चीनमा भेटियो भारतीय भेरियन्टको कोरोना: 'हाइअलर्ट' जारी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चीनमा भेटियो भारतीय भेरियन्टको कोरोना: ‘हाइअलर्ट’ जारी



बीबीसी- चीनमा पनि भारतीय म्युटेन्ट भेरियन्ट कोरोना भाइरस भेटिएको छ । कोरोनाको उक्त प्रजाती भेटिएपछि चीनमा ‘हाइअलर्ट’ जारी गरिएको छ ।

चीनमा मनाइने पाँच दिने ‘लेबर होलिडे’ अघि चिनियाँ स्वास्थ्य अधिकारीहरुले बाहिरबाट आएका केही मानिसमा कोरोनाभाइरसको बी१६१७ म्युटेन्ट भेरियन्ट भेटिएको भन्दै चेतावनी जारी गरेका छन् ।

भाइरसको यो भेरियन्ट सबैभन्दा पहिले भारतमा भेटिएको थियो ।

चिनियाँ सरकारले सार्वजनिक स्वास्थ्य इमर्जेन्सीजस्तो स्थितिसँग लड्न बनाएको डिजिज कन्ट्रोल एजेन्सीका स्वास्थ्य अधिकारीहरुले भाइरसको भारतीय भेरियन्ट भेटिएको भन्दै देशमा हाई अलर्ट जारी गरेका हुन् ।

अधिकारीहरुका अनुसार भारतबाट आएका केही यात्रीहरूलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो । जहाँ उनीहरुलाई भाइरसको संक्रमण पुष्टि भएको हो । यद्यपि, यही भेरियन्टकै कारण भारतमा दोस्रो लहर यति घातक भएको भन्ने अझै पुष्टि भने भएको छैन ।

२९ अप्रिलमा चिनियाँ न्यूज वेबसाइट गुआन्चा डट सीएनद्वारा अयोजित पत्रकार सम्मेलनमा चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का प्रमुख इपिडिमियोलोजिस्ट वू जुनयूले नयाँ भेरियन्टबाट संक्रमणको पुष्टि गरेका थिए ।

यद्यपि, उनले नयाँ भेरियन्टबाट कति जना सक्रमित फेला परेका छन् भन्ने चाहिँ जानकारी दिएनन् । उनले चीनका केही सहरमा भारतको म्युटेन्ट भाइरस भेटिनु चिन्ताको विषय भएको बताए पनि कुन शहर भनेर पनि खुलाएनन् ।