चीनले तिब्बत झैँँ नेपाल पनि खान सक्छ, होस गर्नुस - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

चीनले तिब्बत झैँँ नेपाल पनि खान सक्छ, होस गर्नुस



काठमाडौं :

भारतका खाद्य तथा सार्वजनिक वितरण मामिला सम्बन्धी मन्त्री रामविलास पासवानले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष चीनको बारेमा कडा टिप्पणी गरेका छन्। नेपालको दक्षिणी सीमामा अवस्थित भारतको बिहार प्रान्तबाट प्रतिनिधित्व गर्ने पासवान लोकजनशक्ति पार्टीका अध्यक्ष हुन्।

सत्तारुढ भारतीय जनता पार्टीका नेताहरु सम्मिलित इण्डिया फाउण्डेसनद्वारा नयाँ दिल्लीमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री पासवानले भने, ‘तिब्बत चीनले खाइहाल्यो। नेपाल पनि खान सक्छ,होस गर्नुस।’ आठ पटक लोकसभामा प्रतिनिधित्व गरेका रामबिलास सन् १९४६ जुलाई ५ मा जन्मिएका हुन्।

पासवानको यस्तो टिप्पणीका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै प्रतिवाद गरेका थिए। ‘चीन र नेपालबीच अत्यन्त राम्रो सम्बन्ध छ, चीन नेपालको घनिष्ट र असल छिमेकी हो। तपाईले चिन्ता गरिरहनु पर्दैन,’ प्रधानमन्त्रीले जवाफ दिएका थिए। भारत र चीनबीच दोक्लाममा भइरहेको विवादका बारेमा भने नेपालले आफनो तटस्थता कायम गरेको ती सहभागीले बताए। भारतीय विदेशसचिव एस जयशंकरले पनि दोक्लाम विवादका बारेमा कुनै छलफल नभएको बताएका थिए।

भ्रमणमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रीको टिप्पणीमा नेपालको प्रधानमन्त्रीले प्रतिवाद गरिराख्नु पर्ने जरुरी थिएन। संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मौखिक रुपमा संविधान र आन्तरिक राजनीतिका बारेमा व्यक्त धारणालाई नेपाली राजनीतिक वृत्तले रुचाएको छैन। ती सहभागीका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘वार्मअफ मिटिङ’ मा प्रधानमन्त्री देउवालाई सोधेका थिए, ‘‘खास केही छ की ?’ जवाफमा प्रधानमन्त्री देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउने चाहना व्यक्त गरेका थिए।‘दुई पक्षीय छलफलमा पञ्चेश्वरलाई हामीले महत्वका साथ लिएका छौँँ। तर, यो बिषयमा हाम्रो संयन्त्रले काम गर्छ’, मोदीको भनाई उघृत गर्दै ती सहभागीले भने।

आठ वटा बिषयमा भएका समझदारी पनि नयाँ नरहेको प्रतिनिधिमण्डलमा सहभागी एक सदस्यले बताए। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्री देउवालाई भारतमा छोडेर शनिबार नै स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवा आइतबार साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार मात्रै फर्कनेछन्।

प्रधानमन्त्री देउवाको प्रतिनिधिमण्डलका केही सहभागी सीमा क्षेत्र सम्बन्धी वार्तामा सहभागी हुन देहरादुन जानेछन्। नापी विभागका महानिर्देशक नेतृत्वको टोली आइतबार सो बैठकमा सहभागी हुन भारत जानेछन्।

खबर अन्नपुर्ण पोष्टमा छ ।