चीनसँग व्यापार गर्न सकिँदैन: उद्योगमन्त्री भट्ट - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चीनसँग व्यापार गर्न सकिँदैन: उद्योगमन्त्री भट्ट



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले चीनले नाकामा सामान रोकेको भन्दै चीनसँगको व्यापारमा समस्या भएको बताएका छन् । उनले छिमेकी भएर पनि नेपालसँगको व्यापारमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको बताए ।

नेपाल इन्टरमोडेल यातायात विकास समितिको २४औं वार्षिकोत्सवमा मन्त्री भट्टले कोभिडको समयमा चीनतर्फको नेपाली नाकामा नेपाली सामान लामो समयदेखिए रोकिएको बताएका हुन् । यसले चीनसँगको व्यापारमा समस्या भएको भन्दै आफूले यस विषयमा प्रधानमन्त्रीसँग समेत छलफल गरेका बताए ।

“मैले यस विषयमा प्रधानमन्त्रीलाई पनि भनेको छु,” उनले भने, “यस्तो पाराले चीनसँग व्यापार गर्न सकिँदैन ।” उनले अनेक बहानामा एक वर्षदेखि व्यापार रोक्दा जनताको जनजीवन प्रभावित भएको बताए । यसले चीनसँगको व्यापारमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको मन्त्री भट्टको भनाइ छ । कोभिडयता नेपालको रसुवागढी तथा तातोपानी नाका अघोषित रुपमा बन्द छन् । जसले गर्दा नेपाली सयौं कन्टेनर भन्सारमा रोकिएर बसेका छन् ।