तालिबानले सरकार बनाएको भोलिपल्टै चीनले दियो खोपसहित तीन करोड १० लाख डलर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तालिबानले सरकार बनाएको भोलिपल्टै चीनले दियो खोपसहित तीन करोड १० लाख डलर



काठमाडौं- नयाँ सरकार बनाएको भोलिपल्ट नै चीनले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग प्रस्ताव गरेको छ। तालिवानलाई चीनको समर्थन रहेको चर्चा चलिरहेका बेला यस्तो घोषणा गरेको हो

खाद्यान्न आपूर्ति तथा कोरोना भाइरसविरुद्धको खोपसहितको सहयोगको प्रस्ताव चीनले अफगानिस्तानलाई गरेको हो। तालिबान सत्तामा आएपछि चीनले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन प्रयास गरिरहेको पछिल्ला गतिविधिहरुले देखाएको विज्ञहरुले बताइरहेका छन्।

चीनले तालिबान सरकारसँग संवाद र सम्पर्क कायम राखिरहन तयार रहेको बताएपछि सहयोगको घोषणा भएको हो। अफगानिस्तानमा स्थायित्व कायम गर्नका लागि तालिबानले गठन गरेको अन्तरिम सरकार अत्यावश्यक कदम रहेको पनि चीनले बताएको छ।

तालिबानले अफगानिस्तानलाई इस्लामिक इमिरेट्स घोषणा गर्दै गत हप्ता अन्तरिम सरकार गठन गरेको थियो। तालिबानले गएको अगस्ट १५ मा अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको हो।

अमेरिका नेतृत्वको नेटो सैनिकले २० वर्षदेखिको सैन्य अभियान अन्त्यको घोषणा गरेसँगै तालिबानले विभिन्न क्षेत्र कब्जा लिन थालेको थियो। अमेरिकी सैनिक अगस्ट ३१ मा पूर्ण रुपमा फिर्ता भएको छ।

अमेरिकाले तालिबान सरकारलाई मान्यता दिएको छैन। अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबान सरकारलाई मान्यता दिन अझै उनीहरुको गतिविधि हेर्नुपर्ने र त्यसका लागि लामो समय लाग्ने बताएका छन्।

अमेरिकाको उपस्थिति नहँुदा अफगानिस्तानमा चीन भने तीव्र गतिमा प्रवेश गरेको छ।

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले बुधबार एक बैठकको क्रममा सहयोगको घोषणा गरेका हुन्। वाङ्गले अफगानिस्तानका छिमेकीहरु पाकिस्तान, इरान, ताजकिस्तान, उज्बेकिस्तान र तुर्केमेनिस्तानका प्रतिनिधिसँग छलफल गरेका हुन्।

चिनियाँ विदेशमन्त्री वाङ्गले अफगानिस्तानलाई सहयोग गर्ने अभियानमा सहकार्यका लागि भन्दै छिमेकी देशहरुको बैठक गरेका हुन्। उनले अफगानिस्तानलाई चीनले ३० लाख मात्रा खोप दिने पनि बताए।

चीनले अमेरिकी सैनिकको फिर्तीलाई लिएर अमेरिकाको आलोचना पनि गर्दै आएको छ।