चीन विश्वशक्तिको भूमिकामा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चीन विश्वशक्तिको भूमिकामा



काठमाडौं- कम्युनिस्ट पार्टीको नेतृत्वमा विकास र समृद्धिको शिखरमा चढिरहेको चीनले हालै कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा भएको अवसरलाई विशेष रूपले मनाएको छ। आफ्नो देशको विकास र समृद्धिको जस कम्युनिस्ट पार्टीलाई दिने गरेको चीनले मंगलबार विश्वस्तरीय राजनीतिक दलसम्बन्धी सम्मेलनसमेत आयोजना गरेको छ।

नेपालसहित एक सय ६० मुलुकका एक हजारभन्दा बढी नेता तथा प्रतिनिधिले भर्चुअल रूपमा सहभागिता जनाएको सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिन फिङले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका छन्। लामो समयसम्म बाह्य विश्वसँग घुलमिल हुन नरुचाएको चीनले विश्व शक्तिका रूपमा उदाउँदै गर्दा आफ्नो भूमिका पनि परिवर्तन गर्न थालेको छ।

आर्थिक विकासका हिसाबले मात्र नभएर विज्ञान र प्रविधिमा समेत विश्व शक्ति भनिने अमेरिकालाई पछि पार्दै अघि बढिरहेको चीनले आफ्नै मुलुकबाट सुरु भई विश्वभर मानवीय संकटका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रणमा पनि महत्वपूर्ण सफलता हासिल गरेको छ। कोरोना महामारीले शक्तिशाली भनिएका मुलुकसहित बाँकी विश्वको अर्थतन्त्र तहसनहस पार्दा चीनले आर्थिक वृद्धिदर धनात्मक बनाउन सफल भएको छ। विश्व शक्ति हुन आवश्यक लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयासरत चीनले बाँकी विश्वसँगको व्यवहारमा पनि परिवर्तन गर्दैछ। जसले गर्दा चीन अहिले नै विश्व शक्तिका रूपमा सक्रिय हुन थालेको हो कि भनेर अनुमान गर्न थालिएको छ।

आफ्नो विकाससँगसँगै विकासशील मुलुकमा लगानी विस्तार गर्नेदेखि बिआरआईजस्ता पूर्वाधार परियोजनामार्फत विश्व जगतलाई जोड्ने मात्र होइन, कोरोना महामारीका बेला सुरुमा अत्यावश्यक स्वास्थ्य सामग्री तथा पछिल्लो समय खोप कूटनीतिका माध्यमबाट बाँकी विश्वसँग सम्बन्ध जोड्न पनि चीनले प्रयास गरिरहेको छ। कम्युनिस्ट पार्टी स्थापनाको एक सताब्दी पुगेको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनलाई धम्काएमा त्यसको नतिजा नराम्रो हुने चेतावनी दिएका छन्। आफूलाई कम्जोर नठान्न र आवश्यक नतिजाका लागि तयार हुन प्रतिद्वन्द्वी शक्तिलाई चेतावनी दिएबाट चीन विश्व शक्तिका रूपमा सक्रिय हुन लागेको अनुमानलाई बल पु-याइरहेको छ।

लामो समयसम्म बाँकी विश्वबाट अलग्गै रहेको र कसैको पनि आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने परिचय बनाएको चीन अहिले बाँकी विश्वसँग जोडिन थालेको छ भने आफ्ना कुरा पनि भन्न थालेको छ। चीन मामिलाका जानकारहरू भने यसलाई चीन विश्व शक्तिका रूपमा शक्रिय हुन थालेको भन्न नहुने बताउँछन्। चीनका लागि पूर्वराजदूत डा. महेश मास्के विगतमा लामो समयदेखि आफ्ना कुरा भन्न समय पर्खिरहेको चीनले अहिले आफ्ना कुराहरू बाहिर अभिव्यक्त गर्न थालेकै आधारमा सक्रिय भयो भन्न नहुने बताउँछन्। ‘पहिले देङ सिआओ पिङका बेला चीन आफ्नो उपयुक्त समय आउँछ र त्यसका लागि पर्खिनुपर्छ भन्ने कुरामा अडिएको थियो।

राष्ट्रपति सी आएपछि अब आफूले विगतमा भोगेका अन्यायविरुद्ध बोल्ने उपयुक्त समय आएको छ भनेर चीन बाहिरी विश्वसँग बोल्न थालेको हो। यसलाई महाशक्ति भएर रवाफ देखाएको रूपमा बुझ्नु हुँदैन,’ उनले भने। अहिले चीनले शक्ति प्रदर्शन नगरेर आफूमाथि विगतमा भएका व्यवहारबारे बोलेको तर त्यसलाई कतिपयले शक्ति प्रदर्शनका रूपमा लिएको उनको भनाइ छ। उनले चीन अहिले बाहिर प्रचार भएजस्तो धाकधम्की देखाउने अवस्थामा नजाने विश्लेषण सुनाए।

नेपाल मजदुर किसान पार्टीकी नेत्री एवं चीन मामिलाकी जानकार लिला नाइच्याईं पनि चीनले अहिले नै विश्व शक्तिका रूपमा आफूलाई प्रस्तुत नगर्ने बताउँछिन्। ‘चीनको जिडिपी धेरै भए पनि उसको जनसंख्या धेरै छ। त्यसैले त्यो जनसंख्यालाई सम्बोधन गरेर अहिले नै विश्व शक्तिका रूपमा काम गर्न चीनलाई सजिलो छैन,’ उनले भनिन्। चीनले अहिले पनि आफूलाई विकासशील मुलुकका रूपमा हेर्ने गरेको बताउँदै उनले अहिले नै चीनले नम्बर एक विश्व शक्तिका रूपमा व्यवहार गर्न थाल्यो भन्न नमिल्ने बताइन । कतिपय अन्तराष्ट्रिय मामिलाका जानकार चीन आर्थिक हिसाबले सशक्त भए पनि उसले अवलम्बन गरेको राजनीतिक व्यवस्थालगायत कतिपय कारणले अहिले नै विश्व शक्तिका रूपमा सक्रिय हुन सहज नभएको दाबी गरेको वसन्त खड्काले नागरिकमा लेखेका छन्।