् । विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने बाल युट्युबर अमेरिकाका सात वर्षीय रायन हुन् । फोब्र्सका अनुसार २०१८ मा उनले २ करोड २० लाख डलर आम्दानी गरेका थिए । उनको च्यानलका २ करोड बढी सस्क्राइबर छन् । 

यसरी बालबालिकाहरुले चकलेट खानेदेखि खेलौना सम्बन्धी कुरा गर्ने जस्ता सामान्य अन्र्तक्रिया मार्फत मनग्य कमाइ गरिरहेका छन् जसले धेरै अभिभावकलाई आफ्ना छोराछोरीको च्यानल खोल्न प्रोत्साहन गरिरहेको छ । युट्युबका चर्चित बालबालिकामा अमेरिकाका पाँच वर्षीय टाइडस पनि रहेका छन् जसको च्यानलका ३१ लाख सस्क्राइबर छन् । 

युट्युबबाट कसरी यति धेरै कमाइ हुन्छ ? 

युट्युबबाट कमाउने अनेकौँ तरिकाहरु छन्, जस्तै भिडियो चर्चित भएमा त्यसमा देखाइने विज्ञापनबाट, त्यस्तै युट्टयुब स्टारहरुले आफ्नो च्यानलमा विभिन्न ब्रान्डको प्रचार गरेर आम्दानी गर्न सक्छन् । जस्तै कुनै ब्रान्डसँगको सहकार्यमा उनीहरुले पहिलो तीस दिनमा प्रत्येक एक लाख भ्यु वापद् दश हजार डलरसम्म प्राप्त गर्न सक्छन् । यसरी प्रायः सबै चर्चित युट्युबरहरुले हरेक दिन कम्तीमा पनि १० लाख भ्यु पाउने गर्छन् जसको अर्थ त्यसमा राखिने विज्ञापनबाट मात्र तिनीहरुले महिनामा झन्डै ५० हजार डलर कमाउन सक्छन् । यसमा च्यानलका जति धेरै सस्क्राइबर भयो विज्ञापनदाताबाट त्यति नै धेरै पैसा प्राप्त हुन्छ । 

विश्वका सबैभन्दा धेरै आम्दानी गर्ने बाल युट्युबर रायनले प्रति दिन ९७ लाख भन्दा बढी भ्यु पाउने गरेका छन् जसले उनको कमाइ महिनामा पाँच लाख डलर भन्दा बढी हुन्छ । यससँगै दैनिक नयाँ भिडियो पोस्ट गरी ब्रान्डहरुको प्रचार गर्नुले अझ धेरै फाइदा गराउँछ । यसरी आफ्नो च्यानललाई लोकप्रिय बनाउन, ट्रेन्डिङ शिर्षकहरु समावेश गर्नुपर्ने, आकर्षक ‘थम्बनेल’ र शिर्षक राखेर नियमित पोस्ट गर्नुपर्ने चर्चित युट्युबरहरु बताउँछन् ।

तर बाल युट्टयुबरहरुको लोकप्रियता बढ्दै जाँदा यसले उनीहरुको मानसिकतामा असर पार्न सक्ने सम्बन्धी चिन्ता पनि व्यक्त गरिएको छ । गत फेब्रुअरीमा मात्र युट्टयुबले कम उमेरका युट्युबरहरुको च्यानलमा कमेन्ट निषेध गरिदिएको हो । खराब नियत भएका मान्छेले बालबालिकाका भिडियोको दुरुपयोग गरिरहेको आरोप पछि युट्युबले कडाइ गरेको हो । त्यसबेलादेखि युट्युबले दैनिक हजारौँ कमेन्टहरु डिलिट गर्नुका साथै ४०० भन्दा बढी च्यानल समेत हटाइसकेको बताएको छ ।