चीनसँग भयो खोपको सम्झौता, असार २४ गतेदेखि लगातार आपूर्ति हुने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चीनसँग भयो खोपको सम्झौता, असार २४ गतेदेखि लगातार आपूर्ति हुने



काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोभिड–१९ विरुद्धको खोप खरिदका लागि सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि सम्झौता भएको जनाएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोप खरिदका लागि भएको सम्झौता बमोजिम असार २४ गतेबाट खोप आपूर्ति सुरु गरेर त्यसपछि साप्ताहिक रूपमा विभिन्न चरणमा आपूर्ति गर्ने तयारी गरिएको छ ।

“पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको राजधानी बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौताअनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ”, विज्ञप्तिमा भनिएको छ, “खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने गरी व्यवस्था मिलाइएको छ ।”

यसअघि सरकारले छिमेकी देशहरु चीन, भारत र कोभ्याक्स सुविधामार्फत ४२ लाख ४८ हजार मात्रा खोप प्राप्त गरी खोप अभियान सञ्चालन गरेकाे थियाे ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५ लाख ७४ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् । यस्तै, ७ लाख ५७ हजारभन्दा धेरैले खोपको दोस्रो मात्रा लगाएका छन् ।